• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

२७ सांसदलाई स्पष्टीकरण सोध्ने एमालेको तयारी : चित्तबुझ्दो जवाफ नआए निश्कासन


काठमाडौं । नेकपा एमालेले २७ प्रतिनिधिसभा सदस्य (सांसद) लाई स्पष्टीकरण सोध्ने भएको छ ।पार्टी हित विपरीत गतिविधिमा संलग्न भएको भन्दै सांसदहरुलाई सोध्न लागिएको स्पष्टीकरणमा दुई दिनभित्र जवाफ दिन आग्रह गरिने अध्यक्ष केपी शर्मा ओली निकटका एक नेताले जानकारी

दिए ।स्पष्टीकरण सोध्न तयार पारिएको नेताहरुको सूचीमा माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, पवित्रा निरौला, झपट रावल, मेटमणि चौधरी,यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, झलनाथ खनाल, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ र नारायण खतिवडाको नाम छ । यस्तै जयकुमार राई, गणेश पहाडी, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, कृष्णलाल महर्जन, नीरादेवी जैरु, मुकुन्द नेउपाने र रामकुमारी झाक्रीलाई पनि स्पष्टीकरण सोध्न लागिएको एक नेताले बताए ।
उनकाअनुसार चित्तबुझ्दो जवाफ नआए निश्कासनसमेत हुनसक्छ ।

‘ताजा जनादेश’
धेरैलाई चासो छ– राजनीति अब कता जान्छ ? एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सेरोफेरो घुमेको राजनीतिको भविष्य धेरै हदसम्म उनकै निर्णयमा निर्भर छ। र, जिज्ञासा राख्नेहरूको प्रश्न यो पनि छ– प्रधानमन्त्रीले के गर्लान् ? एमाले महाधिवेशन आयोजक समितिको सोमबारको बैठकमा अध्यक्ष ओलीले ‘ताजा जनादेशमा तयार रहन’ कार्यकर्तालाई निर्देश गरे। उनको राजनीतिक प्रतिवेदन ‘चुनाव तयारीको दस्तावेज’सरह थियो। ‘प्रतिनिधिसभाको वर्तमान संरचना सरकारलाई असहयोग गर्न र यसलाई सहज ढंगले चल्न नदिन पर्याप्त छ।

तर, वैकल्पिक सरकार दिन र देश र जनताको हितमा काम गर्न दिन प्रतिनिधिसभा सक्षम देखिएको छैन। यस्तो स्थिति लामो समयसम्म रहिरहनु उचित हुँदैन’, अध्यक्ष ओलीको प्रतिवेदनमा लेखिएको छ, ‘यस्तो विरोधाभासको विकल्प दुईवटा मात्रै हुन सक्छन्– कि संसद्मा प्रतिनिधित्व गर्ने दलहरूका बीचमा नीतिमा आधारित दिगो समीकरण बनाउने र संसद्लाई सहज ढंगले चलाउने कि त ताजा जनादेशका लागि अगाडि बढ्ने।’

प्रधानमन्त्रीको बुझाइमा समीकरणको सम्भावना क्षीण छ। अर्थात्, चुनावकै सम्भावना बलियो छ। ‘वर्तमानमा एमालेलाई बाहिर राखेर बन्ने समीकरण दिगो हुने सम्भावना छैन। त्यसले केही व्यक्तिका सत्ता आकांक्षा पूरा गर्नेबाहेक देश र जनताको पक्षमा सकारात्मक योगदान दिने सम्भावना त झनै छैन। तत्काल नेकपा (एमाले)को नेतृत्वमा अर्को कुनै राजनीतिक दल सहभागी भएर दिगो राजनीतिक निकास खोज्ने सम्भावना पनि बलियो देखिएको छैन’, ओलीले भनेका छन्।

प्रकाशित मिति : २०७८ बैशाख ७ गते मङ्गलवार