• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

गालीगलौज बन्द गरी एकतामा जोड दिने माधव नेपाल पक्षको निर्णय


नेकपा एमालेको माधव नेपाल पक्षले आपसी भनाभन बन्द गरेर पार्टी एकतामा जोड दिने निर्णय गरेको छ । नेपाल पक्षको सोमबार बसेको स्थायी कमिटी बैठकले पार्टी एकतामा जोड दिने निर्णय गरेको हो ।अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालले अध्यक्षका रुपमा काम

गर्नेगरी आगामी महाधिवेशनसम्म जाने प्रस्तावलाई एकताको आधार बनाउन सकिने बैठकमा छलफल भएको एक नेताले जानकारी दिए । एमालेभित्रको विवाद समाधानका लागि माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली समूहका नेताहरुले अगाडि सारेका छन् । यो प्रस्तावमा माधव नेपाल पक्षका केही नेताहरु सहमत देखिएपनि नेता नेपालले स्वीकार गरिसकेको अवस्था छैन । वरिष्ठ नेता नेपालले १० बुँदे सहमति अमूर्त भएको भन्दै ठोस सहमतिको प्रस्ताव ल्याउन भनेका छन् । दोस्रो तहका नेताहरुले त्यस्तो प्रस्तावको ड्राफ्ट समेत तयार पारिसकेको र अबको केही दिनमै दुई अध्यक्षतात्मक प्रणाली रहने गरी सहमति जुट्ने नेताहरुको दावी छ।

खगेन्द्र संग्रौलालाई महेश बस्नेतको जवाफ : युथ फोर्सले पृथ्वीनारायणको दिव्य उपदेशको फलो गर्नेछ
नेकपा एमालेका नेता महेश बस्नेतले आफुले खगेन्द्र संग्रौलालाई धम्की नदिएको दावी गरेका छन् । एमाले ओली निकट मानिएका बस्नेतले आफुलाई धम्की दिएको संग्रौलाले सामाजिक सञ्जालमार्फत खुलासा गरेका थिए । त्यसको जवाफ दिँदै बस्नेतले सोमबार सामाजिक सञ्जालमा भनेका छन्– ‘खगेन्द्र संग्रौला बाजेले आज फेरि अर्को गफ दिएछन् । गाली शिरोमणिको उपमा पाएका बाजे अरुलाई होच्याउन र अपमान गर्न निकै सिपालु मानिन्छन् ।’


त्यस्तै बस्नेतले आफु भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको दावी पनि गरेका छन् । ‘म भक्तपुरको असल संस्कारयुक्त परिवारमा हुर्केको मान्छे हुँ । राजनीतिक रुपमा पनि जेष्ठ नागरिक र अग्रजहरुको सम्मान गर्ने एमाले उक्त पार्टीका नेताहरु मनमोहन अधिकारी र केपी ओलीको अनुयायी हुँ । सेवा र आदरभावका साथ प्रस्तुत हुनु मेरो स्वभाव हो । धम्क्याउने थर्काउने मेरो शैली होइन’ बस्नेतले प्रस्टिकरण दिएका छन् ।

उनले भनेका छन्, ‘जहाँसम्म अस्ति ९ गते उपत्यका युथ फोर्स कमान्ड घोषणा सभामा मैले बोलेको बिषय छ । न खगेन्द्र बाजेलाई धम्की दिएको छ । न माधव नेपाल कमरेडलाई थर्काएको छ । न तेसो गर्न आवश्यक नै छ ।’बस्नेतले थप भनेका छन्, ‘युथ फोर्सले ‘जाई कटक नगर्नु झिकी कटक गर्नु’ भन्ने पृथ्वीनारायण शाहको दिव्य उपदेशको फलो गर्नेछ । सहज ढंगले आफ्नो लक्ष्यमा हिँड्नेछ ।

वाधा अडचन आइपरेमा मात्र हटाउनेछ । एमालेको पंक्ति र जनतासँग शत्रुता साँध्ने शक्तिबाहेक कोही त्रसित हुन अनावश्यक छैन । युथ फोर्सको गठनले असहाय, पीडित, गरिब, देशभक्त, प्रगतिशील र जनवादी शक्ति उत्साहित भएको छ । बाँकी कनफ्युजन हटाउन मैले बोलेको सुन्नुहोला ।

प्रकाशित मिति : २०७८ साउन ११ गते सोमवार