• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु, सहमतिको मस्यौंदा पेश


काठमाडौं : नेकपा (एमाले)को विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरवारमा शुरु भएको छ। आज (बिहीवार) दिउँसो बसेको एमालेको कार्यदलको बैठकले साँझ फेरी बस्ने सहमति गरेको थियो। उक्त सहमति अनुसार सिंहदरवारमा वार्ता शुरु भएको अध्यक्ष

केपी शर्मा ओली समूहका तर्फबाट कार्यदलमा संयोजक रहेका नेता सुवास नेम्बाङले जानकरी दिए।चार दिनदेखि लगातार बैठक बसेको एमाले कार्यदलको चौथो बैठक सहमतिको नजिक पुगेको नेताहरुले बताएका थिए। उनीहरुका अनुसार एकताका लागि सहमतिको मस्यौदा बनेको र त्यसमा सहमति जुटाउन अहिले बैठक बसिरहेको हो।दिउँसो बसेको बैठकपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल दुवै समूह आन्तरिक गृहकार्यमा लागेका थिए। ओली-नेपालको बुधवार साँझ भएको मेरियट होटलको वार्ता सकारात्मक भएको नेताहरुले दाबी गरेका थिए।संसद विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्तालाई राजनीतिक विषय मानेर साझा धारणा बनाउने विषयमा सहमति भइसकेको कार्यदलका नेताहरुको भनाई छ। बाँकी रहेका विषयमा दुवै समूहका नेताहरुको आन्तरिक तयारीपछि नेताहरु वार्तामा जुटेका हुन्।

एकताको मस्यौंदा पेश हुने
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आज दोस्रो पटक बैठक बसेको हो । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच देखिएका विवाद समाधान गर्न कार्यदलको अहिलेको बैठकमा मस्यौदा पेश गरेर छलफल गर्ने नेताहरुले बताएका छन् । यसअघि आजै बिहान बसेको बैठकमा केही तयारी अपुग भएकाले दिनभर तयारी गरेर साँझ बस्नेगरी नेताहरु आन्तरिक परामर्शमा लागेका थिए ।

यो बीचमा नेताहरुले अध्यक्ष ओली र नेता नेपालसँग आ–आफ्नै ढंगले छलफल गरेका छन् । बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र भिम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ , प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल सहभागी रहेका छन् । कार्यदलका अर्का सदस्य विष्णु पौडेल भने मन्त्रिपरिषद बैठकमा सहभागी भएकाले बैठकस्थलमा आइसकेका छैनन् । नेताहरुका अनुसार आजको बैठकमार्फत पार्टी एकतालाई निष्कर्षमा पुर्याउने प्रयास हुनेछ ।

तर, नेताहरुबीच शक्तिको बाडफाँडमा कुरा मिलिनसकेकाले कार्यदलमा सहमति जुटे पनि शीर्ष नेताले त्यसलाई अनुमोदन गर्छन् गर्दैनन् भन्ने निश्चित भैसकेको छैन । बुधबार अध्यक्ष ओली र नेपालबीच भएको छलफलमा ठोस सहमति जुट्न नसकेपछि एमाले एकताबारे निश्चिन्त हुने अवस्था नरहेको कार्यदलकै कतिपय नेताहरुले बताएका छन् ।

प्रकाशित मिति : २०७८ असार २४ गते बिहिवार