• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

माओवादीबाट मन्त्री बनेका ५ मन्त्रीलाई कारवाहीको तयारी सांसदको पद खोसिँदै


काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहित ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ । माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट,उर्जा जलश्रोत तथा

सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको हो । पाँचै जना मन्त्रीहरुलाई यसअघि पार्टी स्पष्टिकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफ पठाएका थिएनन् । ‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको छ । त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी छ । सम्भवतः आजै उनीहरुलाई पठाइन्छ’, स्रोतले रातोपाटीलाई भन्यो । थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए । माओवादीको नाममा निर्वाचित उनीहरु एमाले र माओवादी केन्द्र (फागुन २३ पछि ) पूर्ववत् अवस्थामा फर्किएपछि उनीहरु भने सरकारमै रहनुका साथै एमाले प्रवेश गरेका थिए । ५ मन्त्रीमध्ये थापा राष्ट्रिय सभा सदस्य हुन् भने बाँकी प्रतिनिधि सभा सदस्य हुन् ।

लुम्बिनी प्रदेशमा सरकार फेरबदलको योजना : राजीनामा नदिए मन्त्री बर्खास्ती तयारी
बुटवल : सरकारमै बसेर सत्ता विरोधी गतिविधि गरेपछि लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका मन्त्री बर्खास्ती तयारी गरिएको छ। मुख्यमन्त्री शंकर पोखरेलले एउटै क्याविनेटमा बसेर सरकारविरुद्धमा गतिविधि गर्नेलाई बर्खास्ती गर्ने टुंगोमा पुगेका हुन्।सत्तारुढ दल विरुद्ध भाषणबाजी गरिरहेका माओवादी केन्द्रका मन्त्रीहरुले सरकार विरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीसहित हस्ताक्षर अभियान चलाएका छन्। एमालेमा प्रवेश गरेका दुई सांसदलाई माओवादी केन्द्रले कारबाही गर्ने निर्णय गरेपछि लुम्बिनी प्रदेशमा सरकार बचाउने र गिराउने खेल सुरु भएको छ। आन्तरिक मामिला मन्त्रालयमै विपक्षीको भेला भएको हो।

सोमबार सत्तामै रहेको माओवादी केन्द्र र विपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारीसहित हस्ताक्षर संकलन गरेका छन्। सरकार गिराउने तयारीमा छलफलका लागि कांग्रेस प्रतिनिधिसभाका प्रमुख सचेतक बालकृष्ण खाँण रुपन्देही आएका छन्। विपक्षी दलसँग मिलेर सरकारविरोधी गतिविधि गर्ने मन्त्री हटाउने योजना मुख्यमन्त्रीको रहेको छ।‘झण्डा हल्लाउँदै हिडेर सरकारविरुद्ध गतिविधि गर्नेहरु रहिरहन सक्ने अवस्था छैन, एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले भने,–‘दुईचार दिनभित्रै मन्त्री फेरबदल हुनेछन्।’ ढकालले माओवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीले राजीनामा नदिए बर्खास्तै गर्ने बताए।

माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी आन्तरिक मामिला तथा कानून मन्त्री र सुदर्शन बराल सामाजिक विकास मन्त्री रहेका छन्। बरालले यसअघिदेखि नै सरकार विरुद्ध र खासगरी केपी ओली समूह विरुद्ध चर्को भाषणवाजी गर्दै आएका थिए। मन्त्री केसी भने केही नरम थिए। तर पछिल्ला समयमा मुख्यमन्त्रीले गरेकै परामर्श बैठकमा उनले सहभागी नजनाएको बताइएको छ।

सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले कतिपय मन्त्रालयको काम कारबाही सन्तोषजनक नदेखिएकाले मन्त्रीहरु फेरिन सक्ने बताएका छन्। उनले केही मन्त्रालय थप नै गरेर सरकार विस्तार गर्ने तयारी रहेको बताए। सातै प्रदेशमा मन्त्रालय थप गर्ने गरी कार्यविधि बनाइएको छ। संघीय सरकारले केही दिनभित्रै यो कार्यविधि पारित गर्ने तयारी रहेको जनाएको छ।

प्रकाशित मिति : २०७७ चैत्र २४ गते मङ्गलवार