• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

माधव नेपालसहित पाँच नेतालाई ओलीको कारवाही, झलनाथ खनाल भने कारवाहीबाट बचे


काठमाडौं : प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली ले नेकपा एमाले का वरिष्ठ नेता माधव कुमार नेपाल सहित ५ जना नेतालाई कारवाही गर्ने निर्णय गरेको छ। पार्टीको विधान विपरीत गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय भएको प्रधानमन्त्री ओलीका प्रेस

सल्लाहकार सूर्य थापाले जानकारी दिए। कारवाहीमा पर्नेमा नेपालसँगै उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र केन्द्रीय कमिटी सदस्य रामकुमारी झाक्री रहेका छन्। यी सबैलाई स्पष्टिकरण सोध्ने निर्णय भएको हो। बालुवाटारमा आजै बसेको संसदीय दलको बैठकले पनि गुटगत गितिविधि गर्ने नेतामाथि कारवाही गर्न सिफारिस गर्ने निर्णय गरेको ओली समूहका सांसद यज्ञ बोगटीले जानकारी दिए।’पार्टीको विधान विपरीत छुट्टै गुट चलाउने, बैठक बहिस्कार गर्नेलाई कारवाही गर्ने कुरा भएको छ,’ उनले भने। तर, नेपाल समूहमै रहेका र ओलीको चर्को आलोचनामा उत्रिएका वरिष्ठ नेता झलनाथ खनाल भने कारवाहीबाट बचेका छन्। अदालतको फैसला अघि अस्तित्वमा रहेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपामा ओलीलाई नेपाल समूहले कारवाही गरेको थियो।

समानुपातिक सांसद हटाउन सक्ने अधिकार ओलीलाई
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिइएको छ । आफू निकट केन्द्रीय सदस्यहरुको बालुवाटार बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार दलका नेता ओलीलाई दिइएको हो ।

अध्यक्षलाई अधिकार प्रत्यायोजन शीर्षकमा राखिएको एजेण्डाबारे बैठकले समानुपातिक सांसद हटाउन सक्ने अधिकार पनि ओलीलाई दिएको छ । ‘संघीय तथा प्रदेशसभाका समानुपातिक सांसदहरुको बन्दसूचीमा रहेको नाम हटाउने, राख्ने या हेरफेर गर्न सक्ने अधिकार प्रधानमन्त्रीलाई दिइएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने ।

पार्टीको केन्द्रीय सदस्य वा मातहत कमिटीको सदस्य थप्ने वा हटाउने अधिकार पनि ओलीलाई दिइएको छ । ती नेताका अनुसार केन्द्रीय सदस्य र मातहतका नेताहरुलाई बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ । यसका साथै संवैधानिक निकायहरुमा पार्टीको तर्फबाट लिइने सबै अधिकार पनि ओलीलाई दिइएको छ ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार