• २०८१ कार्तिक १२ गते सोमवार
  • Preeti To Unicode

एमाले विभाजन : नेपालसँग नवौं महाधिवेशनको शक्ति कायम छ कि गुम्यो ?


काठमाडौँ— २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले पराजित भएपछि महासचिव छाडेका माधवकुमार नेपाल २०७१ को नवौं महाधिवेशनमा पुनः नेतृत्वको
आकांक्षी बने । अध्यक्षमा केपी शर्मा ओलीविरुद्ध नेपालले उम्मेद्वारी दिनुको पछाडि उनको मुख्य शक्ति थियो– तत्कालिन अध्यक्ष झलनाथ खनाल पक्षका अधिकांस नेताहरूको साथ ।

नेपालले झिनो मत अन्तरमा ओलीसँग अध्यक्ष हारे, यद्यपी तीनै नेताहरूको शक्तिका कारण एमालेको पदाधिकारीदेखि केन्द्रीय कमिटीसम्म नेपालको बलियो उपस्थिति रह्यो ।नवौं महाधिवेशनमा आफूले अध्यक्ष हारे पनि पार्टी भित्र करिब ओली बराबरकै शक्ति आर्जन गरेका माधव नेपालले अहिले पार्टी विभाजनका क्रममा त्यो सामर्थ्य गुमाएका छन् । नवौं महाधिवेशनपछि उनको पक्षबाट केन्द्रीय सदस्य बनेको ३७ जना नेताहरूले अहिले कित्ता छोडेका छन् । जसमा पार्टी भित्र र बाहिर समेत प्रभाव र वर्चस्व कायम गर्दै आएका नेताहरू पनि छन् । पार्टी एकताको पक्षमा भन्दै अहिले नेपाल कित्तामा जान रोकिएका त्यस्ता नेताहरूमा पदाधिकारी तहका ७ जना छन् ।उपाध्यक्षहरू भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य नेपाल समूहबाट निर्वाचित पदाधिकारी हुन् । तर, उनीहरूले विभाजनलाई साथ दिएका छैनन् । त्यस्तै नवौं महाधिवेशनमा नेपाल समूहबाट महासचिवमा हारे पनि पार्टी भित्र प्रभाव राख्ने नेता सुरेन्द्र पाण्डे माधव कित्ताबाट हाल अलग छन् । उपमहासचिवमै चुनाव हारेका रघुजी पन्त पनि यो कित्तामा छैनन् । उपाध्यक्षमा चुनाव हारेका अर्का नेता लालबाबु पण्डितले पहिले नै नेपाललाई छोडेर ओलीलाई साथ दिइसकेका छन् ।

नेपालले बधुबार निर्वाचन आयोगमा ९५ सदस्यीय केन्द्रीय समितिको नाम बुझाउँदा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ५८ सदस्यको मात्रै साथ छ । यसअघि नेपालसँग तत्काल कायम रहेको १ सय ९७ सदस्य मध्ये ८९ जनाको समर्थन रहेको थियो । पछिल्लो समय विवाद हुँदा साथ रहेका ३७ जनाले नयाँ दल निर्माण गर्ने क्रममा साथ छाडेका छन् ।नेपाल पक्षबाट पदाधिकारीमा जित्ने सबै पहिले खनाल निकट रहेका थिए । पन्त लामो समयदेखि नेता नेपाल पक्षमा थिए । उपाध्यक्ष शाक्य बुधबार नै ओली पक्षको समर्थनमा बाग्मती प्रदेशको मुख्यमन्त्री बनिसकेकी छिन् । २०७५ जेठ २ को एमाले स्थायी कमिटीको एक मात्रै सदस्य मुकुन्द न्यौपानेको मात्रै साथ नेता नेपाललाई छ ।संयोग के छ भने नवौं महाधिवेशनमा ओलीलाई अध्यक्ष बनाउने अभियानको सुरुवात प्रदीप नेपाल र न्यौपानेले गरेका थिए । प्रदीप नेपालको नाम नयाँ दलमा राखिएपनि उनले त्यसकाे खण्डन गर्दै आफू तटस्थ रहेको स्पष्ट पारेका छन् ।

