• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमालेलाई सांसद सचिवालयको जवाफ : सांसदलाई पदमुक्त गर्न मिल्दैन (पत्रसहित) संसदबाटै ठेगान लगाइदिने एमालेको चेतावनी


लुम्बिनीप्रदेशसभामा दुई सांसदमाथि एमालेले गरेको कारवाहीलाई प्रदेशसभा सचिवालयले‘अमान्य’ ठहर गरेको छ।सचिवालयका तर्फबाट नेकपा एमालेलाई पत्र पठाउँदै
सांसदद्वय अजय शाही र विमला खत्री वलीमाथि एमालेले गरेको कारवाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने प्रस्ट पारिएको छ । सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको

भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।एमालेले प्रदेश सरकारमा सहभागी अजय शाही र उपनिर्वाचनबाट प्रदेशसभा सदस्यमा विजयी विमला खत्री वलीलाई पार्टीले कारवाही गरेको विवरणसहित सो बमोजिम उनीहरुलाई प्रदेशसभा सदस्य पदबाट मुक्त गर्न प्रदेशसभा सचिवालयमा पत्र पठाएको थियो ।आफूले पत्र पठाएर कारबाहीसम्बन्धी विवरण जानकारी गराए पनि उनीहरुलाई पदमुक्त गरेको सूचना प्रदेशसभा बैठकमा सभामुखले जानकारी नगराएको भन्दै एमालेले दुई दिनसम्म प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो ।प्रदेशसभा सचिवालयले एमालेलाई पठाएको पत्रमा प्रदेशसभा नियमावलीको अनुसूची ७ अनुसार दलले भर्ने फारममा सांसद विमला वली र सांसद अजय शाही दुवैको नाम दलका सदस्यका रुपमा समावेश गरेको भए पनि उनीहरुले भर्ने अनुसूची ६ अनुसारको व्यक्तिगत विवरण फारममा आफु एमालेको सदस्य नभएको ब्यहोरा भरेका कारण पदमुक्त गर्न नसकिएको प्रस्ट पारेको छ ।

पत्रमा सांसद विमला वलीको हकमा एमाले र माओवादी केन्द्र दुवैले अनुसूची ७ को फारममा आफ्नो सदस्य रहेको विवरण लेखेका छन् भने अजय शाहीको हकमा भने एमालेले आफ्नो सदस्य रहेको विवरण सचिवालयमा बुझाएको थियो ।सचिवालयले एमालेलाई पठाएको जवाफी पत्रमा अजय शाही निर्वाचनमा स्वतन्त्र समूहबाट सहभागी भएको र उनको व्यक्तिगत विवरणमा पनि स्वतन्त्र समूहको तर्फबाट प्रदेशसभा सदस्य रहेको उल्लेख भएको कारण उनलाई पदमुक्त गर्न नमिल्ने उल्लेख छ ।शाहीले निर्वाचनमा सहभागी हुँदा नै स्वतन्त्र पहिचान कायम हुने गरी सूर्य चिन्ह प्रयोग गर्ने गरी सम्झौता गरेको यसअघि पत्रकार सम्मेलनमार्फत जनाएका छन् । दाङबाट उपनिर्वाचनमार्फत विजयी विमला वलीले फागुन २३ गते सर्वोच्चको फैसलापछि आफु कुनै दलको संसदीय दलमा सहभागी नभएको दाबी गरेकी छन् ।

संसदबाटै ठेगान लगाउने एमालेको चेतावनी
एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री वैजनाथ चौधरीले सभामुखले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर पत्राचार गरेको आरोप लगाउँदै सभामुखलाई सदनबाटै ठेगान लगाउने बताए । उनले रातोपाटीसँग भने, ‘हामी अदालत पनि जाँदैनौं, संसदबाट त्यसको जवाफ भोलि फर्काउँछौँ, सभामुखले आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर काम गर्न मिल्दैन । यसरी चिठी लेख्न पनि मिल्दैन ।’

उनले दुई सांसदको पदमुक्त सम्बन्धी सूचना जारी नहुँदासम्म संसद चल्न नदिने चेतावनी दिए । एमालेले ती दुवै सांसदलाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ भने मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिनसमेत ढिला हुँदै गएको छ । प्रदेशसभाको बैठक सोमबार बस्ने गरी आह्वान गरिएको छ ।

प्रकाशित मिति : २०७८ भाद्र ६ गते आइतवार