• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

माओवादीले समर्थन फिर्ता लिनासाथ राजीनामा ! राजिनामा लगत्तै संसद बिघटन


साबिक नेकपा भित्र अन्तरविरोध बढेसँगै सरकार ढल्ने खतरा देखिएपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले संसदीय अंकगणित आफ्नो पक्षमा नभए फेरि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने संकेत गरेका छन् । नेकपा माओवादी केन्द्रले

सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भने राजीनामा दिने बताएका ओलीले फेरि पुस ५ को स्थिति आउन सक्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार सडक उदघाटन कार्यक्रमलाई सम्वोधन गरेका प्रधानमन्त्री ओलीले फेरि ताजा जनादेशका लागि जानुपर्ने परिस्थिति आउन सक्ने स्पष्ट भाषामा बताए । ‘संसद यस्तै हो । संसद कहिले देशको आवश्यकता र संसदको गणित फरक पर्छ । कहिले कृत्रिम ढंगले केही मान्छेहरुले संसदीय अंकगणितलाई यताबाट उता, उताबाट यता सार्दिन्छन्, मिलाइदिन्छन्’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो विचारमा फेरि पनि ढिलोचाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकुल अंकगणितविना देश अगाडि ‘स्मुथ्ली’ जानै सक्दैन । त्यसकारण फेरि पनि हामीले ताजा जनादेशमा जानुपर्ने हुन्छ ।’ संसदको अंकगणितलाई ‘म्यानेज गर्न’ वा आफ्नो पक्षमा पार्न सकिएन भने त्यो अवस्थामा चुनावमा जानुपर्ने ओलीको तर्क छ ।

प्रधानमन्त्री ओलीले अगाडि भने, ‘त्यसलाई (संसदलाई) भरसक म्यानेज गर्न खोज्नुपर्छ । यदि त्यो व्यवस्थापन भएन र विभिन्न व्यक्तिहरुका स्वार्थहरुको खेलबाट अंकगणित आवश्यकता विपरीत गयो भने ताजा जनादेश भनेको त्यही हो । त्यसमा जानुपर्छ अब । त्यस्तोबेलामा ताजा जनादेशमा जानुपर्छ ।’ दुईवटा अवस्थामा चुनावमा जानुपर्ने प्रधानमन्त्री ओलीको विश्लेषण छ । प्रधानमन्त्री ओली भन्छन्, ‘कतिबेर चुनाव हुनुपर्छ भन्दा एउटा त आवधिक निर्वाचन । लोकतन्त्रमा आवधिक निर्वाचन हुन्छ । अर्को, यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने देशको आवश्यकता, जनताको आवश्यकता, विकासको आवश्यकता मौजुदा अंकगणित भन्दा माथिको कुरा हो ।

विगतमा अंकगणितले साथ नदिएको हुनाले संसद विघटन गर्नुपरेको तर्क गर्दै प्रधानमन्त्री ओलीले भने, ‘देशको आवश्यकता, विकासको आवश्यकता, विकासको आकांक्षा अंकगणितका लागि छोड्ने कि देश र जनताको आवश्यकताका लागि अंकगणित परिवर्तन गर्ने ? यो त जनताले फैसला गर्ने कुरा हो, त्यसकारण जनतामा त्यस्तो अवस्थामा जानुपर्छ । हामीले गरेको (संसद) विघटन त्यही अर्थमा हो ।’ संसदीय अंकगणितले कहिलेकाहिँ राष्ट्रिय आवश्यकताको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क छ । ‘संसदीय अंकगणितले राष्ट्रिय आवश्यकताको सधैं प्रतिनिधित्व गर्छ भन्न सकिँदैन’ ओलीले भने, ‘संसदीय अंकगणित यदि अनुपयुक्त ढंगले त्यहाँ खेल भइरहेको छ र अनुपयुक्त आकार लिइरहेको छ, त्यसले उपयुक्त आकार लिने सम्भावना कम छ भने त्यस्ता अवस्थामा संसदीय अंकगणितको अनुकूलताका लागि ताजा जनादेशमा जानुपर्छ । पोलिटिक्स त्यो हो ।

संसदको अंकगणितलाई व्यवस्थापन गर्नुपर्ने धराणा राखेका प्रधानमन्त्री ओलीले भने, ‘देश, जनता र विकासको आवश्यकता अनुसारको अंकगणित हामीले जनप्रतिनिधि संस्थाहरुमा निर्माण गर्नुपर्छ । खास गरी संसद, जो सरकार बनाउने थलो हो, संविधान संशोधन गर्न सक्ने थलो हो, कानून निर्माण गर्न, परिवर्तन गर्न सक्ने थलो हो । त्यो थलोलाई देशको आवश्यकता अनुसारको अंकगणितीय वनावटमा लानुपर्छ ।’संसद विघटनको औचित्य पुष्टि गर्ने प्रयास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘जब राष्ट्रिय आकांक्षासँग अंकगणितले तादात्म्यता राखेन, हामीले तादात्म्यता राख्न कोसिस ग¥यौं, भएन । तब जनादेशमा जानुपथ्र्यो।

माओवादीले समर्थन फिर्ता लिनासाथ राजीनामा !
संसदको अंकणितले साथ दिएन भने फेरि ताजा जनादेशमा जानुपर्ने बताएका प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता गरेपछि आफ्नो राजीनामा आइहाल्ने बताए । प्रधानमन्त्रीले माओवादीको नाम नलिइकन भने, ‘ए बाबा हटाउ न त । समर्थन फिर्ता लिइलेऊ भन्छु, त्यो पनि लिँदैन अनि राजीनामा माग्छ । राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न ।’

आफ्नो राजीनामा दिनहुँ माग्नेृ काम भइरहेको बताउँदै ओलीले ठट्यौली पारामा भने, ‘मागैपिच्छे म कसरी दिन सक्छु भनेको ! एउटाले माग्दैन, दुईटाले माग्दैन । एकदिन माग्दैन, दुईदिन माग्दैन । माग्या छ माग्या छ । दिनैपिच्छे एक–एकवटाले राजीनामा माग्छ !

प्रकाशित मिति : २०७७ चैत्र २१ गते शनिवार