• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

पश्चिम नवलपरासीको सीमा नाकामा गो’ली चल्यो, एक जना घा’इ’ते


परासी:पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गो’ली चलेको छ ।गोली लागेर एक जना घाइते भएका छन्।भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५स्थित नथुई नाका(वनकट्टी)बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए।

सुरुमा ५÷७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए । ५०/६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगा मुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले बताए।

गोली चलेपछि तितरवितर भएको भीड । तस्बिर सौजन्य : श्याम थापा

‘भीडलाई नियन्त्रण गर्न सुरुमा अश्रु ग्याँस प्रहार गरिएको थियो’, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘तर भीड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर एक राउन्ड गोली चलाइएको हो ।’

गोली लागेर घाइते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको सहिद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ।

भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकीसमेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ५ गते बुधवार