• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

एमाले एकतान्मुख: देउवा र प्रचण्ड द्वारा भाँजो हाल्ने प्रयास


काठमाडौं : पछिल्लो समय पुनः नेकपा एमाले एकतान्मुख भएको छ।तीन प्रदेशमा एमाले एक ढिक्का भएका छन्। प्रदेश १,बागमती
र लुम्बिनी प्रदेशमा मिलेर नै नीति तथा कार्यक्रम पास गरेका छन्।गण्डकी प्रदेशमा दुवैपक्ष एकजुट भएर विपक्षी गठबन्धन विरुद्ध सामना गरेका छन्।

यता दोस्रो तहका नेता पनि आन्तरिक छलफलमा जुटेका छन्। संस्थापन पक्ष र माधव नेपाल पक्ष नेता आ–आफ्नै समूहभित्र आन्तरिक छलफलमा जुटेका छन्। बालुवाटारमा महासचिव ईश्वर पोखरेल, स्थायी समिति सदस्य सुवास नेम्वाङ, विष्णु पौडेल र प्रवक्ता प्रदीप ज्ञवालीबीच आन्तरिक छलफल भएको छ भने मध्यमार्गी नेता सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्यबीच पनि आन्तरिक छलफल भएको छ। आन्तरिक छलफलमा सहमति कायम गरेर दुवै पक्षलाई एक ठाउँमा ल्याउने उनीहरूको प्रत्यन्त जारी छ। पार्टीको छिट्टै स्थायी समितिको बैठक बोलाएर सामूहिक छलफल गर्ने पनि निर्णय भएको छ। स्थायी समितिको बैठकको मिति भने तोकि नसकिएको स्थायी समिति सदस्य सुवास नेम्बाङ बताउँछन्। एकताको प्रयास सकारात्मक रूपमा अगाडि बढिरहेको दुवै पक्षका नेताको भनाइ छ।

सोमबार नै एमाले नेता वामदेव गौतम र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलबीच छलफल भएको छ। नेता गौतमले छिटोभन्दा छिटो नवौं महाधिवेशनबाट निर्वाचित पुरानै पदाधिकारी र स्थायी कमिटीको बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओलीसँग माग गरेका छन्। अध्यक्ष ओलीले पनि पार्टी जेठ ३ पूर्वको अवस्थामा फर्काउन सहमत भई एकताको प्रस्ताव ल्याइसकेका छन्। अध्यक्ष ओलीले देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा पेस भएको रिट निवेदन फिर्ता गर्ने सर्त राखेका छन्। नेपाल पक्षले भने विघटनको निर्णय नै फिर्ता गर्नुपर्ने प्रस्ताव राखेको छ। दोस्रो तहका नेता दुवै मिलनविन्दुको खोजी गरेर पार्टी एकतामा गम्भीर भएर लागिरहेका छन्।

युवा नेता निरज आचार्य पछिल्लो समयमा पार्टी एकताका लागि सकारात्मक संकेत देखिन थालेको बताउँछन्। नेपाल, देउवा र प्रचण्डसँग दोस्रो तहका नेताहरूले एकताको ठोस प्रस्ताव तयार गर्न लागेका बेला माधवकुमार नेपाल विपक्षी गठबन्धनसँग छलफलमा केन्द्रित छन्। सोमबार मात्रै नेपाल निवास कोटेश्वरमा नेपाल कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छलफलमा जुटेका छन्। प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा एमाले एकढिक्का भएपछि देउवा र प्रचण्ड नेपाल निवास पुगेका हुन्।माधव पक्षले विपक्षी गठबन्धनलाई केन्द्रमा सहयोग गर्दै आएको छ। तीन प्रदेशमा एमालेकै संस्थापन पक्षलाई सहयोग गरेपछि विपक्षी गठबन्धनमा खैलाबैला भएको छ।

नेपाल नै पेरिसडाँडा र देउवा निवास बूढानीलकण्ठ धाउँदै आएका थिए। तर, नेपाल पक्षको पछिल्लो गतिविधिले देउवा र प्रचण्डलाई नेपाल निवासमा तानेको छ।पछिल्लो दिनमा प्रदेश १ का माधव पक्षका नेता भीम आचार्य पार्टी एकतामा सक्रिय भएसँगै एमालेको प्रदेशमा एकताको संकेत देखिन थालेको छ। आचार्यकै अगुवाईमा प्रदेश १, बागमती र लुम्बिनीमा एकढिक्का भएर नीति तथा कार्यक्रम पास भएको छ।देउवा, प्रचण्ड र नेपालको भेटपछि पनि सुदूरपश्चिममा एकतालाई खलबलाउने प्रयास भएको छ। सुदूरपश्चिममा ओली पक्षका सात प्रदेशसभा सदस्यलाई निलम्बन गर्ने निर्णय गरिएको छ। सुदूरपश्चिममा नेता भीम रावलको पकड छ। उनी पार्टी एकताको पक्षमा अनुदार रहँदै आएका छन्।

कर्णालीमा हटाइएका चार सांसदलाई सर्वोच्च अदालतले पुनर्वाहाली गरिदिएपछि त्यहाँ पनि एमाले एक हुने अवस्थामा पुगेको छ। एमाले एक भएमा कर्णाली प्रदेशमा एकल सरकार बन्ने सम्भावना छ। ४० सदस्यीय प्रदेश सभामा एमालेको एक्लै २० सिट छ। नेता निरज आचार्य भन्छन्, ‘पार्टी मिल्यो भने कर्णालीमा एमालेको सरकार बन्ने विषयलाई कुनै ताकतले रोक्न सक्दैन।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार