• २०८१ कार्तिक १५ गते बिहिवार
  • Preeti To Unicode

प्रदेश २ : उपेन्द्र यादव पक्षकै मुख्यमन्त्री र अर्थमन्त्रीबीच यस्तो विवाद


प्रदेश २ को सरकारमा मुख्यमन्त्री र अर्थमन्त्रीबीचको टकराव जनता समाजवादी पार्टी नेपालका लागि टाउको दुखाइको विषय बनेको छ ।त्यसो त, जसपा अहिले दुई धारमा विभाजित देखिन्छ तर ती दुई धारमध्ये उपेन्द्र यादव पक्ष प्रदेश २ को सरकारमा छ भने अर्को पक्ष सरकारबाट

बाहिरिएको छ । उपेन्द्र यादवकै पक्षका मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादवबीच व्यक्तित्वको टकरावका कारण प्रदेश सरकार फेरि अस्थिरतातर्फ धकेलिने हो कि भन्ने चिन्ता बढेको हो ।मुख्यमन्त्री राउत र मन्त्री यादवबीचको अन्तरद्वन्द्व मिलाउन पार्टी अध्यक्ष उपेन्द्र यादवले पटकपटक प्रयास नगरेका होइनन् तर पनि समस्या समाधान हुन सकेको छैन । पछिल्लो समय यी दुवैजनाको अन्तरद्वन्द्वले पार्टी तथा सरकारलाई असर पुग्ने देखेर अध्यक्ष यादव तीनदिन जनकपुरमै रहेर सहमतिको प्रयास गरे ।उनले दुवै नेताबीचको विवादलाई थामथुम पार्ने प्रयास गरे पनि समस्या उस्तै रहेको जानकारहरु बताउँछन् । मुख्यमन्त्री राउत र मन्त्री यादव दुवैजना जसपाका कार्यकारिणी सदस्य हुन् । पार्टीभित्र दुवैले एक अर्कालाई प्रतिस्पर्धीका रुपमा लिने गरेका छन् ।

प्रदेश २ सरकार गठन भएदेखि नै दुई नेताका बीच व्यक्तित्वको टकराव सुरु भएको थियो । यी दुवै नेता मुख्यमन्त्रीको दावेदार थिए तर अन्ततः राउतले बाजी मारे । स्रोतका अनुसार त्यतिबेला राउत र यादवलाई आधाआधा कार्यकाल सरकारको नेतृत्व दिने भद्र सहमति भएको थियो । तर आधाभन्दा बढी समय बित्दा पनि आफूलाई मुख्यमन्त्री नबनाइएको भन्दै यादव असन्तुष्ट हुन थालेका छन् ।एक वर्षअघि समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएपछि सरकार हेरफेरको चर्चा चलेको थियो । यस्तो चर्चासँगै मन्त्री यादवले आफू मुख्यमन्त्री बन्न पाउनुपर्ने दाबी गरेका थिए । उनले संसदका बहुमत सदस्यको मत आफ्नो पक्षमा पार्ने प्रयाससमेत गरेका थिए ।

त्यसका लागि उनले सुरुदेखि नै सांसदहरुलाई बजेटमा कार्यक्रम पार्ने, क्षेत्रमा बजेट मिलाइदिने जस्ता काम गर्दै आइरहेका थिए । पछिल्लो समय जसपा नेपालमा विवाद उत्पन्न भएपछि पनि प्रदेश २ जसपा संसदीय दलको नेता बन्न यादवले सक्दो प्रयास गरेका थिए । आफ्नो पक्षबाट सांसदहरुको हस्ताक्षर संकलन समेत गरिसकेका थिए ।तर पार्टीले पुनः लालबाबु राउतलाई नै संसदीय दलको नेता बनाएर मुख्यमन्त्रीमा निरन्तरता दिएपछि विजय यादव निरास बनेका थिए । जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई हटाएर काँग्रेसलाई सरकारमा ल्याएपछि विजय यादव थप असन्तुष्ट बनेको चर्चा छ ।

सुरुदेखि नै मुख्यमन्त्री राउतलाई असहयोग गर्दै आएका उनी पछिल्लो हेरफेरमा पनि आफूलाई मुख्यमन्त्री नबनाइएको भन्दै सरकारमा पुरै असहयोग गर्न थालेको चर्चा मधेस भवनमा व्याप्त छ ।यहाँसम्म कि बजेट ल्याउँदा अर्थमन्त्रीका हैसियतले विजय यादवले मुख्यमन्त्री राउतसँग कुनै सल्लाह नगरेको बताइन्छ । बजेट ल्याउनुभन्दा अघि सरकार प्रमुखलाई बजेट वक्तव्य अध्ययन गर्न दिने चलन रहे पनि अर्थ मन्त्री यादवले सिधै प्रदेशसभामा गएर बजेट पढेर सुनाएको मुख्यमन्त्री पक्षधर नेताको भनाइ छ ।

एउटै पार्टीका भएका कारण राउतले यो कुरालाई गम्भीर रुपमा नउठाएको उनी निकट एक प्रदेशसभा सदस्यले बताए । उनले भने, ‘मन्त्री विजय यादवले मुख्यमन्त्रीजीसँग जे व्यवहार गर्नुभएको छ, त्यो शोभनीय छैन, यदि मुख्यमन्त्रीले चाहेको भए धेरै कुरा हुन्थ्यो तर उहाँ आफ्नै पार्टीको नेता भनेर सबै सहेर बसिरहनुभएको छ ।’

अर्थमन्त्री विजय यादवले मुख्यमन्त्री राउतकै चासोका थुप्रै बजेटहरु काटेको बताइन्छ । प्रदेश सरकारको कानुनी सल्लाहकार मुख्यन्यायधिवत्ता दीपेन्द्र झाको जिल्ला तथा क्षेत्रका लागि बजेटमा थुप्रै कार्यक्रम राखिएकोमा ती सबैलाई बजेटमा हटाइएको चर्चा छ । मुख्यन्यायाधिवक्ता झाले जे भन्छन्, राउतले त्यही मान्ने भएका कारण पनि अर्थमन्त्री यादवले बजेटमा कैँची चलाएको जानकारहरु बताउँछन् ।

यद्यपि जसपाका प्रदेशसभा सदस्य संजय यादवले मुख्यमन्त्री राउत र अर्थमन्त्री विजय यादवको बीचमा कुनै विवाद नरहेको दावी गरे । उनले भने, ‘दुवैजनाको सल्लाहमै प्रदेश सरकार सञ्चालन भइरहेको छ, दुईजनाको बीचमा विवाद रहेको कुरा विपक्षीहरुले उचालेको मात्र हो ।

प्रकाशित मिति : २०७८ असार १९ गते शनिवार