• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

खाना खाँदाखाँदै ओलीलाई साथ नदिने भनेर बालुवाटारबाट फर्किए बामदेव


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले डिनर मिटिङको क्रममा अध्यक्ष केपी शर्मा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ । गौतमले ओलीसँग भएको कुराकानीको अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै गत फागुन २८ गते

गरिएका निर्णय फिर्ता नभएसम्म साथ नदिने जवाफ दिएको जानकारी दिएका हुन् । गौतमले आफ्ना प्रेस सल्लाहकार विश्वमणि सुवेदीको फेसबुकमार्फत् सार्वजनिक गरेको कुराकानीको अंशअनुसार खाना खाने क्रम चल्दाचल्दै गौतम बालुवाटारबाट फर्किएका थिए ।विहीबार बेलुकी आठ बजे ओली र गौतमबीच डिनर मिटिङ भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको मिटिङमा ओलीले गौतमलाई पार्टीको काममा फर्किन अनुरोध गरेका थिए ।तर गौतमले गत फागुन २८ गते ओलीले गरेका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए, जसलाई ओलीले नकारेका थिए । त्यसपछि गौतमले ‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन’ भनेर विदा भएका थिए । ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भएँ,’ गौतमले भनेका छन् ।

ओलीले भने– गुटबन्दी नगर्न सम्झाइरहेका छौं, यसलाई कमजोरी नठानियाेस्
प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका छन् । नेताहरुलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको भन्दै उनले त्यसलाई कमजोरीको रुपमा नलिन चेतावनी समेत दिए ।

मदननगर बल्खुमा बिहीबार बिहान पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनसँग सम्झौता गर्न सक्दैनौं । गुटगत गतिविधिलाई अब मान्यता दिन सक्दैनौं ।’माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आह्वान गरे । ओलीले भने, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेका छौं ।’

‘यसलाई कमजोरी ठानिन्छ भने र गुटको आधारमा गतिविधि गर्न खोजिन्छ भने त्यो अब सम्भव छैन’, उनले भने । ओलीले माधव–झलनाथ समूहका नेताहरुलाई एक्लाएक्लै छलफल गर्दै आएका छन् । बुधबार साँझ मात्रै ओलीले नेता माधव नेपालसँग छलफल गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख १० गते शुक्रवार