• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने, देउवालाई मत दिन्छौँ : माधव समूह


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिने भएका छन् ।सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना
गरेको प्रतिनिधिसभाको बैठक आज बोलाइएको छ । सर्वोच्चकै परमादेशअनुसार संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले

संवैधानिक व्यवस्थाअनुसार ३० दिनभित्र विश्वासको मत लिर्छ ।एमाले र जनता समाजवादी पार्टी (जसपा)मा विवाद चलिरहेकाले विश्वासको मत लिने हतार नगर्ने कांग्रेस नेताहरुले बताएका थिए । तर एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षले स्थायी कमिटी बैठक राखेर विश्वासको मत नदिन सांसदहरुलाई निर्देशन दिएपछि शनिबार एकाकाए नयाँ निर्णय भएको छ ।कानुन तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार आज बस्ने संसद बैठकमै विश्वासको मत लिने तयारी छ ।सत्तारुढ कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ सांसद छन् भने जसपाको उपेन्द्र यादव पक्षमा १७ र राष्ट्रिय जनमोर्चाका एक सांसद छन् । यो सबै मत आउँदा पनि २७१ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि आवश्यक १३६ मध्ये देउवालाई ८ मत पुग्दैन ।

एमालेको माधवकुमार नेपाल समूहले मत दिने सम्भावना छ । संविधानको धारा ७६(५) अनुसार देउवाले प्रधानमन्त्री दाबी गर्दा पनि नेपाल समूहका २६ सांसदले साथ दिएका थिए ।प्रतिनिधिसभा विघटन भएपछि संसद पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च गएका १४६ सांसदमा एमालेका २३ जना थिए ।संसद पुनर्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको सर्वोच्चले धारा ७६(५)को प्रधानमन्त्रीका लागि समर्थन गर्दा वा विश्वासको मत दिँदा ह्वीप नलाग्ने र दल त्याग ऐनअनुसार कारबाही गर्न नमिल्ने फैसला गसिसकेको छ ।

तर सर्वोच्च अदालतको फैसला आउनु अघिल्लो दिन २७ असारमा एमालेको दुबै पक्षका नेताहरु रहेको कार्यदलले जुटाएको १०बुँदे सहमतिमा कसरकारबारे पार्टी एकताको भावनाअनुसार संस्थागत रुपमा निर्णय गर्ने उल्लेख छ । अहिले ओली पक्ष विश्वासको मत नदिने पक्षमा उभिएको छ भने नेपाल पक्ष संसद बचाउनका लागि देउवालाई विश्वासको मत दिने पक्षमा छ ।

संसद्लाई पूर्णकाल जोगाउन देउवालाई मत दिन्छौँ : माधव समूह
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।

हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’ यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ।त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । ‘हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’, चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार