• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

केपी ओलीसँग ४९ वर्षको माया-पिरती छ, ओलीसँग एकताको हात बढाउन तयार छु : माधव नेपाल


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँग एकताको हात बढाउन तयार रहेको बताएका छन् । तर अवैधानिक रुपमा भएका निर्णयहरु मानेर लुरुलुरु बालुवाटार नजाने उनले बताए । शनिबार काठमाडौंमा नेपाल समूहसम्वद्ध युवा संघको

राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेता नेपालले आफूहरु अध्यक्ष ओलीसँग सँगै जाने पक्षमा रहेको बताए । केपी ओलीसँग आफ्नो माया–पिरती ४८/४९ वर्ष लामो रहेको भन्दै उनले भने, ‘त्यत्रो समयको माया–पिरती कहाँ एकै रातमा सिद्धिन्छ ?’आफूहरु अहिले पनि अध्यक्ष ओली सुध्रिउन् भन्ने पक्षमा रहेका नेता नेपालले बताए । ‘अहिले पनि केपी कमरेडलाई मेरो प्रस्ताव हो, नयाँ ढंगबाट जाऊँ, एकताको बाटोमा अगाडि बढौं,’ उनले भने, ‘त्यसका निम्ति २०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्किनुस् र यसबीचमा भएका बैठक अवैध भएकाले फिर्ता लिनुस् ।’तर अध्यक्ष ओली २८ फागुनमा गरेको ‘अवैधानिक’ निर्णय सच्याउन तयार नभएको उनले बताए । शनिबार मात्र अध्यक्ष ओलीले एमाले केन्द्रीय कमिटीको १२औं बैठक बोलाएको भन्दै वरिष्ठ नेता नेपालले भने, ‘एमालेको अन्तिम बैठक ९ नम्बर हो । दुईवटा बैठक कहाँ गयो अत्तोपत्तो छैन । तेस्रो बैठकमा लुरुलुरु बालुवाटार जान्छौं ? जाँदैनौ । हामी स्वाभिमानी मान्छे हौं ।’ यद्यपि (२३ फागुन यता भएका निर्णय) गल्ती सच्याए सँगसँगै जान तयार रहेको उनले बताए ।

सबैतिर अल्पमतमा ओली
सम्बोधनका क्रममा नेता नेपालले २ जेठ २०७५ को कमिटीमा फर्किए सबैमा अल्पमतमा पर्ने भएपछि अध्यक्ष ओलीले विधान विपरितका निर्णय गरेको बताए । पार्टी पदाधिकारीमा १० जना आफूहरुसँग र ५ जना ओलीतिर रहेको भन्दै नेताहरुको नाम नै लिए । २२ सदस्यीय स्थायी कमिटीमा क्रमशः नेपाल र ओली समूह १२/१० जना, ४५ सदस्यीय पोलिटब्युरोमा २५/२० र केन्द्रीय कमिटीमा ९७/९० भन्दै उनले भने, ‘त्यही भएर नभएको अधिकार प्रयोग गरेर विधान संशोधन गर्ने पार्टीमा प्रवेश नगरेको मान्छेलाई केन्द्रीय सदस्य मनोनित गरियो ।’ आफू अल्पमतमा परे ओलीले कमिटीको आकार २ हजार पुर्‍याउन सक्ने उनले सुनाए ।

‘संसदीय बोर्डमा बस्दैनौं’
वरिष्ठ नेता नेपालले विधान विपरित संसदीय बोर्ड गठन गरेको भन्दै आफू र झलनाथ खनाल त्यसमा नबस्ने घोषणा गरे । ‘दुई जना बबुरोहरुलाई कृपादृष्टि पु¥याएर ठाउँ दिनु भएछ,’ उनले भने, ‘हामीले हुन्छ प्रभु भने भनेनौं, त्यो बोर्डमा हामी बस्दैनौं ।’

संसदीय दलको अघिल्लो बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको थियो, जसमा खनाल र नेपाल पनि थिए । नेता नेपालले भने दलको विधान संशोधन गरेर केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्र बोर्ड गठन वैधानिक हुने बताए । त्यसरी बोर्ड गठन गरिए को–को बस्ने भनेर छलफल गर्ने र सहमतिमा अघि बढ्ने उनले प्रष्ट पारे ।

प्रकाशित मिति : २०७७ चैत्र ७ गते शनिवार