• २०८१ असोज ३ गते बिहिवार
  • Preeti To Unicode

कर्णाली प्रदेशसभामा किन भयो फ्लोर क्रस ? अब के हुन्छ ? हेर्नुस


काठमाडौं कर्णाली प्रदेशसभामा फ्लोर क्रस गर्ने आफ्ना सांसदसँग एमाले संसदीय दलले स्पष्टीकरण माग गरेको छ र कारबाही गर्न सिफारिस गरेको छ।शुक्रबार पार्टी संसदीय दलको ह्वीप उल्लंघन गरी ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए।

प्रदेशसभाको बैठकपछि शुक्रबार साँझ बसेको एमाले संसदीय दलको बैठकले फ्लोर क्रस गर्ने सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई कारबाही गर्न पार्टीको केन्द्रीय कमिटीलाई सिफारिस गरेको हो ।त्यस्तै ह्वीप उल्लंघन गर्नेहरुसँग स्पष्टीकरण पनि माग गरिएको एमाले सांसद सुशील थापाले जानकारी दिए । फ्लोर क्रस गम्भीर विचलन हो, क्षम्य हुँदैन : प्रदीप ज्ञवाली नेकपा एमालेका नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले फ्लोर क्रसलाई पार्टीमा देखिएको गम्भीर विचलन भनेका छन् । उनले ह्वीप नमानेर फ्लोर क्रस गर्ने निर्णय क्षम्य नहुने बताए ।

‘यो गम्भीर विचलनको विषय हो, क्षम्य हुन सक्दैन’, ज्ञवालीले भने । फ्लोर क्रस गर्नेहरुलाई कारबाही हुने पनि उनले बताए ।शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेका चार सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्रीको पक्षमा मत दिएका थिए ।
एमाले संसदीय दलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरे पनि सांसदहरु प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले फ्लोर क्रस गरेका छन् । ज्वाला र बुढाले केही दिन अगाडि मात्रै मन्त्रीबाट राजीनामा दिएका थिए ।

केन्द्रीय नेतृत्वकै निर्देशनमा फ्लोर क्रस गरेका हौं : प्रकाश ज्वाला
शुक्रबार कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने नेकपा एमालेका सांसदले पार्टीका केन्द्रीय नेताको निर्देशनमा फ्लोर क्रस गरेको बताएका छन् ।फ्लोर क्रस गर्ने सांसद प्रकाश ज्वालाले केन्द्रीय नेतृत्वको निर्देशनमै फ्लोर क्रस गरेको अनलाइनखबरलाई प्रतिक्रिया दिए ।केन्द्रीय नेतृत्वको निर्देशनअनुसार नै फ्लोर क्रस गरेका हौं,’ उनले भने, ‘पार्टीले जे कारबाही गरेपनि हामीलाई आपत्ति छैन, यस्तो बेला कारवाहीको पनि के अर्थ भयो र ?’

सांसद ज्वालाले पार्टी कब्जा गर्ने र एकलौटी गर्ने प्रवृत्ति पराजित हुनुपर्छ भन्ने सन्देश दिन फ्लोर क्रस गरिएको पनि बताए । ‘पार्टीलाई एकतावद्ध नगरी सुखै छैन भन्ने सन्देश दिन यो टुंगोमा आइपुगेका हौं । पार्टीभित्र सबैको योगदान छ, सबैको सम्मान हुनुपर्छ’, उनले भने ।पार्टी एकतावद्ध नबनाएसम्म यस्तो समस्या अरु ठाउँमा पनि देखिने बताए । ‘एमालेभित्र जुन प्रवृत्ति हुर्किरहेको छ । त्यसैको परिणाम हो, यो’, उनले भने ।सांसद ज्वालाले अगाडि भने, ‘अदालतको फैसलापछि यो पार्टीलाई सुदृढ गर्न चाहन्थ्यौं । त्यसका लागि अनेकौं प्रयत्न गरियो । तर, जुन ढंगले बेवास्ता र कारवाही गरियो । अनेक किसिमले जबर्जस्त कब्जा र एकलौटी चलाउने काम भए ।’

स्थिर सरकारका लागि फ्लोर क्रस गरेँ : एमाले सांसद बुढापार्टीको ह्वीप उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेका नेकपा एमालेका सांसद नन्दसिंह बुढाले स्थिर सरकारका लागि ‘फ्लोर क्रस’ गरेको प्रतिक्रिया दिएका छन् ।अनलाइनखबरसँग कुरा गर्दै उनले केन्द्रीय नेताको निर्देशन र स्थिर सरकारका लागि सरकारको पक्षमा मतदान गरेको बताए । ‘प्रदेशमा स्थिर सरकार र केन्द्रीय नेताको निर्देशनअनुसार सरकारको पक्षमा मतदान गरे, दलले कारवाही गरेपनि भोग्न तयार छु,’ बुढाले भने ।

शुक्रबार कर्णाली प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत माग्दा एमालेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै पक्षमा मतदान गरेका थिए ।नेकपा एमाले संसदीय दलले भने शाहीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख ३ गते शुक्रवार