• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

सत्तामा टिक्नकै लागि नयाँ पार्टीमा हसताक्षर गर्न सक्दिन : मुख्यमन्त्री शाक्य


(मकवानपुर ) — वाग्मती प्रदेश की मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ले आफू सत्तामा टिक्नकै लागि पार्टी परिवर्तन नगर्ने बताएकी छन् । नेकपा एमाले औपचारिक रुपमा
विभाजित भएर नयाँ दल बनेपछि शाक्यको सरकार अल्पमतमा पर्ने प्राय निश्चित भएको छ । यस्तो अवस्थामा उनले सरकार जोगाउनकै लागि कित्ता परिवर्तन नगर्ने बताएकी हुन् ।

१ सय ९ सदस्यीय वाग्मती प्रदेशसभामा एमालेको सभामुखसहित ५६ सांसद छन् । सरकार गठनका लागि ५५ सांसद चाहिन्छ । तर, आधा दर्जनभन्दा बढी सांसदहरु एमाले विभाजन भएर नवगठित नेकपा (एकीकृत समाजवादी) मा संलग्न भएपछि शाक्यको पद धरापमा परिसकेको छ । यस्तो अवस्थामा मुख्यमन्त्रीको पद जोगाउन शाक्यलाई दल परिर्वतन एक विकल्प हुनसक्छ । तर, उनले राजनीतिक जीवनमा धेरै विषय त्यागेर पार्टी निर्माण गरेको बताउँदै सत्ताका लागि पार्टी परिवर्तन नगर्ने बताएकी हुन् ।मैले एमाले पार्टीको विभिन्न जिम्मेवारीमा बसेर काम गरेको छु । दल परिर्वतन गर्ने मनस्थितिमा छैन । सरकार ढल्छ भन्ने पनि चिन्ता छैन । मुख्यमन्त्री जोगाउन पार्टी परिवर्तन गर्दिन । त्यो काम मबाट हुँदैन,’ उनले भनिन्, ‘पद पाएपनि नपाएपनि यही पार्टीमै रमाउँछु । दायाँ–बायाँ गर्दिन ।’ शाक्यले आफ्नो फरक मत एमालेमै राख्ने र वैचारिक संघर्ष गरिरहेन बताइन् ।

‘मैले २०२८ सालबाट समर्पण, त्याग र नैतिकताको राजनीतिक गरेको हुँ । पद र सत्ताको लागि राजनीति गरेको होइन । म फुटको पक्षमा छैन । नयाँ पार्टीमा हसताक्षर गर्न सक्दिन । मैले यस विषयमा माधवकुमार नेपाललाई जानकारी गराइसकेको छु,’ उनले भनिन् ।

शाक्यले एकहप्ताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने समेत बताइन् ‘पार्टीलाई एकताका लागि मैले मुख्यमन्त्रीको पद समहालेको हुँ । एकताका लागि दबाब दिन एकहप्ता काठमाडौं बसेर हेटौंडा आइपुगेको छु । अब मन्त्रिपरिषद्ले पूर्णता पाउँछ । त्यसका लागि आन्तरिक छलफल सुरु गरिसकेको छु,’ मुख्यमन्त्री शाक्यले भनिन् ।

नेकपा एमालेकी उपाध्यक्ष शाक्य भदौ २ गते बहुमतको आधारमा मुख्यमन्त्री पदमा नियुक्त भएकी थिइन् । एमाले भित्रको विवादको समयमा उनी तत्कालिन वरिष्ठ नेता माधव नेपाल समूहमा रहेकी थिइन् । एमाले औपचारिकरुपमा विभाजन हुने भएसँगै तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिँदै शाक्यलाई अगाडि सारेका थिए ।
कान्तिपुर दैनिक बाट।

प्रकाशित मिति : २०७८ भाद्र ११ गते शुक्रवार