• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

ज्योति लाइफ को आइपिओ ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले पाउने


ज्योति लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आइपिओ)मा हालसम्मकै धेरै आवेदन परेको छ।सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेका अनुसार १८ लाख ४ हजार ६४८ जनाले आवेदन दिएका छन्। सो संख्याले ३ करोड ८० लाख ५७ हजार कित्ताका लागि आवेदन दिएका छन्।

बिक्री प्रवन्धक एनएमबि क्यापिटलका अनुसार साँझ ५ बजेसम्म सो संख्याको आवेदन परेको हो। कम्पनीको आइपिओ गत शुक्रबारदेखि बिक्री खुल्ला गरिएको थियो। कुल ६६ लाख कित्ता सर्वसाधारण समूहको सेयर जारी भएको हो। जसमा कर्मचारी र सामुहिक लगानी कोषलाई छुट्याएपछि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणलाई बाँडिनेछ। आइपिओ भरेकामध्ये ५ लाख ९४ हजार जनाले मात्रै १० कित्ताका दरले पाउने छन्, १२ लाखको हात रित्तो हुनेछ। यीमध्ये प्रक्रिया नपुगेका आवेदन पहिले नै अस्वीकृत हुनेछन्।

ज्योति लाइफको आइपिओमा एक व्यक्तिले न्यूनतम १० देखि अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन पाइने व्यवस्था गरिएको थियो।
ज्योति लाइफ इन्स्योरेन्स पछिबाट खुलेको नयाँ बीमा कम्पनी हो। नयाँ जीवन बीमा कम्पनीमध्ये यसअघि प्रभु र रिलायन्स लाइफले आइपिओ जारी गरिसकेका छन्। आइएमई, युनियन, रिलायबल, सिटिजन, सन नेपाल, सानिमा र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ। यी कम्पनीहरूले पनि क्रमश आइपिओ जारी गर्नेछन्।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्म १ अर्ब ४४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ।प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३३९ रुपैयाँ छ। कम्पनीले दोस्रो त्रैमासिक अवधिमा १० करोड रुपैयाँ खुद नाफा कमाएको छ।

जवकि गत वर्षको यसै अवधिमा ६ करोड ८९ लाख कमाएको थियो। कम्पनीलाई केयर नेपालले एनपी ‘बीबीबी’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय स्थिति औसतभन्दा राम्रो रहेको जनाउँछ। पछिबाट खुलेको जीवन बीमा कम्पनीमध्ये यो कम्पनीको बिजनेस वृद्धिदर राम्रो देखिन्छ।

प्रकाशित मिति : २०७७ फाल्गुन २७ गते बिहिवार