• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

योगेश-गगन संवाद जसले जोडेको थ्यो नेपाल पक्ष लाई देउवा संग


काठमाडौं नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल विपक्षी मोर्चामा सामेल भएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली
आक्रोशित भएका छन् । नेपाल पक्षका ११ जना नेता लाई थप स्पष्टीकरण पनि सोधिएको छ । त्यो स्पष्टीकरण मा नेपाल पक्षमा फ्रन्टलाइन मा

देखिएका योगेश भट्टराई लगायतको नाम छैन ।तर, ओलीले स्पष्टीकरण सोध्न छुटाइएका योगेश भट्टराईले नै माधव नेपाललाई काँग्रेस नेतृत्वको मोर्चामा पुर्याउने सूत्रधारका रुपमा काम गरेको पाइएको छ ।अल्पमतका प्रधानमन्त्री ओलीले वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गर्न भन्दै विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरे । सोही दिन राष्ट्रपति भण्डारीले २१ घण्टाको समयसीमा तोकेर संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिन् ।राष्ट्रपतिको उक्त आह्वान ओलीलाई फेरि प्रधानमन्त्री बनाएर मुलुकलाई निर्वाचनतिर धकेल्ने सेटिङसहित आएको बुझ्न गाह्रो थिएन । विपक्षी दल नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षको बुझाइ पनि त्यही थियो । तर, त्यसलाई परास्त पार्ने ल्याकत उनीहरुसँग थिएन ।जसपाको महन्थ ठाकुर पक्ष ओलीको कित्तामा उभिएकाले विपक्षीका लागि बहुमत जुटाउन एमालेकै माधव नेपाल पक्षको साथ अनिवार्य थियो ।

एमालेको माधव नेपाल पक्ष ओलीलाई सत्ताच्युत गर्ने दाउमा थियो । सोही मिसनका साथ शुक्रबार (जेष्ठ ७ गते) बिहानै माधव नेपाल पक्षका नेता योगेश भट्टराई ओलीको विकल्पको खोजीमा लागे । र, काँग्रेसका नेता गगन थापालाई फोन घुमाए । योगेश र गगनबीच फोन संवाद भयो ।केपी ओलीको विकल्पमा माधव नेपाललाई प्रधानमन्त्री बनाएर जान सकिन्छ कि ? भन्ने प्रस्ताव योगेशले थापासँग राखे ।थापाले त्यसो गर्न सकिने तर मिहिनेत गर्नुपर्ने बताए । थापाले म व्यक्तिगतरुपमा तयार छु र अरु नेताहरुसँग कुराकानी गर्छु भन्दै माधव नेपाल पक्षले पनि शेरबहादुर देउवाको विकल्प पनि खुला राख्नुपर्ने प्रस्ताव गरे ।

योगेशले गगनलाई भने, ‘शेरबहादुर देउवाको विकल्पमा पनि हामी तयार छौं । तर, शेरबहादुर भन्दा माधव नेपाललाई प्रधानमन्त्री बनाउँदा हाम्रो पक्षमा बढी सांसद आउँछन् र सरकार बनाउन सजिलो हुन्छ ।’योगेशको प्रस्तावपछि गगनले काँग्रेस महामन्त्री पूर्णबहादुर खड्कालाई फोन गरे । खड्का पनि ओलीको विकल्प खोज्न जस्तोसुकै निर्णय उठाउन व्यक्तिगत रुपमा तयार भए ।लगत्तै गगनले आफू पक्षीय नेता कृष्णप्रसाद सिटौलालाई पनि सोही कुरा जानकारी गराए । त्यतिखेरसम्म शुक्रबार विहान १० बजिसकेको थियो । थापाको टेलिफोन संवादपछि सिटौला पदाधिकारी बैठकमा सहभागी हुन देउवानिवास बूढानीलकण्ठतिर लागे ।थापाले नेता अर्जुननरसिंह केसीलाई पनि योगेशको प्रस्ताव सुनाए ।

