• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

महासागरमा पौडी खेल्न नपुगेर माधव नेपालले खाल्डो खने : केपी ओली


एमालेअध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले महासागरजत्रो पार्टी भएको बताएका छन् ।उनले एमालेसँग कोही लड्न नसक्ने भन्दै जति मोर्चाबन्दी गरेपनि
एमाले नै ठूलो पार्टी भएको बताए । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘एक एक दर्जनका १० वटा पार्टी मिल्यो भने १० दर्जन नै त हुन्छ । १० दर्जनको

मोर्चा कसेर एमालेसँग लड्ने ?’ उनले कटाक्ष गरे, ‘अरुले मोर्चाले कसुन्, नेकपा एमाले ढोडका लौरा समातेर जंघार तर्ने पार्टी होइन, यो पार्टीसँग पौडिएर तर्ने क्षमता छ ।’पार्टी फुटाएर गएका माधव नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भएका उनले महासागरजत्रो पार्टीमा पौडी खेल्न पुगेन भनेर खाल्डो खनेको बताए । माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिँदै उनले भने, ‘महासागरजत्रो पार्टी छ, पौडी खेल्न पुगेन भनेर खाल्डो खन्छन् । कोही मान्छेलाई सानै भएपनि आफ्नो घरको राजा हुन मन लाग्छ ।’उनले माधव नेपाल प्रतिक्रियावादीसँग मिलेको भन्दै त्यस्ता मान्छे पार्टीबाट बाहिरिएर कुनै फरक नपर्ने बताए । ‘एमाले सिध्याउँछु भनिसकेपछि, देशलाई अप्ठ्यारोमा पार्छु भनिसकेपछि सम्झाएर हुन्छ ?’ उनले भने, ‘हामीले सम्झाउन खोज्यौँ । बुझाउन खोज्यौं । मैले बिसौपटक फोन गरेँ । जहाँ जहाँ भन्यो त्यहीँ धाएर भेटेँ । नराम्रो कुरा भइसक्यो, अब चिन्ता गरेर बस्ने होइन । एक दुईवटा पात खस्दैमा रुख पीर मानेर बस्दैन । अर्को टुसो आउँछ ।’

एक दुई पात खस्दैमा रुखलाई केही फरक पर्दैन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहितका नेताले अर्को पार्टी गठन गर्दैमा केही फरक नपर्ने बताएका छन् ।शनिबार युथफोर्सले आयोजना गरेको कार्यक्रममा उनले भने ‘एक दुई पात पहेँलिएर खस्दैमा रुखलाई केही फरक पर्दैन । रुखमा नयाँ नयाँ पालुवा पलाउँदैछन् । नयाँ नयाँ हाँगा हाल्दैछन् ।’अध्यक्ष ओलीले माधव नेपालले गठन गरेको नेकपा एकीकृत समाजवादी पार्टीले अरु पार्टीसँग मोर्चाबन्दी गर्ने आफूले सुनेको भन्दै एमालेसँग एक्लै लड्न सक्दिन भन्ने निश्ष्कर्षमा पुगेको टिप्पणी गरे ।

उनले एमालेलाई षड्यन्त्रपूर्वक सरकारबाट हटाइएको भन्दै अब आउने चुनावमा सबै षड्यन्त्रको हिसाब लिने बताए । ‘अब कुनै पनि निर्वाचन क्षेत्रमा अरुलाई जित्न दिँदैनौं’ ओलीले भने ।
ओलीले पार्टी फुटेको नभई केही बिग्रिएका मान्छेले पार्टी छाडेको बताए । ‘केही मान्छे पतीत भएका हुन् बिग्रिएका हुन् ।

बिग्रिएका मान्छेले पार्टी छोडेका हुन्’ उनले भने ।ओलीले एमाले फुटेको नभई अलिकति चोइटिएको बताए । ‘फुट्नु र चोइटिनु फरक कुरा हो । चोइटाको कसलाई खाँचो हुँदैन ।

प्रकाशित मिति : २०७८ भाद्र १२ गते शनिवार