• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

निलम्वन पछि झनै अराजक बन्दै माधब नेपाल समूह, गर्यो यस्तो निर्णय


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले अब केपी शर्मा ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने बताएका छन् । उनले देशैभरिका कार्यकर्ताहरुलाई मैदानमा उत्रन आह्वानसमेत गरेका छन् । अध्यक्ष ओलीले सोमबार माधव नेपाल र

भीम रावललाई ६ महिनाका लागि निलम्वन गर्ने निर्णय गरेलगत्तै नेता नेपालको आक्रामक प्रतिक्रिया आएको हो । बरिष्ठ नेता नेपालले केपी शर्मा ओली एमालेको अध्यक्ष नरहेकाले उनमा कारवाही गर्ने कुनै अधिकार नरहेको बताए । ओलीले आफैं केन्द्रीय कमिटी भंग गरेको अवस्थामा यसरी कारवाही गर्न नमिल्ने उनले बताए । नेता नेपालले भने, ‘केपी ओली अहिले नेकपा एमालेको अध्यक्ष पनि होइन । उहाँ एमाले केन्द्रीय कमिटीको अध्यक्ष होइन । उहाँले एमालेको केन्द्रीय कमिटी भंग गरिसक्नुभयो । त्यसो हुनाले केन्द्रीय कमिटीको अध्यक्षका रुपमा काम गर्ने उहाँसँग केही पनि अधिकार छैन ।

ओलीले निलम्वन गरेको पत्र आफूले नपाएको बताउँदै नेता नेपालले अब देशव्यापीरुपमा ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गरे । नेपालले रातोपाटीसँग भने, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइन्छ । संक्षिप्त कुरा गर्दै नेता नेपालले भने, ‘अब देशव्यापीरुपमा संगठन झनै सशक्त र प्रभावकारी भएर जान्छ । केपी ओलीको चुनौतीको सामना गरिन्छ । सबै कार्यकर्तालाई दृढताका साथ मैदानमा उत्रन म आह्वान गर्न चाहन्छु ।

नेकपा एमालेले बरिष्ठ नेता माधव कुमार नेपाल र नेता भीम रावललाई कारवाही गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले सोमबार पत्र पठाउँदै नेपाल र रावललाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेका हुन् । यसअघि एमालेले नेता नेपाल, रावलसहित सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पार्टी विधान विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोधेको थियो ।

सो स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै अध्यक्ष ओलीले नेताहरूमाथि कारवाही गरेका हुन् । नेता नेपाल र रावलले स्पष्टीकरणको जवाफमा प्रतिप्रश्न गर्दै ओली स्वयं पार्टी विधि, विधान र संविधानको खिलाफमा गएकाले ओली कारवाहीको भागीदार किन नबन्ने भनेर प्रश्न गरेका थिए ।

प्रकाशित मिति : २०७७ चैत्र १६ गते सोमवार