दाँत दुखेको भन्दै पदाधिकारी बैठकमा नगएका केसी पनि त्यसपछि बूढानीलकण्ठ हानिए ।योबीचमा एमालेको नेपाल पक्षले काँग्रेसका अन्य नेताले पनि संवाद गरिरहेका थिए । नेता थापा आफैंले नेपाल पक्षका घनश्याम भुसालसँग पनि संवाद गरे ।ओलीको विकल्पमा नयाँ प्रधानमन्त्रीका लागि प्रयत्न गर्ने कुरा सकारात्मक भएको भन्दै भुसालले पनि आफ्नोतर्फबाट थप प्रयत्न गर्ने जनाए । रघुजी पन्तसँग पनि कुरा गर्न गगनले महामन्त्री खड्कालाई भने ।

काँग्रेस महामन्त्री खड्का र नेपाल पक्षका नेता रघुजी पन्तबीच पनि संवाद भयो । दिनको ११ बजेसम्म नेपाल पक्षमा २०÷२२ जना सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सहयोग गर्छन् भन्ने विश्वासको आधार बन्यो । त्यतिञ्जेल काँग्रेसको पदाधिकारी बैठक सकियो । लगत्तै माओवादी केन्द्र, माधव नेपाल पक्ष र उपेन्द्र यादव पक्षबीच देउवा निवासमा संयुक्त बैठक बस्यो ।

काँग्रेस पदाधिकारी बैठक सकिएको आधा घण्टा नबित्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा देउवा निवास पुगे । त्यसको केही मिनेटमै माधव नेपाल पनि देउवा निवास पुगे । जसपाबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव र इस्तियाक राई बूढानीलकण्ठ पुगे । विपक्षीको संयुक्त बैठक सुरु भयो ।बैठक सुरु भएको आधा घण्टापछि एमाले नेता भीम रावल देउवा निवासमा छिरे । रावल बैठकमा सहभागी भएको १५ मिनेटमै बैठक सकियो । बैठकले ओलीको विकल्प दिन विभिन्न विकल्पमा छलफल गरेको नेताहरुले बताएका छन् ।

तर, विकल्प भने खुलाएनन् ।त्यसपछि नेताहरु काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारतिर हानिए । त्यहाँ उपेन्द्र यादव र बाबुराम भट्टराई पनि जोडिए । नेताहरु आ–आफ्नो सांसदको हस्ताक्षर जुटाउन लागे । त्यतिबेलासम्म नेपाल पक्षमा माधव नेपाल र भीम रावल बाहेकलाई प्रधानमन्त्रीको उम्मेदवार देउवा कि नेपाल भन्ने जानकारी थिएन । यसको खुलासा आइतबार संसद भवनमा नेपाल पक्षका सांसद सोमप्रसाद पाण्डेले गरेका थिए ।

माधव नेपालको साटो देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरेपछि योगेशले हस्ताक्षर फिर्ता मागेको रहस्य खुलेको छ । यसबारे सोमप्रसाद पाण्डेले रातोपाटीसँग भने, ‘माधव नेपाललाई प्रधानमन्त्री बनाउने भए हस्ताक्षर गर्छु भनेर उहाँ (योगेश) ले हामीसँग भन्नुभएको थियो । प्रधानमन्त्रीमा देउवाजीलाई प्रस्ताव गर्ने बेलामा उहाँ आइपुग्नुभएन ।’

सुरुमा आफूहरु सबैले माधव नेपाल नै प्रधानमन्त्री बन्छन् भनेर हस्ताक्षर दिएको पाण्डेले बताए । पछि माधव नेपालको ठाउँमा शेरबहादुर देउवाको नाम आयो भनेर जानकारी गराइएको उनको भनाइ छ । उनी भन्छन्, ‘हामीले हाम्रो हस्ताक्षर फिर्ता मागेनौँ । हामीले हस्ताक्षर गरेका त माधव नेपाललाई नै प्रधानमन्त्री बनाउनका लागि हो । तर शेरबहादुर देउवाको नाम प्रस्ताव गरे पनि हामीले स्वीकार गर्यौं ।’

शीर्ष नेताहरुको आन्तरिक सल्लाहमा काँग्रेस सभापति शेरबहादुर देउवाको नाम प्रस्तावित भएकाले हस्ताक्षर फिर्ता नमागेको पाण्डे बताउँछन् । सूत्रहरूको दाबीअनुसार चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने गरी आलोपालो प्रधानमन्त्रीको सहमति भएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १० गते सोमवार