• २०८१ कार्तिक १० गते शनिवार
  • Preeti To Unicode

‘अब कोरोना संक्रमण र मृत्युदर घट्दै जान्छ’ – डाक्टर शेरबहादुर पुन


काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विषेशज्ञ डाक्टर शेरबहादुर पुनले अब क्रमशः कोरोना
संक्रमण दर घट्दै जाने बताउनुभएको छ । काठमाडौं उपत्यकामा यतिबेला कोरोना भाइरसको दर उच्च विन्दुमा पुगेकाे तर अबका दिनमा संक्रमण

घट्ने उहाँको भनाइ छ । निषेधाज्ञा अगाडिको भीडभाड र जमघटका कारण कोरोना भाइरसको संक्रमण दर अहिले उच्च भएको तर अहिले निषेधाज्ञा जारी रहेकाले कोरोना संक्रमण दर घट्दै जाने उहाँको ठहर छ ।उहाँले भन्नुभयो, ‘अहिले कोरोना संक्रमण दरलाई अधिकतम विन्दु मान्न सकिन्छ, निषेधाज्ञाअगाडि मानिसहरु मिसमास भए । भीडभाड र जमघट भयो, त्यसैले कोरोना संक्रमणको दर उच्च भएको हो । उहाँहरुले घरघरमा लगेर संक्रमण थप बढाउनुभयो । त्यही कारण कोरोनाले अहिले क्षमता प्रदर्शन गरिहेको हो । तर अब निषेधाज्ञा जारी छ र संक्रमण दर घट्दै जानेछ ।’अहिले निषेधाज्ञाका कारण सामाजिक सम्पर्क नहुँदा पनि बढ्नुलाई पहिल्यैको गतिविधिसँग जोडेर हेर्नु पर्ने उहाँको भनाइ छ । पहिले सुरुवाति समयमै तरिका नपुगेका कारण अहिलेको यो अवस्था भोग्नु परेको बताउदै उहाँले अहिले भने हेर्नु बाहेक अन्य विकल्प नहुने उहाँको भनाइ छ ।

एक दिन, दुई दिनको संक्रमण दरको तथ्याङ्क तलमाथि हुँदा त्यति फरक नपर्ने उहाँको भनाइ छ । दुई हप्तादेखि माथिको लामो समयावधि हेरेर तथ्याङ्क मानेर औसतमा हेर्दा त्यति फरक नदेखिएकोले तत्काल कोरोना संक्रमण अब तीव्र बृद्धि हुने सम्भावना नभएको उहाँले न्यूज२४ सँगकाे कुराकानीमा बताउनुभयो । यद्यपि निषेधाज्ञालाई कडाइ नगरे अवस्था यही हुन्छ भन्न नसकिने उहाँको भनाइ छ । अहिले परीक्षण गरिएकामा औषतमा ४० देखि ४५ प्रतिशत मात्रै कोरोना संक्रमित दर रहेको उहाँको भनाइ छ ।

संक्रमितमध्ये २ प्रतिशतकाे मृत्यु
डा पुनले अहिले नेपालमा संक्रमितमध्ये २ प्रतिशतकाे मृत्यु हुने गरेकाे बताउनुभयाे । संक्रमितको अनुपात यस्तै स्थिर रहेमा मृत्युदर पनि घट्न सक्ने डाक्टर पुनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘संक्रमितको दर अहिले स्थिर छ । यसलाई राम्रो भन्न सकिन्छ । मृत्युदर पनि करिब-करिब २ प्रतिशत छ । धेरै परिवारका सदस्य संक्रमित भइसक्नुभएको छ । तर स्ट्रिक्ली यसरी नै गरियो भने त्यो पनि घट्न सक्छ । अब संक्रमित हुने ठाउँ त्यति छैन ।’संक्रमितभन्दा पनि मृत्युको प्रतिशतले महत्व राख्ने उहाँको भनाइ छ । समाज तथा परिवारमा कोरोना संक्रमण भए पनि आफूलाई सामान्य केही भएको परीक्षण गराउदिनँ भनेर घरमै बस्ने गरेकोले परीक्षण गरेकाहरुको संक्रमण प्रतिशतले त्यति महत्व नराख्ने डाक्टर पुनले बताउनुभयो ।

तर घरमा बस्नै नसक्ने र संंक्रमणले जटिल अवस्थामा पुगेपछि मात्रै अस्पताल आएर परीक्षण गराउँदा मृत्युसम्म हुने भएकोले उनीहरुको तथ्याङ्कले भने महत्व राख्ने उहाँको भनाइ छ ।डा पुन भन्नुहुन्छ, ‘संक्रमितको दर अहिलेको भन्दा बढी पनि होला । परीक्षण गराउन नआएर त हो । संक्रमितको दरले केही मान्यता राख्ला तर म के भन्छु भने संक्रमितभन्दा पनि मृत्युको प्रतिशत महत्वपूर्ण लाग्छ । किनभने कोही मानिसहरु जटिल भयो भने घरमा भन्दा अस्पताल आउन चाहन्छ । कति प्रतिशत मृत्यु भयो भन्ने त्यसबाट देखिन्छ । तर कोही मान्छे संक्रमित भयो भने सबै परिवारले परीक्षण गर्ने अवस्था छैन । कोही मलाई केही भएको छैन, सामान्य केही मात्रै भएको भनेर परीक्षण गराउँदैनन् । उता मृत्युचाहिँ बाध्यता हो । उसलाई संक्रमणले च्यापेर अस्पताल पुग्न बाध्य बनाएको हुन्छ ।’

‘टेकुमा अक्सिजनको अभाव छैन’
उहाँले अहिले टेकु अस्पतालमा अक्सिजनको अभाव नरहेको पनि बताउनुभयो । तत्काललाई अक्सिजन अभाव नभए पनि अलिक पछिको लागि भने यही अवस्था हुन्छ भनेर अहिले भन्न नसकिने उहाँको भनाइ छ । त्यस्तै टेकु अस्पतालमा अहिले कोरोना संक्रमितको चाप पनि कम हुदै गएको उहाँले बताउनुभयो ।‘अहिलेको लागि अक्सिजन अभाव छैन,’ उहाँले भन्नुभयाे, ‘तर बिरामीलाई निरन्तर अक्सिजन चाहिने भएकोले आगामी दिनमा के हुन्छ भनेर भन्ने अवस्था भने छैन ।’

निषेधाज्ञालालई पूर्ण पालना गर्न सके कोरोना संक्रमणको स्थिति घट्ने तर हेलचेक्य्राइँ गरे कोरोनाको सानो रहेको चक्रले पनि फेरि तहसनहस पार्न सक्ने हुँदा सबै सचेत रहन उहाँ अनुराेध गर्नुहुन्छ । गत वर्ष पनि लकडाउन लामो समय गरिएकोले केही हदसम्म नियन्त्रणमा आएको तर पछि यस्तो अवस्था आएको बताउँदै फेरि लापरबाही नहोस् भन्ने चाहना आफूमा रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७८ जेष्ठ ८ गते शनिवार