• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

महन्थलाई प्रधानमन्त्री बन्न बाबुराम र उपेन्द्रको प्रस्ताव, माधवकुमार नेपाल पक्षले पनि सहयोग गर्ने


जनता समाजवादी पार्टी ( जसपा ) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्का अध्यक्ष
महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने गृहकार्य सुरु गरेका छन् ।उनीहरुले प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाएका

छन् ।जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षले पनि सघाउने गरी कुराकानी अगाडि बढेको अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । उनले भने, ‘अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रस्ताव पठाइसक्नु भएको छ । महन्थ ठाकुरले जसपाको नेतृत्वमा सरकार बनाउने कि ओलीलाई साथ दिने उहाँमा निर्भर छ । उहाँको जवाफको प्रतीक्षा भइरहेको छ ।’अध्यक्षद्वय भट्टराई र यादवले आजै एमालेका नेता माधवकुमार नेपाल, काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग कुराकानी गरेका छन् । उनीहरु जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक रहेको बताइएको छ । यद्यपि अझै छलफलहरु जारी रहेको छ ।

जसपा नेपालका एक कार्यकारिणी सदस्यका अनुसार महन्थ ठाकुर प्रधानमन्त्री हुन तयार नभए माधवकुमार नेपाललाई पनि प्रधानमन्त्रीको रुपमा अगाडि बढाउन सकिने विषयमा पनि छलफल भइरहेको छ । माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईबीच फोनमा कुराकानी भएको थियो भने उपेन्द्र यादव र माधव नेपालबीच प्रत्यक्ष भेटघाट भएको ती नेताले बताए ।

पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच जसपा नेपालको नेतृत्वमा सरकार बनाउने विषयमा यसअघि सहमति भएको थियो । दुवैजनाको हस्ताक्षरबाट विज्ञप्ति पनि जारी भएको हो । तर अध्यक्ष ठाकुर र पार्टीका वरिष्ठ नेता प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेको नेतृत्वमा बहुमतको सरकार बनाउने सहमति भएको कुरा बाहिर आएको छ । यसले गर्दा जसपा नेपालको एकतामा संकट उत्पन्न भएको छ ।

पार्टीको जेठ ८ र ९ गतेको लागि जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाइएको छ । अगामी राजनीतिक विषयमा कार्यकारिणी समितिको बैठकबाट निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो तर त्यो बैठक बस्ने कि नबस्ने नै अन्योल रहेको छ ।सिंहदरबारमा यतिबेला अध्यक्ष ठाकुरले आफ्ना पक्षका सांसदहरुलाई बोलाएर छलफल गरिरहेका छन् । सो छलफलपछि उपेन्द्र यादवसँग पनि छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ ७ गते शुक्रवार