• २०८१ असोज ४ गते शुक्रवार
  • Preeti To Unicode

अख्तियारले मलाई फसायो : गच्छदार


काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई फसाएको दाबी
गरेका छन्।विशेष अदालतमा १० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका गच्छदार बुधबार विश्व आदिवासी दिवसको अवसर आयोजित कार्यक्रममा वक्ता थिए।सम्बोधनका क्रममा गच्छदारले

आफ्नो राजनीतिक इतिहास मेटाउन भ्रष्टाचारको मुद्दा लगाइएको आरोप लगाए ।आफूलाई तह लगाउने नाममा राज्यको एउटा अंगले सनकको भरमा मुद्दा चलाएको उनको दाबी छ ।उनले भने, ‘भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले जग्गाको लालपूर्जा बाँड्छ ? मोहीको जग्गा छुटाउने दायित्व मेरो थियो र ? त्यो दायित्व भूमि सम्बन्धि मन्त्रालयको होइन र ?’अख्तियारको दाह्रा हाल्ने काम आफूहरुले नै गरेको भन्दै उनले त्यसलाई अब सच्याउनुपर्ने बताए । संविधान निर्माण त त्रुटि भएको छ भने कानून बनाउँदा पनि हुने भन्दै गच्छदारले भने, ‘त्यो कमी कमजोरीको लेखाजोखा कांग्रेसले गर्नुपर्छ ।
ठूला भ्रष्टाचारकाण्डको छानविन गर्न सांसद कोमल वलीको माग
काठमाडौं । राष्ट्रियसभाका सांसद कोमल वलीले ठूला भ्रष्टाचार काण्डको छानविन गर्न सरकारसँग माग गरेकी छिन् ।राष्ट्रियसभाको बुधबारको बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद वलीले देशका ठूल्ठूला भ्रष्टाचार काण्डको निष्पक्ष छानविन गर्न माग गरेकी हुन् ।उनले भ्रष्टाचारको कुरा भोट माग्ने माध्यममात्रै बनाइएको भन्दै बाइडबडी, अरुण तेस्रो, टनकपुर, बालुवाटार प्रकरण, ओम्नी प्रकरण, आयल निगमको जग्गा खरिद प्रकरण र क्यान्टोनमेन्टको समेत भ्रष्टाचार छानविन गर्नुपर्ने बताइन् ।

‘यहाँ भ्रष्टाचारका कुरा धेरै भए । भाषण भए । भोट माग्ने माध्यम भए । आउनुहोस् निष्पक्ष छानविन गरौँ । वाइडबडीको छानविन गरौँ । अरुण थर्डको छानबिन गरौँ । टनकपुरको छानविन गरौँ । बालुवाटारको छानविन गरौँ । ओम्नीको छानविन गरौँ । आयल निगमको जग्गा खरिदको पनि छानविन गरौँ ।’ उनले भनिन्, ‘क्यान्टोनमेन्टको पनि छानविन गरौँ । ठुला-ठुला हाइड्रोको पनि छानविन गरौँ । १६५ सांसदको समर्थन छ के को लागि हो त्यो समर्थन प्राप्त गरेको ? अरुको पार्टी फुटाएको के को लागि हो ? किन ? तथापी अर्कोतिर औँला नठड्याऔँ । सबैले सबैलाई देखेकै छ ।’

सांसद वलीले सत्ता स्वार्थ र भ्रष्टाचारका निम्ति नेपालका नदीनालाहरु बन्धक बनेको पनि बताइन् । कतिपय जलविद्युत आयोजना विदेशीको इशारामा सम्झौता भएका र अरबौँ भ्रष्टाचार भएको पनि उनले उल्लेख गरिन् ।‘कति जलविद्युतमा विदेशीको इशारामा सम्झौता भए होलान् । अरबौँको डिल भयो होला । जलस्रोतको विश्वको दोस्रो धनि देशमा आजपनि व्यापार घाटामा हामीले बाहिरबाट ग्याँस ल्याएर चुल्हो बाल्दैछौँ विजुली दिन सकेका छैनौँ ।’ उनले भनिन्, ‘हाम्रा नदीनालाहरु बन्धक बनेका छन् सत्ताको स्वार्थमा र भ्रष्टाचारका निम्ति । त्यो काम गर्नलाई अहिले कसले रोकेको छ ? त्यसको लागि फेरी केपी ओलीको सरकार आउँला भनी पर्खिने ? जवाफ चाहियो ।’

सांसद वलीले आफूहरु प्रतिपक्षको रचनात्मक आलोचनात्मक सुझावले मुलुक अगाडी बढ्नसक्छ भन्नेकुरामा विश्वस्त रहेको बताउँदै सरकारको सही कुरालाई सही र गलत कुरालाई गलत भनेर आलोचना गर्ने पनि स्पष्ट पारिन् ।

प्रकाशित मिति : २०७८ साउन २७ गते बुधवार