• २०८१ कार्तिक ११ गते आइतवार
  • Preeti To Unicode

किन दिए भीम रावलको राजीनामा ? यस्तो छ कारण


काठमाडौँ। एमाले नेता तथा अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद भीम रावलले राजनीतिक दलका शीर्ष नेतामा स्वेच्छा
चारिता बढेको भन्दै सांसद पदबाट राजीनामाको घोषणा गरेका छन्।उनले आइतबार संसद् भवन नयाँ बानेश्वरमा आफ्नो राजीनामा घोषणा गरेका हुन्।

त्यस क्रममा उनले आफ्नो राजनमा पत्र पढेर सुनाएका थिए । पत्र पढ्दै उनले राजनीतिक दलका शीर्ष नेताहरूमा स्वेच्छाचारिता बढेको तथा घृणित राजनीतिक खेल खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका छन् ।
यस्तो रावलको राजीनामा

सम्माननीय सभामुख ज्यु, प्रतिनिधि सभा सिंहदरबार काठमाडौँ ।
विषय राजीनामा
महोदय, झन्डै आधा शताब्दी लामो राजनीतिक जीवनमा मैले अनेकौँ राजनीतिक आरोह अवरोह तथा घात प्रतिघात व्यहोरेको छु । र तिनको सामना गर्दै आएको छु । यो सबै मैले मातृभूमिको स्वाधीनता, स्वतन्त्रताका लागि गरेको थिए । तर राजनीतिक नेतृत्वको त्यसविपरितका काम हुँदै देश र जनतालाई अनेकौँ पीडा र अनिश्चयको दिशातर्फ धकेल्ने किर्ते काम हुँदै गए ।

फलस्वरूप आज नेपाल र नेपालीहरूको शिर निहुरिँदै गएको छ । अझ केही समययता राजनीतिक वृत्तको नेतृत्व तहमा देखिएको चरम सत्ता र पदलिप्सा तथा विधि र पद्धतिलाई आफ्नो उचित एवं निहित स्वार्थका लागि मिच्दै अत्यन्त स्वेच्छाचारी र निरंकुश तरिकाले काम गर्ने अनैतिक चरित्रको घृणित अभ्यास भइरहेको देख्दा कुनैपनि सच्चा, देशभक्त र लोकतन्त्र प्रेमी नेपालीको मन रुन्छ । यस्ता विकृत तथा देश र जनताका हितविपरितका क्रियाकलापका विरुद्ध जुध्दै रोक्नका लागि जनप्रतिनिधि एवं राजनीतिक कर्मीको हैसियतले मैले अधिकतम प्रयत्न पनि गरे ।

तर पछिल्लो समय प्रतिनिधि सभाको विघटनदेखि पुनर्स्थापना र प्रधानमन्त्रीले विश्वासको मत लिने अवस्थासम्म आइपुग्दा उच्च राजनीतिक नेतृत्व तहमा देखिएको अनियन्त्रित र चरम अनैतिक राजनीति, स्वेच्छाचारी व्यवहार तथा देश जनता र पार्टीको हित भन्दा निजी स्वार्थ अहम्, प्रतिशोध चरित्र र कार्य देख्दा देश र जनताको हितलाई सर्वोपरि सम्झने जुनसुकै नागरिकको मनमा घृणा उत्पन्न हुन्छ । यस्तो स्थितिमा अनैतिक राजनीतिक तथा देश र जनविरोधी राजनीतिक अभ्यासको मतियार हुनुभन्दा यसबाट अलग हुनु श्रेयस्कर भएकाले उक्त प्रकारको दूषित खेलबाट आफूलाई अलग गर्दै प्रतिनिधि सभाको सदस्य पदबाट राजीनामा दिएको छु ।
भीमबहादुर रावल सदस्य प्रतिनिधि सभा
अछाम निर्वाचन क्षेत्र नम्बर १

भीम रावलको राजीनामा रोक्ने नेताहरुको प्रयास असफल
नेकपा एमालेका सांसद भीम रावलको राजीनामा रोक्ने नेताहरुको प्रयास असफल भएको छ । माधवकुमार नेपाल समूहमा रहेका उपाध्यक्ष रावलले आफ्नो समूहका सांसदहरुको बैठकमा सांसद पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।तर पार्टीमा एकताका लागि क्रियाशील नेताहरुले राजीनामा नदिन आग्रह गरेका थिए । रावलले संसद भवन पुगेर पत्रकारअगाडि राजीनामा पत्र वाचन गर्न खोज्दा पनि सुरेन्द्र पाण्डे लगायतका नेताहरुले रोक्ने प्रयास गरेका थिए । तर रावल सहमत भएनन् ।

जब सांसद सुरेन्द्र पाण्डेले भीम रावलको राजीनामा रोक्ने खोजे…

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसद पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत लिने पूर्व सन्ध्यामा सुदूर पश्चिमका नेताले प्रतिनिधिसभाका सभामुखसामु राजीनामा बुझाएका हुन्।सांसद रावलको राजीनामालाई लिएर एमाले सांसदहरु नै आश्चर्यमा परेका छन्। संसद भवनभित्र नै रहेका अर्का सांसद सुरेन्द्र पाण्डेले रावललाई राजीनामा नदिन र यसको जानकारी पत्रकारलाई नगराउन गरेको प्रयास असफल बन्यो।

जव रावलले राजीनामा लेखिएको पत्र संसद भवनमा उपस्थित भएका पत्रकारहरुलाई पढेर सुनाउन थाले ठीक त्यतिखेर उनलाई रोक्न पुगेका थिए पाण्डे। पछाडिबाट सांसद पाण्डेले उनलाई रोक्न खोजे। तर, उनको हात हटाउँदै रावलले ‘प्लिज प्लिज एकछि नरोक्नु पत्रकारलाई कुरा गर्न दिनु’ भन्दै राजीनामा पढेर सुनाएका थिए।प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा पठाइएको सूचीमा रहेका उनी सर्वोच्च अदालतमा उनैलाई समर्थन गर्दै हस्ताक्षर गर्ने अभियानमा पनि सक्रिय थिए। पछिल्लो समय उनी पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत थिए।

राजीनामा दिएसँगै उनले अराजनीतिक क्रियाकलाप रोक्न आफूले प्रयास गरे पनि नसकेपछि राजीनामा दिएको उनको भनाई छ।’राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेकाले तिनलाई रोक्नका लागि मैले अधिकतम प्रयास गरेँ,’ रावलले राजीनमा दिन जानुअघि भने, ‘उच्च राजनीतिक तहमा देखिएको अराजनीतिक व्यवहार देख्दा देश जनतालाई खेद हुन्छ। अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि मैले प्रतिनिधिसभाबाट राजीनामा दिएको छु।’

एमाले विवाद समाधानका लागि विघटित कार्यदलमा रावल वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट संयोजक रहेका थिए। नेपाल समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएको छ।

प्रकाशित मिति : २०७८ साउन ३ गते आइतवार