• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

अझै ओलीले स्पेस दिए एमालेमै फर्कने गोकर्ण विष्ट को चाहना


काठमाडौं । नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयासरत रहेको बताएका छन् । बिहीबार नेता
बिष्टले ट्वीट गर्दै नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरूलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन

अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने उल्लेख गरेका हुन् । बुधबार माधव नेपाल पक्षीय १५ नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालेका असंवैधानिक कदम विरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य रहेको विज्ञप्तिमा हस्ताक्षर गरेका विष्टले ०७५ जेठ २ मा फर्किएर पार्टी एकता गर्ने बारेमा आफूहरू अन्तिम समयसम्म तयार रहेको स्पष्ट पारेका हुन् ।एमालेमा नेपाल समूहले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार पार्टी र संगठनलाई २ जेठ २०७५ को स्थितिमा सञ्चालन गर्नुपर्ने माग गर्दै आएको छ । अध्यक्ष ओलीले महाधिवेशनबाट निर्वाचित नेताहरुलाई जिम्मेवारीमुक्त गर्नुका साथै पार्टी सदस्य नै नभएकाहरुलाई जिम्मेवारी दिने जस्ता अवैध निर्णय गरेको भन्दै नेपाल समूहले समानान्तर कमिटीहरु बनाएको छ ।

संसद विघटन विरुद्धका रिटहरुको सुनुवाइ आज
संसद विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेका रिटहरुको सुनुवाइ विहीबार हुँदै छ ।सर्वोच्च अदालतका अनुसार अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ विहीबार (आज) हुन लागेको हो ।

संवैधानिक इजलासमा सुनुवाइको माग गरिएका ११ रिटको भने जेठ १४ गते शुक्रबारका लागि पेशी तोकिएको छ ।सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्ति हुने आधार नरहेको भन्दै संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यसविरुद्ध ३० वटा रिट दर्ता भएका छन् ।

संसद विघटन असंवैधानिक भएको जिकीर गर्दै र धारा ७६(५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै विपक्षी गठबन्धनका १४६ जना सांसदले पनि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।गत जेठ ७ गते मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते निर्वाचनको मिति तोकिएको छ ।

प्रकाशित मिति : २०७८ जेष्ठ १३ गते बिहिवार