नयाँ दल खोल्नका लागि हस्ताक्षर गरेका बेदुराम भुसाल नेपाल पक्षले पुनर्स्थापित गर्नुपर्ने माग गर्दै आएको २०७५ जेठ २ को पार्टी संगठनमा पोलिटब्युरो सदस्यमा मात्रै थिए ।दोस्रो संविधानसभा निर्वाचनपछि संसदीय दलको चुनावदेखि नै वामदेव गौतम र ओलीबीच गठबन्धन बनेको थियो । गौतमलाई लामो समयदेखि साथ दिंदै आएका भुसाल, भट्टराई, ठाकुर गैरे, रामकुमारी झाँक्रीसहितका नेताहरू सो समूह छाडेर नेता नेपालको साथमा पुगेका थिए । तर, अहिले रामुकमारी बाहेक अन्य नेताहरुले नेपालको पनि साथ छाडेका छन् ।त्यसैगरी भुसाल निकट रहेका विजय पौडेल भने नेपाल समूहका प्रमुख नेताको रुपमा देखिएका छन् । नेपालले पौडेललाई कांग्रेस, माओवादीसँगको गठबन्धनमा बैठकहरुमा समेत आफ्नो प्रतिनिधिको रुपमा पठाउने गरेका थिए ।नेपालसँग भने अहिले आफू निकट रहेको जनवर्गीय संगठनहरूको साथ छ । जनवर्गीय संगठनहरुलाई प्राथमिकतामा राखेर नेपालले आफ्ना पछिल्ला गतिविधिहरू सञ्चलान गर्दै आएका छन् । युवा, विद्यार्थी र महिला जनवर्गीय संगठनमा रहेका नेताहरू भने नेपालको साथमा रहेका छन् ।

पछिल्लो समयमा नेता नेपालले ओलीसँग रहँदा आफ्नो हैसियत वामदेव गौतम जस्तै हुने बताएका थिए । गत शनिबार क्रटिकल डाइलग डिस्कोर्सले आयोजना गरेको ‘कम्युनिस्ट आन्दोलनमा अवसर र अवसरवाद’ कार्यक्रममा बोल्दै उनले गौतम जस्तो तिरस्कार र अपमान सहेर एमालेमा फर्किन नसक्ने बताएका थिए ।नेपाल पक्षमा रहेका तर विभाजनको पक्षमा हस्ताक्षर नगरेका सांसद दीपकप्रकाश भट्टले एमालेभित्र रहेर संघर्ष गर्दा गौतमको अवस्थामा नहुने दाबी गरेका छन् । ‘पछिल्लो समयमा अध्यादेश ल्याउने र पार्टी विभाजन गर्ने विषयमा पनि उहाँले छलफल गर्नुभएन र एक्लै निर्णय गर्नुभयो । एक्लै निर्णय गर्ने कुरा ओलीकै जस्तो भैहाल्यो नि,’ भट्टले भने, ‘सामुहिक रुपमा एमालेभित्रै हुँदाको अवस्थामा गौतमको जस्तो हुने होइन । एउटा शक्तिको रुपमा हुने थियो । यसमा पनि हाम्रो असहमति रहेको थियो ।’

भट्टकाअनुसार बाहिर बसेका नेताहरूले अहिले पनि ओलीसँग कुनै सम्झौता नगरेको बताउँछन् । ‘दश बुँदे सहमतिमा एकसाथ अघि बढ्ने भन्ने कुरा थियो । त्यसका आधारमा जानुपर्छ भन्ने धारणा हो,’ भट्टले भने ।नेपालले दोस्रो पुस्ताबाट अपेक्षाकृत सहयोग नपाउने संकेत यसअघि नै पाएको देखिन्छ । जसको कारण नेपालले तेस्रो तहका नेताहरुलाई परिचालन गर्ने गरेका थिए । प्रकाश ज्वाला, विजय पौडेल, राजेन्द्र राई, जगन्नाथ खतिवडासहितकाले प्रतिनिधिसभा विघटनपछि नै ओलीसँग एकता हुन नसक्ने निष्कर्षसहितको प्रतिवेदन बैठकमा प्रस्तुत गरेका थिए । तीनै नेताहरू अहिले माधव नेपालको साथमा देखिन्छन् । नवौं महाधिवेशनबाट ‘कोर लिडरसिप’मा आएका नेताहरू भने नेपालबाट अलग छन् ।

प्रदेशको अवस्था कस्तो ?
केन्द्रमा रहेका प्रमुख नेताहरूको प्रभाव प्रदेश तहमा पनि रहन्छ । त्यस हिसाबले हेर्दा नेपाल समूहमा विगतमा प्रभावशाली भूमिका राख्दै आएका नेताहरू अहिले अलग देखिन्छन् ।
नवौं महाधिवेशनको शक्तिलाई हेरेर विष्लेषण गर्ने हो भने प्रदेश १ मा नेपाल पक्षका प्रमुख पिलरको रुपमा भीम आचार्य, जीवन घिमिरे थिए । प्रदेश १ मा आचार्य र घिमिरे दुवैजना यसअघि नेपाल समूहबाट मुख्यमन्त्रीको दाबेदार पनि थिए । तर उनीहरू पार्टी विभाजनमा जोडिएका छैनन् । आचार्य त पार्टीका सचिव पनि हुन् । अर्का केन्द्रीय सचिव योगेश भट्टराई पनि नेपालको साथमा छैनन् ।वरिष्ठ नेता झलनाथ खनाल पनि प्रदेश १ कै हुन् । उनी नेपालकै साथमा छन् । यपद्यी पार्टीभित्र उनका माधव नेपालसँगका आफ्नै खालका अन्तरसंघर्ष छन् । तर, प्रादेशिक राजनीतिमा अलग प्रभाव राख्नेमा नेपालसँग राजेन्द्र राई, जगन्नाथ खतिवडा जस्ता नेता मात्र छन् ।

