• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

काँग्रेस फकाउनेदेखि जसपा फुटाउने प्रयास


राजनीतिक घटनाक्रमले नयाँ मोड लिए पनि ओली सकभर आफै टिकिरहने योजनामा छन् । त्यसका लागि उनले आफ्नो नेतृत्वको सरकार टिकाउन अनेकौं प्रयास जारी राखेका छन् । ओली पक्षले काँग्रेसलाई फकाउनेदेखि जसपा फुटाउनेसम्मका प्रयासहरु गरेका समाचार बाहिर

आइसकेका छन् । ओलीलाई सरकार टिकाउन थप १५ सांसद आवश्यक रहेकाले जसपालाई फुटाएर आफ्नो पक्षमा पार्न उनको समूह प्रयासरत रहेको बताइन्छ । त्यसका लागि ओली पक्षले नेताहरु विष्णु पौडेल र सुवास नेम्वाङले जसपाका नेताहरुसँग पटकपटक वार्ता गरिसकेका छन् । तर सत्ता समीकरणबारे छलफल नभएको नेम्वाङ बताउँछन् । ‘अहिले हामीले जसपासँग सत्ता समीकरणबारे कुराकानी गरेका छैनौं, तर हुनै नसक्ने भन्ने होइन,’ नेम्वाङको भनाइ छ ।

माओवादी चोइट्याउन चलखेल
नेकपा विवादमा ओली पक्षमा लागेका पूर्व माओवादी नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, दावा लामा लगायतका नेताहरुलाई जसरी पनि एमालेमै राख्ने योजना ओली पक्षको छ । ती नेताहरु हाल मन्त्रीसमेत छन् ।

सर्वोच्चको फैसलापछि उनीहरु पूर्व माओवादीमा नफर्के उनीहरुको सांसद पद रहँदैन । तर, बरु सांसद पद छोड्न लगाएर भए पनि उनीहरुलाई पार्टीमा स्थान दिने ओलीको चाहना छ ।

त्यसो गर्दा ओलीले प्रचण्डविरुद्ध आफ्नो जित महसुस गर्नुका साथै माधव पक्षलाई समेत साइजमा ल्याउन पनि यो तरिका सार्थक हुने ओली पक्षका नेताहरुको बुझाइ छ । तर पूर्व माओवादीका नेताहरुलाई एमालेमा व्यवस्थापन गर्न त्यति सहज भने देखिँदैन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार