• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

प्रचण्ड र माधवकाबीच पाक्दैछ यस्तो खिचडी ! व्यापारी टपिन्द्रको घरमा भएको गोप्य वैठकमा भयो यस्तो सहमति


काठमाडौं।नेकपा एमालेवाट कारवाहीको सम्भावनामा परेका एमाले नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट बाक्लिएको छ । सोमवार पनि दुई नेताबीच गोप्य भेटघाट भएको छ । ्नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला

उनीहरूबीच लगातारजसो भइरहेको छलफललाई अर्थपूर्णरूपमा हेरिएको छ।स्रोतका अनुसार कोटेश्वरस्थित व्यापारी टपिन्द्र तिम्सिनाको घरमा उनीहरुबीच सोमवार पनि छलफल भएको हो । यसअघि चैत १३ मा पनि सोही घरमा दुई नेताबीच छलफल भएको थियो । सोमवार भिम रावल र नारायणकाजी श्रेष्ठ पनि सहभागी भएको बताइएको छ । सर्वोच्चको निर्णय पछि नेकपा एमालेमै रहने निर्णय गरेका माधव नेपाल पक्षका नेताहरुलाई ओली पक्षले स्पष्टिकरण सोधेको थियो ।

पार्टी हित विपरितका काममा सकृय भएको भन्दै सोधिएको स्पष्टिकरणको जवाफ नेताहरुले फर्काइसकेका छन् । माधव नेपाल र भिम रावलको स्पष्टिकरण कारवाही योग्य रहेको प्रतिकृया प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले दिएका छन् । कारवाहीमा पर्ने प्रवल सम्भावनामा रहेका नेपाल दिनहुँजसो प्रचण्डसंग छलफलमा जुटेका हुन् । १२ चैतमा पनि उनीहरू कोटेश्वरस्थित अर्का व्यवसायी चन्द्रलाल श्रेष्ठको घरमा छलफलमा बसेका थिए ।

यसबीचमा प्रचण्ड र माधव नेपालबीच कोटेश्वरमा मात्रै चारपटक बैठक भएको छ भने त्यसअघि खुमलटारमा निरन्तर छलफल चलिरहेका थिए । केपी ओलीलाई सरकारबाट हटाउने विषयमा दुवै नेताको एकमत छ । तर जसपा र नेपाली कांग्रेसले सहयोग नगरेका कारण उनीहरुको त्यो चाहना पुरा हुन सकेको छैन ।

कांग्रेस र जनता समाजवादी पार्टी अविश्वास प्रस्ताव दर्ता गर्न अझै तयार भएका छैनन् । जसपा प्रधानमन्त्री ओलीसंग पनि छलफलमा छ । नेता नेपालले कांग्रेस र जसपाको दया कृपा रहुन्जेल ओली सरकार टिकिरहने हालैका नागरिक संवादमा बताएका थिए । जसपाको महन्थ ठाकुर पक्षलाई ओलीको समर्थनमा नउभिन प्रचण्ड(माधवले आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार