• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

मन्त्रिपरिषदलाई पूर्णता : खगराज गृहमन्त्री, सञ्चारमा बादलपत्नी नैनकला


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । सत्तारुढ नेकपा एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री
नियुक्त गरेका ओलीले जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षबाट एक मन्त्री बनाइएका छन् ।यससँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

२५ सदस्यीय मन्त्रिपरिषद्मा तीन उपप्रधानमन्त्री छन् भने १८ मन्त्री र तीन राज्यमन्त्री भए ।
गृहमा खगराज
एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले खगराज अधिकारीलाई गृहमन्त्री नियुक्त गरेका छन् । २०७४ मा कास्कीबाट निर्वाचित खगराज सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे । तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।तर प्रधानमन्त्री ओलीको पक्षमा उनी संसदमा विपक्षीमाथि खरो ढंगले प्रश्न उठाउँथे । सरकार, संसद र पार्टीमा जिम्मेवारी नदिएपछि उनले असन्तुष्टि जनाउँदै आफूलाई पोखरा महानगरपालिका ३१ को वडा कमिटीमा राख्न माग गरेका थिए ।तर बिहीबार मन्त्रिपरिषद् विस्तार गर्दा उनले गहृमन्त्रीको जिम्मेवारी पाएका छन् । रघुवीर महासेठलाई उपप्रधान तथा परराष्ट्रमन्त्री बनाएपछि एमालेका सिनियर नेताहरु मन्त्री बन्ने सम्भावना टरेको थियो । जुनियरबाट मन्त्री बनाउँदा गृहमा अधिकारी र महेश बस्नेतको दाबी थियो । बस्नेतलाई उछिनेर अधिकारी मन्त्री बने ।

सञ्चारमा बादल पत्नी नैनकला
विस्तारित मन्त्रिपरिषद्मा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।५ पुसको संसद विघटन गर्दा साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आफूलाई साथ दिएका पूर्व माओवादी केन्द्र खोमाका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर चौधरी र दावा लामालाई प्रधानमन्त्री ओलीले १० पुसमा मन्त्री बनाएका थिए । गृहमन्त्री बादलसँगै लेखराज भट्ट पनि मन्त्री नै थिए ।

२३ फागुनमा सर्वोच्चले एमाले र माओवादी ब्यूँताएपछि पनि बादलसहितका नेताहरु ओलीतिर लागे । माओवादी केन्द्रले कारबाही गरेपछि उनीहरुको संसद पद गयो । तर प्रधानमन्त्री ओलीले संविधानको धारा ७८ अनुसार उनीहरुलाई पुनः मन्त्री नियुक्त गरे ।२७ वैशाखमा संसदको विश्वास गुमाएका प्रधानमन्त्री ओली ३१ वैशाखमा संसदको सबभन्दा ठूलो दलको नेताका हैसियतमा प्रधानमन्त्री नियुक्त भए । उनले अघिल्लो क्याबिनेटका सबै मन्त्रीलाई दोहो¥याए । तर सर्वोच्चले ६ जेठमा संविधानको धारा ७८ अनुसार भएका बाललसहितका ७ मन्त्रीलाई पदपुक्त गरिदियो ।उनीहरुको माग फेरि आफूहरुलाई नै मन्त्री नियुक्त गरियोस् भन्ने थियो । तर प्रधानमन्त्रीले सर्वोच्चको आदेशका कारण नमिल्ने बताएपछि मन्त्रीमा नैनकलाको इन्ट्री भएको एक पूर्व मन्त्री बताउँछन् । उनले भने, ‘हाम्रो लिगेसी रहोस् भनेर उहाँलाई मन्त्री बनाएका हौं ।’

अरु कोको भए मन्त्री ?
प्रधानमन्त्री ओलीले एमालेबाट नादरमुनी रानालाई वनमन्त्री बनाएका छन् । कैलाली ५ मा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणालाई हराएर प्रतिनिधसभा सदस्यमा निर्वाचित रानालाई मन्त्री बनाउनुपर्ने दबाव प्रधानमन्त्री ओलीमाथि थियो ।

एमालेबाट गशेण पहाडी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । माधवकुमार नेपाल समूहमा पनि योगेश भट्टराई निकट मानिएका उनले पछिल्लो पटक प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट हाल्दा हस्ताक्षर गरेनन् । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले जेठ २ मा फर्किने सार्वजनिक प्रतिवद्धता जनाएकाले आफू मन्त्री हुन तयार भएको नवनियुक्तमन्त्री पहाडीले अनलाइनखबरलाई बताए ।

एमाले नेता मोहन वानियाँलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मन्त्री बनाइएको छ भने पूर्व माओवादी केन्द्र खेमाबाट ज्वालाकुमारी साह कृषिमन्त्री बनेकी छन् । प्रदेश २ को प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित उनी एमाले प्रवेश गरेपछि पदमुक्त भएकी थिइन् ।
यस्तै जसपाको महन्थ ठाकुर पक्षबाट राजकिशोर यादव उद्योगमन्त्री बनेका छन् । जसपाको ठाकुर पक्ष ७ जेठमा ८ मन्त्री र दुई राज्यमन्त्री लिएर सरकारमा गएको थियो ।

एमालेकी आशा विक वनराज्यमन्त्री बनेकी छन् ।

प्रकाशित मिति : २०७८ जेष्ठ २७ गते बिहिवार