• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

सरकारको दाबी गर्न विपक्षीले सकेनन् : आजै राति केपी ओली प्रधानमन्त्री नियुक्त हुने


प्रतिनिधिसभामा बैशाख २७ गते विश्वास गुमाएका केपी शर्मा ओली आजै राति पुनः प्रधानमन्त्री नियुक्त हुने भएका छन् । काँग्रेस–
माओवादी– जसपा गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउने सम्भावना टरेका कारण राति ९ बजेपछि ओली नै प्रधानमन्त्री बन्ने भएका हुन् ।

​राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरूलाई नयाँ सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय दिएकी थिइन् । यो समयसीमा सकिन एकाध घण्टामात्र बाँकी छ । तीन दिनको यो अवधिमा शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादवले भगीरथ प्रयास गर्दा पनि बहुमत प्रमाणित गर्न सकेनन् । अन्ततः उनीहरु प्रधानमन्त्रीको दाबी गर्न नजाने निष्कर्षमा पुगेका छन् ।माधव नेपाल समूहले सामुहिक राजीनामा नगरेको र जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई भक्तपुरको रिसोर्टमा राखिएपछि देउवाको पक्षमा बहुमत नजुटेको हो ।विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ । दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ ।यसबीचमा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि प्रधानमन्त्रीका रुपमा चर्चामा आएको थियो । काँग्रेस, माओवादीका नेताहरुले महन्थको नाम अगाडि सारेको अवस्थामा चाहिँ बहुमत जुट्न सक्ने सम्भावना पनि थियो । तर, यसका लागि काँग्रेस–माओवादीका नेताहरु तयार भएनन् ।

सरकारको दाबी गर्न विपक्षीले सकेनन्
विपक्षी दलहरुले बहुमतको सरकार गठनका लागि माग दाबी नगर्ने भएका छन् । नेपाली काँग्रेस माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले बहुमत जुटाउन नसकेपछि सरकारका लागि दाबी पेस नगर्ने निष्कर्ष निकालेको हो ।काँग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बहुमतको सरकारका लागि दाबी नगर्ने भएको छ । देउवाले पार्टी पदाधिकारी बैठक राखेर बहुमत जुट्न नसकेको बारे बिफ्रिङ गरेका थिए । माओवादी केन्द्र स्थायी समिति बैठकले पनि सरकार बहुमतको सरकार गठनको सम्भावना सकिएको निष्कर्ष निकालेको थियो ।बहुमत पुग्ने परिस्थिति नबनेपछि काँग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि दाबी गर्न नहुने निष्कर्षमा पुगेका छन् ।

काँग्रेससँग ६१ (दुई निलम्बित) र नेकपा माओवादी केन्द्रसँग ४८ गरी १०९ सांसद छन् । जसपाको ३२ (दुई निलम्बित) सांसद दुई भागमा विभाजित छन् । सिंगो जसपाको सहयोगका लागि आज विहान देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए । तर ठाकुर र महतोले सरकार निर्माण साथ दिन नसकिने बताएपछि देउवालाई बहुमत जुटाउन सम्भव नभएको हो ।जसपाको ठाकुर पक्षले सरकार निर्माण तटस्थ बस्ने जनाएकाले अब कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नै फेरि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएको छ । ओलीले प्रधानमन्त्रीमा नियुक्त भए ३० दिनभित्र अर्थात असार ३० गतेभित्र बहुमत सिद्ध गर्नुपर्छ ।

सोमबार विश्वासको मत लिँदा माधव नेपाल पक्षको बहिष्कारका बीच ओलीले ९३ मत मात्र पाएका थिए । उनको विपक्षमा १२४ र १५ मत तटस्थको पक्षमा खसेको थियो ।एमाले विवाद सहमति नजिक पुगेकाले असारमा पार्टीका १२१ सांसदसहित ओलीले जसपाको ठाकुर पक्षलाई साथमा लिँदा बहुमत सिद्ध गर्न सक्ने सम्भावना पनि छ । तथापि ओलीको रुची ‘अर्ली इलेक्सन’मै जाने देखिन्छ ।

प्रकाशित मिति : २०७८ बैशाख ३० गते बिहिवार