प्रदेश २ मा भने तुलनात्मक रुपमा नेपालसंँग विभाजनमा जोडिने नेताहरूको संख्या बलियो । विगतमा पनि प्रदेश २ मा नेपाल समुह बलियो थियो । अहिले विभाजनका क्रममा पनि नेपाल समूहका धेरै जसो नेताले उनलाई साथ दिएका छन् । शत्रुधन महतोदेखि पुरुषोत्तम पौडेलसम्मका नेताहरू नेपालको साथमा छन् । ओली समूहका नेता धर्मनाथप्रसाद साह देखि रामप्रीत पासवानसम्मले पनि पार्टी विभाजनका लागि नेपाललाई साथ दिएका छन् । त्यसैले प्रदेश २ मा नेपालका लागि बढ्ता अनुकुल अवस्था छ ।प्रदेश ३ मा नेपालका लागि धेरै उत्साहजनक अवस्था छैन । किनकी एमालेमा रहँदा नेपाल समूहको खम्बाको रुपमा रहेका अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे लगायतका नेताहरूको साथ नेपालले गुमाएका छन् । शाक्य त मुख्यमन्त्री नै भइसकेकी छन् । त्यस्तै आफ्नै प्यानलबाट महासचिवको उम्मेद्वार बनेका पाण्डे पनि नेपालसँग जोडिएका छैनन् ।

काठमाडौं भित्रको राजनीति र युवा जमातमा चिनिएका बसन्त मानन्धर, सुरेन्द्र मानन्धर जस्ता नेताहरू विभाजनमा जोडिएका छैनन् । त्यस्तै युवा विद्यार्थी भित्र राम्रो पकड भएकी रचना खड्का जस्ता नेता पनि अहिले विभाजनमा जोडिएकी छैनन् । बाग्मती भित्र नेपालले राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, विरोध खतिवडाको साथ पाएका छन् ।गण्डकी प्रदेश भने नेपालका लागि बढ्ता प्रतिकुल छ । त्यहाँ पहिले देखिनै केन्द्रीय स्तरका प्रभावशाली नेताहरू ओली समूहमा थिए । यो प्रदेशमा नेपाल समूहमा तुलबहादुर गुरुङ, किसान श्रेष्ठ जस्ता नेताहरूको मात्र नेपाललाई साथ छ । इन्द्रलाल देखि श्रीमाया थकाली, नबलपुरका रवीन्द्र अधिकारी सम्मका नेताहरूले नेपाललाई विभाजनमा साथ दिएका छैनन् ।

लुम्बिनी प्रदेशमा हेर्ने हो भने नवौं महाविधेशनमा नेपाल पक्षबाट केन्द्रीय पदाधिकारी रहेका तीनजना- उपाध्यक्षमा युवराज ज्ञवाली, उपमहासचिवमा घनश्याम भुसाल र सचिवमा गोकर्ण विस्टले जितेका थिए । उनीहरू नेपालको विभाजनमा जोडिएका छैनन् । यस्तै युवा विद्यार्थीहरूमाझ पकड राख्ने केन्द्रीय नेता ठाकुर गैरेले पनि नेपाललाई साथ दिएनन् । लुम्बिनीबाट नेपालका लागि रामकुमारी झाँक्रीको दरिलोसाथ छ ।कर्णाली प्रदेशमा नेपालको पिलरको रुपमा प्रकाश ज्वाला खडा भएका छन् । तर, त्यहाँ पहिले देखि नै साथ दिँदै आएका नीरज आचार्य, राजबहादुर बुढा, ध्रुवबहादुर शाहीले नेपालको साथ छोडेका छन् ।

सुदुरपश्चिममा नेपालको प्रमुख खम्बा भीम रावल थिए । नवौं महाधिवेशनपछि पार्टी भित्र ओलीसँगको अन्तरसंघर्षमा रावल प्रमुख रुपमा खडा हुने गरेका थिए । अहिले भने उनी नेपालको पक्षमा आएनन् । त्यस्तै दीपकप्रकाश भट्ट, प्रकाश शाह लगायतका नेताहरू पनि अहिले विभाजनमा जोडिएका छैनन् ।

प्रकाशित मिति : २०७८ भाद्र ३ गते बिहिवार