• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

कर्णालीले उब्जाएको प्रश्न : केन्द्रमा ओलीसँग कति सांसद छन् ?


काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभामा बहुमत जुटाउन जनता समाजवादी पार्टी(जसपा)का नेता महन्थ ठाकुरसँग
सघन सम्वादमा छन्। आफूसँग१२०सांसद रहेका र जसपाका १७/१८जना सांसदले सघाएमा बहुमत जुटाउन सकिने प्रधानमन्त्री ओलीको हिसाब छ।

तर, उनको यो हिसाबमा कर्णाली प्रदेशले झट्का लगाइदिएको छ ।कर्णाली प्रदेशमा माओवादी नेता महेन्द्रबहादुर शाहीले विश्वासको मत मागेका थिए । शाहीको पक्षमा काँग्रेस र माओवादी मिल्दा पनि बहुमत जुट्ने अवस्था थिएन । शुक्रबार प्रदेशसभामा भएको मतदानमा एमाले संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका थिए ।तर, माधव नेपाल पक्षका चारजना एमाले सांसदले ओली पक्षको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेर शाही सरकारलाई जोगाइदिएका छन् ।एमालेभित्र बढ्दो अन्तरविरोधका कारण माधव–झलनाथ पक्षका सांसदहरुले अरु प्रदेश र केन्द्र सरकारको हकमा पनि केपी ओली पक्षलाई मतदान नगर्ने स्पष्ट सन्देश कर्णालीले दिएको छ ।यही नजिर अब प्रधानमन्त्री ओलीको हकमा समेत लाग्ने देखिएको छ । त्यो अवस्थामा केपी ओलीले सिंगै जसपाको साथ लिँदा पनि बहुमत नजुटाउने सम्भावना बढेको छ ।

एमालेसँग प्रतिनिधि सभामा १२० सांसद रहेपनि माधव–झलनाथ पक्षमा करिव ३८ जना सांसद रहेका छन् । यस्तो अवस्थामा फ्लोर क्रस गरेको खण्डमा ओलीको पक्षमा ८२ हाराहारीमा मात्रै बच्न सक्ने देखिएको छ । उता, गण्डकी प्रदेशमा पनि एमालेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । त्यहाँ पनि माधव नेपाल पक्षका सांसदहरुले फ्लोर क्रस गर्ने सम्भावना बढेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा पनि मुख्यमन्त्री पोखरेल विरुद्ध विपक्षीहरुले हस्ताक्षर अभियान चलाइसकेका छन् । र, त्यहाँ पनि एमालेले फ्लोर क्रस गर्ने देखिएको छ ।यसैबीच नेकपा एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङले कर्णालीमा आफ्नो पार्टीका सांसदहरुले ह्वीप उलंघन गरेर फ्लोर क्रस गर्नु अराजनीतिक र गलत भएको टिप्पणी गरेका छन् ।रातोपाटीसँग संक्षिप्त कुरा गर्दै भने,

‘कर्णालीमा हाम्रो पार्टीका केही सांसदहरुले फ्लोर क्रस गरेका छन् । यो अराजनीतिक, अनैतिक र गलत हो ।’नेपाली राजनीतिमा कर्णाली घटनाले के संकेत गर्छ ? भन्ने प्रश्नमा नेता नेम्वाङले राजनीतिक पार्टी र तिनका नेता कार्यकर्ताहरुले यस्ता कुराहरुलाई भरसक विस्तार हुन दिने छैनन् भन्नेमा आफु विश्वस्त रहेको बताए । फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले तत्काल कारवाही गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको पनि नेता नेम्वाङले बताए ।‘अरु धेरै कुराहरुमा म लचिलो ढंगले प्रस्तुत हुने मान्छे हो । अलिक उदार हुनुपर्छ भन्ने हो । तर यो यस्तो. विषय हो इफ, बट हुदैन ।

सवै हिसावले यसस घटनालाई भत्र्सना गर्नुपर्छ’, नेम्वाङको भनाइ छ ।त्यस्तै एमाले प्रवक्ता समेत रहेका नेता प्रदीप ज्ञवालीले कर्णालीमा फ्लोर क्रसलाई अराजकताको संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘कर्णालीमा भएको अराजकता क्षम्य छैन । फ्लोर क्रस गर्नेमाथि कारवाही हुन्छ ।’वाम विश्लेषक हरि रोक्का कर्णाली प्रकरणपछि नेपालको राजनीति प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोचेजस्तो मात्रै नहुने संकेतका रुपमा विश्लेषण गर्छन्

।‘नेपालको राजनीतिमा प्रधानमन्त्री अ‍ोलीले जे सोच्यो त्यो मात्रै हुन्छ र सेटिङबाटै सवै चलाउँछु भनेर व्यवहार देखाएका थिए, त्यो असफल हुन्छ भन्ने कुरालाई पुष्टि गर्छ र ओलीजीलाई अव धेरै महंगो पर्न सक्छ’, रोक्काले रातोपाटीलाई बताए ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार