• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

भीम रावलले भने, ‘कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेले दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा’


काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष डा. भीम रावलले १० बुँदे सहमतिको आधार मान्नेलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा भएको प्रतिक्रिया दिएका छन्। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै रावलले बिहीबार ट्वीटमार्फत दक्षिणपन्थी पूँजीवादी नेपाली कांग्रेससँग सहकार्य गरी पदमा जान खोज्नेले दक्षिणपन्थी

देख्नु उदेक लाग्दो कुरा भएको बताएका हुन्।उनले पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भएका नेपालले एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक भएको टिप्पणी गरे। ‘दक्षिणपन्थी पूँजीवादी नेकांसँग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।’ रावलले लेखेका छन्,‘अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।’

एमालेका ‘तेस्रो धार’ का नेताहरु मंगलबार ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान च्यासलमा बसेको स्थायी कमिटी बैठकमा सहभागी भएर एकताको सन्देश दिएका छन्। विगतमा माधव नेपालनिकट रहेका तर पार्टी विभाजनमा नगएका एमालेका ‘तेस्रो धार’ का नेताहरु स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन्।

पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार २७ गते कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनको ठोस आधार तय गर्दै पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्न एमालेका नेताहरु सहमत भएको छ।

मध्यमार्गी नेता उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, अमृत बोहोरा एमालेमा आएर नेपाललाई साथ नदिएपछि दक्षिणपन्थीको आरोप लगाएका हुन्।

प्रकाशित मिति : २०७८ भाद्र १० गते बिहिवार