• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

माधव नेपालसहित १४ सांसदको पद जोगिन सक्छ ? दोहोरिएला भीम रावलको ‘नजिर’ ?


नेकपा एमालेले कारवाही गरेका १४ जना सांसदको पद धरापमा परे पनि सभामुख अग्नि सापकोटाको टेबुलमा पुगेर अडिएको छ । उनीहरुको पद छिटो रिक्त गराउन
माग गर्र्दै एमालेका सांसदहरु हरेक दिनजसो सिंहदरबारस्थित सभामुखको कार्यालयमा धाउन थालेका छन् ।बिहीबार सभामुख सापकोटालाई भेटेर ज्ञापन पत्र दिँदै तत्काल उनीहरुलाई

कारवाही गरेको सूचना टाँस गर्न एमाले नेताहरुले दबावका साथै चेतावनीसमेत दिए । शुक्रबार बिहान पनि उनीहरु सभामुख सापकोटालाई भेट्न भन्दै उनको कार्यकक्षमा डेढ घण्टा धर्ना बसे । जतिबेला सभामुख भने सिन्धुपाल्चोकसभामुख सिन्धुपाल्चोकको लिशंखुपाखर गाउँपालिका वडा नंबर २ मा समाजसेवी पद्म बज्र लामाको निधनप्रति दुःख ब्यक्त गर्न र परिवारका सदस्यलाई समवेदना ब्यक्त गर्न गएका थिए ।सभामुख आउलान् र दबाव दिउँला भनेर कार्यकक्षमा बसेका एमालेका करिब १५ जना सांसद सभामुख सिन्धुपाल्चोक पुगेको खबरपछि धर्नास्थलबाट बाहिरिएका थिए । उनीहरुले सभामुखसँग फोनमा कुरा गर्दा सापकोटाले ज्ञापन पत्र दिन र धर्ना बस्न आवश्यक नरहेको भन्दै आफूले सांसदमाथिको कारवाही प्रक्रियालाई अघि बढाउने जवाफ दिएको सांसद महेश बस्नेतले बताए ।धर्ना दिएर बाहिरिने क्रममा एमाले संसदीय दलकी सचेतक शान्ता चौधरीले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै अघिल्लो दिन सभामुख सापकोटासँग चर्काचर्की भएको उल्लेख गरिन् ।उनले अन्य सांसदलाई कारवाही गर्दा सभामुखले २४ घण्टाभित्रै सूचना जारी गर्ने तर माधव नेपालसहित १४ जनामाथि कारवाहीको ४ दिन बित्दासमेत सूचना प्रकाशित नगरेकोमा आक्रोश ब्यक्त गरिन् ।के भन्छन् कानूनविद ?

एमालेले कारवाही गरेका १४ सांसदको पद सभामुखको हातमा रहेको कानुनविद्हरुले बताएका छन् । सभामुखले उनीहरुलाई पदमुक्त गरेको सूचना जारी नगरेसम्म उनीहरुको पद कायम रहने कानुनविद् वरिष्ठ अधिवक्ता डा.दिनेश त्रिपाठी र डा. भीमार्जुन आर्चायले रातोपाटीलाई बताए ।वरिष्ठ अधिवक्ता त्रिपाठीले एमालेले कारवाही गरेका १४ सांसदको पद खारेज हुन नसक्ने बताए । उनले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबेला ह्विप नलाग्ने भनेर सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रष्टरुपमा बोलेको र त्यो आधारमा पनि कारवाही नहुने बताए । उनले त्यसआधारमा सांसदमाथि कारवाही गर्न नमिल्ने र कारवाही पनि नहुने दाबी गरे ।त्यस्तै अधिवक्ता आचार्यले पनि उनीहरुको पद सभामुखको हातमा रहेको उल्लेख गरे । उनले भने, ‘यो विषय सभामुखमै निर्भर हुन्छ । यदि सभामुखले पार्टीबाट निष्काशन भएको कुरा स्वीकारेर सांसद पद नै समाप्त भएको भनेर प्रक्रिया अघि बढाएको भए उनीहरु पदमुक्त भइसक्थे । भोलि उनीहरुले नयाँ दल दर्ता भएको प्रमाण ल्याए सांसद पद कायम हुन्छ ।’

आचार्य अगाडि भन्छन्, ‘कानुनअनुसार पार्टीले कारवाही गरेपछि पद नरहने नै भन्ने हो । तर, त्यसका लागि सभामुखले घोषणा गर्नैपर्ने व्यवस्था छ । तर, सभामुखले कारवाहीबारे जानकारी गराएनन् र उनीहरुले भोलि नयाँ पार्टी दर्ता गराएर ल्याए भने सांसद पद जाने सम्भावना कम हुन्छ । यो सभामुखमै भर पर्ने कुरा हो ।’नयाँ दल दर्ताभएपछि १४ सांसदलाई कारवाही गर्न गाह्रो हुने डा. आचार्यले बताए । सभामुखले सहयोग गर्न चाहे भने उनीहरुको सांसद पद जोगिने उनको भनाइ छ ।माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी नाम राख्न नमिल्ने देखिएपछि नेकपा एकीकृत समाजवादी नाममा आयोगमा दर्ता प्रक्रियामा रहेको छ । आयोगले यही भदौ ९ गते पार्टीको सनाखतका लागि माधव पक्षलाई बोलाएको छ । सनाखतपछि पार्टी दर्ताको प्रमाणपत्र दिन केही दिन लाग्ने आयोगको भनाइ छ ।यो अवधिसम्म सभामुखले एमालेको दबावको सामना गर्दै १४ सांसदमाथिको कारवाहीको सूचना जारी गरेनन् भने उनीहरुको सांसद पद जोगिने निश्चित देखिएको छ ।

भीम रावलको नजिर
गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिनिधि सभामा विश्वासको मत दिनु केही घण्टाअघि एमाले सांसद भीम रावलले राजीनामा दिएका थिए । उनले संसद भवनमै पुगेर सञ्चारकर्मीहरुका अगाडि राजीनामा पत्र बाचन गरेर सभामुखलाई भेटेर राजीनामा बुझाएका थिए ।तर, रावलले बुझाएको राजीनामाबारे सभामुख सापकोटाले तत्काल निर्णय गरेर सभामा जानकारीका लागि प्रस्तुत गरेनन् । साउन ८ गते रावलले पुनः सभामुख सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएका थिए ।

तर, नेकपा एमालेका नेताहरुले भने संसदीय दलले हटाएको पत्र सभामुखलाई बुझाइसकेपछि त्यसलाई रोकेर राख्ने अधिकार सभामुखसँग नरहेको बताएका छन् । संसद बैठक चलेको भए बैठकमा सो सूचना वाचन गर्नुपर्ने र बैठक नचलेको भए सभामुखले सूचना टाँस गर्नुपर्ने एमाले सांसदहरुको माग छ ।

स्रोत : रातोपाटी

प्रकाशित मिति : २०७८ भाद्र ४ गते शुक्रवार