• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

जसपा तटस्थ बस्दा ओलीलाई फाइदा कि देउवालाई ?


जनता समाजवादी पार्टी (जसपा) नेपालकोअध्यक्ष महन्थ ठाकुर पक्षले सोमबार संसदमा तटस्थ बस्ने बताएको छ । पार्टीले यसबारे
आइतबार नै औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् ।

त्यसको एक दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटिसकेपछि ओलीलाई भेट्न बालुवाटार पुगेका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टी तटस्थ बस्ने कुरा बाहिर ल्याएका हुन् ।जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन नेपाली काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन बनाएको बेला ठाकुर पक्षले ‘तटस्थ रहने’ कार्ड बाहिर ल्याएको हो । यादवले भने जसरी पनि संसदमा ओलीलाई परास्त गर्न एमाले नेता माधवकुमार नेपालसँग पनि छलफल गरिसकेका छन् ।ठाकुर पक्षले ‘तटस्थ रहने’ कार्ड फालेपछि यादव पक्षका नेताहरु सशंकित बनेका छन् । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिन नसक्ने अवस्था रहेको र ठाकुर पक्ष पनि पार्टीमै अल्पमतमा पर्ने देखेरै तटस्थ बस्ने कुरा बाहिर ल्याएको उनीहरुको बुझाइ छ ।सोमबारको बैठकअघि एमालेबाट खनाल–नेपाल पक्षका सांसदहरुले राजीनामा दिने भएपछि ठाकुर हच्किएको उनीहरुको दाबी छ । यसअघि प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सघाउनका लागि अध्यक्ष ठाकुरले पार्टीमा हस्ताक्षर अभियान नै चलाएका थिए ।

आफूसँग बहुमत छ भनेर प्रधानमन्त्री ओलीलाई देखाउनका लागि गरिएको हस्ताक्षर अभियानमा उनीपक्षकै नेताहरु हस्ताक्षर नगरेपछि उनी ‘ब्याक’ भएका हुन् ।स्रोतका अनुसार वैशाख २१ गते ठाकुरसँगको छलफलमा प्रधानमन्त्री ओली स्वयंले ‘तपाईंहरुले समर्थन गरे पनि संसदमा आफूले विश्वासको मत हासिल गर्न नसकिने भएकाले तटस्थ बस्दा नै राम्रो हुने’ सुझाव दिएका थिए । जसपाले माओवादी केन्द्र र काँग्रेसलाई समर्थन नजाएसम्म नयाँ सरकार बन्ने अवस्था नरहेको हुँदा पार्टी तटस्थ बसे आफू फेरि प्रधानमन्त्रीमा कायम रहन ओली आफैंले सो सुझाव दिएको स्रोतको भनाइ छ ।आफूहरुको माग पूरा नभएका कारणले कसैलाई समर्थन नगर्ने कुरा बाहिर ल्याएपछि मधेसको सेन्टिमेन्ट क्यास हुने र त्यसले उपेन्द्र यादवहरुलाई पनि तटस्थ बस्न दबाव पर्ने ओलीको बुझाइ रहेको यादव पक्षका नेताहरु बताउँछन् । अहिलेको अवस्थामा जसपा नेपाल तटस्थ बसिराखे प्रधानमन्त्रीमा ओली नै कायम रहने सम्भावना प्रवल छ ।

जसपा नेपालका कार्यकारिणी सदस्य गंगा श्रेष्ठ आफूहरुको मत भनेको ओली सरकारमा रहनुहुँदैन भन्ने रहेकाले पार्टीले विश्वास मतको विपक्षमा मतदान गनुपर्ने बताउँछन् । ‘तटस्थ बसे प्रधानमन्त्री ओलीलाई सरकारबाट हटाउन गाह्रो हुनेछ,’ उनी भन्छन्, ‘प्रधानमन्त्री ओलीले गैरसंवैधानिक कदम चालेकाले जसपाले त्यसको विरोधमा देशव्यापी आन्दोलन गरेको थियो । प्रधानमन्त्रीको राजीनामा नै मागेको थियो । फेरि तिनै ओलीलाई सरकारमा कसरी राख्ने ?’ यद्यपि विश्वासको मतको बारेमा पार्टीको आधिकारिक निर्णयका लागि आज पार्टीको पदाधिकारीको बैठक बस्ने र सोही बैठकले ठोस निर्णय गर्ने उनले बताए बताए ।

यता, जसपाका कार्यकारिणी सदस्य तथा ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्ण भने आफूहरुको अडान जसले माग पूरा गर्छ, त्यसलाई समर्थन गर्ने भएकाले अहिलेसम्म सबै माग कसैले पूरा नगरेका कारण तटस्थ बस्दा नै राम्रो हुने बताउँछन् । तटस्थ बस्दा पार्टीमा देखिएको मतमतान्तर पनि अन्त्य हुने उनले दाबी गरे । उनले पनि पार्टीको आधिकारिक निर्णय आउन बाँकी रहेको बताए ।

उता नेपाली कांग्रेसका नेताहरु भने अहिले जसपाले केपी ओलीलाई भोट हालेन र तटस्थ बस्यो भने आफूहरुलाई नै फाइदा हुने दाबी गर्छन् । काँग्रेसका एक शीर्ष नेताले रातोपाटीसँग भने, ‘जसपाले भोट नदिएपछि अहिले ओली सरकार ढल्छ, त्यसपछि उसले नयाँ सरकार बनाउने बेलामा हामीलाई साथ दिन्छ । त्यसैले सोमबारको मतदानमा जसपा तटस्थ बस्दा ओलीलाई घाटा हुन्छ र हामीलाई र्न फाइदा पुग्छ ।

प्रकाशित मिति : २०७८ बैशाख २६ गते आइतवार