• २०८१ कार्तिक १७ गते शनिवार
  • Preeti To Unicode

महान्यायाधिवक्ता खातीलाई आफ्नो उपस्थितिमा शपथ गराउन राष्ट्रपतिद्वारा अस्वीकार


काठमाडौँराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो उपस्थितिमा महान्यायाधिवक्ता खम्मबहादुर खातीलाई उपपस्थित गराउन अस्वीकार गरेकी
छन्।राष्ट्रपतिले आफ्नो उपस्थितिमा राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्तालाई शपथ गराउन अस्वीकार गरेपछि सर्वोच्च अदालतमा नै शपथ हुने भएको छ।

सरकारको सिफारिसमा खातीलाई राष्ट्रपतिले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् । तर शपथमा भने उनी उपस्थित हुन नमानेकी हुन् ।राष्ट्रपतिले आफ्नो उपस्थितिमा शपथ गराउन नमानेपछि सवा २ बजे सर्वोच्च अदालतमा नै शपथ गराउने तयारी भएको छ ।महान्यायाधिवक्तालाई राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले पद तथा गोपनियताको शपथ गराउने अभ्यास छ । तर, यसपटक भने राष्ट्रपतिले उक्त अभ्यास तोडेकी हुन् ।महान्यायाधीवक्ता खातीले आफू राष्ट्रपति, सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको र राष्ट्रपतिबाटै नियुक्ति गरिएको हुँदा शपथ पनि विगतको अभ्यास अनुसार हुनुपर्ने अडान लिएका थिए । तर राष्ट्रपति कार्यालयले भने सर्वोच्चलाई नै परिपत्र गरिएकोले उतै शपथ लिन र राष्ट्रपतिलाई भेट्ने भए आउन भनेको स्रोतले बतायो ।

यसअघिका महान्यायाधीवक्ता रमेश बडाललाई भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राष्ट्रपति कार्यालयमा नै शपथ गराएका थिए ।यसअघि वैशाखमा कोरोना संक्रमणको कारण देखाउँदै न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको शपथ पनि सर्वोच्च अदालतमा नै गरिएको थियो । गत वैशाखमा राष्ट्रपतिले कोरोना संक्रमण फैलिने भन्दै न्यायाधीशको शपथमा उपस्थित हुन नसकिने बताएकी थिइन् ।

बैठक रोक्न र दशबुँदे अनुसार अघि बढ्ने नेपाल पक्षको प्रस्ताव ओलीले मानेनन्
काठमाडौं । एकपक्षीय रुपमा बोलाएको स्थायी कमिटी बैठक रोक्न र दशबुँदे सहमतिअनुसार अगाडि बढ्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन् ।

अध्यक्ष ओलीले शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका छन् । तुलसीलाल प्रतिष्ठान, च्यासलमा बिहान साढे ११ बजेतिर शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका थिए । तर बैठक चलिरहँदा पार्टीमा एकताका लागि १०बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा आइपुगेका थिए ।कार्यदलमा नेपाल पक्षका संयोजक समेत रहेका उपाध्यक्ष भीम रावलका अनुसार अध्यक्ष ओलीले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्र बोल्न पाउने बताएका थिए । तर आफूले कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि अध्यक्ष ओलीले समय दिएका थिए ।

बैठकमा रावलले कार्यदलले गरेको सहमतिअनुसार अघि बढ्न र बैठक रोक्न आग्रह गरेका छन् । उनका अनुसार कार्यदलले २ जेठ २०७५ मा कायम रहेको एमालेको कमिटीमा फर्किने र त्यसको बैठक बोलाउने प्रक्रियामा समेत सहमति जुटाएको छ । तर त्यसविपरीत बैठक राखेको भन्दै उनले भने, ‘कार्यदलले जे सहमति गरेको छ, त्यसअनुसार बैठक अगाडि बढाउनुस् ।’‘एमालेको एकतालाई खण्डित गर्ने खेल नगर्नुस् । राष्ट्रिय एकता, आम जनता र एमालेका कार्यकर्ताका हितका लागि एमालेको एकता अपरिहार्य छ । यसलाई कायम गरियोस् । कार्यदलमा जे सहमति गरेका छौं, त्यो भन्दा अन्यथा नगरियोस्,’ उनले अघि भने ।

एमालेको एकताका लागि अध्यक्ष ओली र अरु नेताहरुले गम्भीर रुपमा सोच्नुपर्ने भन्दै उनले स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।कार्यदलमा भएको सहमति अनुसार अगाडि बढ्ला भन्ने अपेक्षा गरेको बेला निवर्तमान प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले झनै अप्ठ्यारो पारेको भन्दै उनले, ‘अलिकति समय आवश्यक पर्‍यो । आजको स्थायी कमिटी र संसदीय दलको बैठक स्थगित गर्नुस् ।’तर ओलीले बैठक रोक्न अस्वीकार गरेका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटी बैठक अहिले बसिरहेको छ ।

प्रकाशित मिति : २०७८ साउन १ गते शुक्रवार