• २०८१ कार्तिक ६ गते मङ्गलवार
  • Preeti To Unicode

बिहानै देउवामाथि खनिएका पौडेल साँझको गुट भेलापछि नरम, ‘नेतृत्वको इमानदार प्रयास भए तोकिएकै मितिमा महाधिवेशन’


काठमाडौंनेपाली कांग्रेस पार्टीको १४औंमहाधिवेशन तोकिएको समयमा नहुने देखिएपछि सोमबार बिहानै सामाजिक सञ्जाल मार्फत वरिष्ठनेता रामचन्द्र पौडेलले नेतृत्वमाथि
तुष पोखे। पार्टी सभापति शेरबहादुर देउवाले पार्टीलाई असफलतातिर लगेको आरोपसमेत पौडेलले लगाएका थिए।पौडेलले देउवाकै कारण अहिले पार्टी निर्वाचन आयोगसँग भिख माग्नुपर्ने

अवस्थामा पुगेको आरोप लगाएका थिए।’पार्टी विधानले चार वर्षको कार्यकाल तोकिएको छ। असाधारण परिस्थिति भनेर एक वर्ष थपियो। देशको संविधानलाई समातेर छ महिना बढाइयो,’ पौडेलले भनेका थिए, ‘आज आएर त्यसभित्र पनि महाधिवेशन नगरेर नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्‍याइएको छ।’यतिमात्र हैन पौडेलले देउवाकै चरम लापरबाहीका कारण पार्टी यस्तो अवस्थामा पुगेको भन्न भ्याए। उनले भनेका थिए, ‘यहाँभन्दा वर्तमान नेतृत्वको चरम असफलता र लापरबाही अरु के हुन्छ?’
सर्वत्र असफल व्यक्तिहरु बारम्बर सत्ता सम्हाल्न पुग्नु देशकै बिडम्बनासमेत भएको उनको भनाई थियो।’यो देशकै विडम्बना हो। सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले भनेका थिए।

गुट भेलापछि नरम
वरिष्ठ नेता पौडेल पक्षको गुट भेला आजै महामन्त्री डा शशांक कोइराला निवासमा बस्यो। पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने निश्चितजस्तै भएपछि पौडेलले शशांक निवासमा सभापति देउवाइतरका केन्द्रीय सदस्यहरुलाई छलफलका लागि डाकेका थिए।उक्त बैठकले पार्टीको आसन्न १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ।
महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपराह्न बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रीय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमानदार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो।

तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकतालाई अझै पनि बचाउन सकिने निष्कर्षमा आफूहरु पुगेको वरिष्ठ नेता पौडेलले बताए। उनले त्यसका लागि पार्टी नेतृत्वले इमानदार प्रयास गर्नुपर्ने आवश्यकता समेत औँल्याए।नेता पौडेलले भने, ‘हाम्रो धारणा र सोचाइको निष्कर्ष के छ भने पार्टीको महाधिवेशन तोकिएकै मितिमा गरेर अझै पनि पार्टीको वैधानिकतालाई जोगाउन सकिन्छ। त्यसका लागि हामी सबैले इमानदारपूर्वक प्रयास गर्नुपर्छ।’सभापति शेरबहादुर देउवाले पनि भदौभित्रै महाधिवेशन गर्ने भनी दाबी गर्दै आएको छ।बैठकले महाधिवेशन समयमै सम्पन्न गर्न क्रियाशील सदस्यताको विवाद थाती राखेर १३औं महाधिवेशनकै प्रतिनिधिबाट प्रक्रिया अघि बढाउन सकिने पनि स्पष्ट पारेको छ। वरिष्ठ नेता पौडेलले सकिने ठाउँमा भने क्रियाशील सदस्यको विवाद समाधानका लागि २ दिनको समय लिन सकिने आफू पक्षको धारणा भएको पनि बताए।क्रियाशील सदस्यताको विवाद देखाएर नेतृत्वले पार्टीको वैधानिकतालाई धरापमा पार्न नहुने पौडेल पक्षको दाबी छ।

कार्यतालिका यसरी टर्दै
२०७२ फागुन २४ गते ४ वर्षका लागि सभापतिमा चुनिएका देउवाले पटकपटक कार्यतालिका सार्वजनिक गरेर पनि पार्टीको १४औँ महाधिवेशन समयमै गर्न नसकेको आरोप खेप्दै आएका छन्। कांग्रेस पार्टी विधान अनुसार २०७६ फागुन २४ मा देउवा नेतृत्वको कार्य समितिको कार्यकाल सकिएको थियो। यद्यपि विधानको धारा ४३ प्रयोग गरी २०७७ फागुन २४ सम्म एक वर्ष म्याद बढाइएको थियो। उक्त समय अवधि पनि सकिएपछि कांग्रेसले संविधानको सहारा लिँदै ६ महिनाको म्याद थप गरेको हो। यो पनि भदौ २३ गते सकिँदैछ।कांग्रेसले भदौ १६ बाट १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सक्नेगरि अन्तिम कार्यतालिका सार्वजनिक गरेको थियो। तर क्रियाशील सदस्यता विवाद देखाउँदै साउन १२ गते तय गरिएको गाउँ -नगरको वडा अधिवेशन, साउन १६ गते तय गरिएको गाउँ नगरपालिका अधिवेशन, साउन २० गते तय गरिएको प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन २३ गते तय गरिएको प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन -एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन स्थगित भइसकेको छ।

अब साउन २६ गतेका लागि एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, भदौ १ र २ गेत प्रदेश अधिवेशन हुने भनिएको छ। ती अधिवेशन नहुने निश्चित भइसकेको छ। कांग्रेसले यही विषयमा छलफलका गर्नका लागि बुधबार केन्द्रीय समितिसमेत डाकेको छ।कांग्रेसले महाधिवेशन सार्नेबारे निर्वाचन आयोगसँग सल्लाह गरी पार्टीको म्याद थप्ने विषयमा छलफल अघि बढाइरहेको छ। यद्यपि यसबारे निष्कर्ष भने निस्किसकेको छैन।

प्रकाशित मिति : २०७८ साउन २६ गते मङ्गलवार