• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

सकियो कार्यदलको बैठक : बैठक पछि भीम रावल को प्रतिक्रिया यस्तो …


नेकपा एमालेको विवाद मिलाउन गठित १० सदस्यीय कार्यदलको बैठक सकारात्मक बनेको नेताहरूले बताएका छन् । बैठकपछि माधव नेपाल पक्षीय कार्यदलका संयोजक भीम रावलले भोलिदेखि पार्टी मिलाउन घनीभूत ढङ्गले लागिपर्ने बताए । आजको बैठकले भोलि १ बजे पुनः

बैठक बस्ने सहमति गरेको छ । ​बैठकपछि रावलले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै भोलिदेखि निरन्तर बसेर पार्टी विवाद समाधान गर्ने प्रयास गरिने बताए । ‘कार्यदललाई निरन्तर बढाउने बारे छलफल भयो, आज मूल विषयमा प्रवेश गरेनौँ’, उनको भनाइ छ, ‘आन्तरिक विषयमा समाधानका लागि प्रयत्न गर्न भोलि बैठक पुनः बस्ने तय भएको छ ।

यस्तै नेपाल पक्षीय अर्का नेता गोकर्ण विष्टले बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र पार्टी एकताका लागि आशावादी हुने ठाउँ देखिएको प्रतिक्रिया दिए । विष्टले औपचारिक रूपमा कसरी विवाद टुङ्गो लगाउन सकिन्छ भनेर दुवै पक्षबीच सकारात्मक ढङ्गले छलफल सुरु भएको पनि बताए ।

कार्यदलमा अध्यक्ष ओली पक्षका संयोजक सुवास नेम्वाङ छन् भने माधव नेपाल पक्षका संयोजक भीम रावल छन् । सदस्यहरूमा ओली पक्षका विष्णु पौडेल, शङ्कर पोखरेल, विष्णु रिमाल र प्रदीप ज्ञवाली छन् भने नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् ।

कार्यदल सक्रिय भएसँगै एमालेको दुई पक्षबीचको विवाद मिलाउन पहल हुनेछ ।

एमाले विवाद : नयाँ शिराबाट समाधान खोज्न कार्यदलमा सहमति
सिङ्गो एमालेका पक्षपातीहरूमा आशाको दियो बलेको छ : नेम्वाङ
नेकपा एमालेको विवाद समाधान गर्न गठित १० सदस्यीय कार्यदलको बैठकले अहिलेसम्म भएका अनौपचारिक छलफलबारे पुनरावलोकन गरेको छ । साथै,कार्यदलका सदस्यहरूबीच विवाद समाधानका लागि नयाँ शिराबाट अघि बढ्ने सहमति पनि भएको छ ।

योसँगै अव एमालेका दुई पक्षले भन्दै आएको जेठ २, प्रतिनिधि सभा विघटन, हस्ताक्षर फिर्ता लगायतका विषय नउठाउनेमा नेताहरु सहमति नजिक पुगेका छन् । यसअघि ओली पक्षले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भन्दै गरेको हस्ताक्षर फिर्तालाई बटम लाइन बनाएको थियो भने माधव नेपाल पक्षले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै गल्ती स्वीकार्नुपर्ने अडान राखेको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा परेको रिट निवेदनमाथिको बहस सोमबारै सकिएकाले पनि यो मुद्दामा नेताहरू अव प्रवेश गर्न नचाहेको बताइएको छ । योसँगै सर्वोच्चको फैसला जे आउँछ त्यो मान्न दुवै पक्ष तयार भएको बुझिएको छ । यसले नेकपा विवाद समाधानको दिशामा अघि बढ्ने एमाले नेता कार्यकर्तामा आशा बढेको छ ।

प्रकाशित मिति : २०७८ असार २१ गते सोमवार