• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

म अब विपक्षी गठबन्धनमा छैन, शेरबहादुरजी एकलौटी ढंगले नचल्नुहोला, हाम्रो पार्टीसँग पनि सरसल्लाह गर्नुस् : माधव नेपाल


काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले विपक्षी गठबन्धनबाट आफू बाहिरिएको बताएका छन्। विपक्षी ५ राजनीतिक दलको नेपाल निवासमा बसेको बैठकमा नेपालले अब गठबन्धनमा आफू नरहेको बताएका हुन्।परिस्थिति बद्लिएको र एमालेमा एकताको

वातावरण बनेकाले गठबन्धनमा आफू नरहने नेपालले बैठकमा बताएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले जानकारी दिए। उनले अहिलेसम्मको अवस्थामा सहकार्य भएको र त्यसैको परिणामस्वरुप नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने अवस्था सिर्जना भएको बताएका थिए।उनले देउवालाई सरकारमा गएर एकलौटी ढंगले नचल्न सुझाव दिएका छन्। आफूले विपक्षी गठबन्धनलाई धोका नदिएर बद्लिएको परिस्थिति अनुसार चलेको नेपालको भनाइ थियो।‘विभाजित अवस्थामा थियो हाम्रो पार्टी अहिले मिल्ने अवस्थामा पुगेको छ। म सधैँ लोकतन्त्रको पक्षमा छु। शेरबहादुर देउवा प्रधानमन्त्री हुने भएकाले जनताका समस्या समाधान गर्नुस्। एकलौटी ढंगले नचल्नुस्। हाम्रो पार्टीसँग पनि सरसल्लाह गरेर अलि फराकिलो ढंगले सरकार बनाउनुस्। एकलौटी ढंगले चल्ने कुराको म जहिले विपक्षमा छु भन्नुभयो,’ नेपाललाई उदृत गर्दै पन्तले भने।

बालुवाटार पुगेका भीम रावलले गरे स्थायी कमिटी बैठक बहिष्कार, ‘सहमति पत्र बुझाउन आएको हुँ, बैठकबारे जानकारी छैन’
नेकपा एमालेका उपाध्यक्ष तथा विवाद समाधानका लागि गठित कार्यदलका संयोजक भीम रावल स्थायी कमिटीको बैठकमा सहभागी नभएरै निस्किएका छन्। बालुवाटारमा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक बसिरहेको भए पनि रावल भने सहभागी नभएरै निस्किएका हुन्।

आफू कार्यदलले तयार पारेको १० बुँदे सहमति पत्र हस्तान्तरण गर्न आएकाले बैठकमा सहभागी नभएको रावलले बताए।‘अध्यक्षलाई सहमति पत्र हस्तान्तरण गर्न आएको थिएँ, अब म आफ्नो गन्तव्यतिर लाग्दै छु,’ रावलले भने।उनले आफू बैठकमा सहभागी हुन नआएकाले बैठकबारे कुनै जानकारी नभएको बताए। उनले ओलीलाई भेटेर सहमति अनुसार एमालेको एकता कायम राख्न आग्रह गरेका थिए।

बालुवाटारमा बसिरहेको एमालेको बैठकलाई वरिष्ठ नेता माधव कुमार नेपाल समूहले बहिष्कार गरेको छ। नेपाल कोटेश्वरमा भइरहेको विपक्षी ५ राजनीतिक दलको गठबन्धनको बैठकमा सहभागी भएका छन्। नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि गरेको आफू पक्षीय २३ जना सांसदको हस्ताक्षर फिर्ता नहुने अडान लिँदै आएका थिए।

प्रकाशित मिति : २०७८ असार २८ गते सोमवार