• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

सुदूरपश्चिममा प्रभावशाली भीम रावल कसरी भए निष्प्रभावी ? एमालेका १० सांसदले गराए समाजवादीको पक्षमा


सुदूरपश्चिमप्रदेशसभाका २५एमाले सांसदमध्ये १० जनाले मंगलबार माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएकाछन्।
मंगलबार निर्वाचन आयोगको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीमा पुगेर उनीहरुले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा सामेल हुनका लागि सनाखत गराएका हुन् । एमाले

छाडेर उक्त पार्टीमा सामेल हुनका लागि १३ सांसद निर्वाचन आयोगको कार्यालयमा पुगे पनि तीन जना भने आवश्यक दस्तावेज नभएका कारण सनाखतबिना नै फर्किएका छन् ।भौतिक पूर्वाधार विकास मन्त्री दीर्घराज सोडारी, सांसदद्वय अर्चना गहतराज र तारा लामा तामाङले दस्तावेज नपुगेका कारण सनाखत गराउन नपाएका हुन् । उनीहरुले बुधबार सनाखत गराउने जनाइएको छ ।सनाखत गराउने १० सांसदमा पूर्णा जोशी, लालबहादुर खड्का, बलबहादुर सोडारी, अमरबहादुर साउद, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।

सुदूरपश्चिममा भीम रावललाई धक्का
एमालेभित्र सुदूरपश्चिम प्रदेशमा आफ्नो प्रभाव जमाएका नेता भीम रावल अन्ततः निष्प्रभावी देखिएका छन् ।मंगलबार सुदूरपश्चिम प्रदेशसभाका १० जना एमाले सांसदले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका पक्षमा सनाखत गराएसँगै लामो समयदेखि सुदूरपश्चिमको राजनीतिमा प्रभाव जमाएका रावल निष्प्रभावी ठहरिएका हुन् ।जबकि,सुदूरपश्चिम प्रदेशमा एमालेका पक्षमा भीम रावलजस्ता पुराना कमाण्डरमात्र नभई माओवादी पृष्ठभूमिबाट एमालेमा प्रवेश गरेका लेखराज भट्टजस्ता राष्ट्रिय राजनीतिमा प्रभावशाली भूमिका निर्वाह गर्ने नेता समेत छन् ।

यसका बाबजुद, कमाण्डरविहीन अवस्थामै सुदूरपश्चिम प्रदेशमा माधवकुमार नेपालका पक्षमा १३ सांसद उभिएका हुन् । २२ गतेसम्म नेकपा समाजवादीको पक्षमा यो संख्या अझै बढ्न सक्ने नेताहरुले दावी गरेका छन् ।यसअघि माधव नेपाल पक्षका नेता भनेर चिनिएका उपाध्यक्ष समेत रहेका रावल माधव नेपालले अलग पार्टी गठन गर्दा ओलीतिरै लागेका थिए ।सर्वोच्च अदालतको गत फागुन २३ को फैसलाले नेकपा विभाजन भएपछि रावल माधव नेपालको पक्षमा लाग्दा एमाले अध्यक्ष ओलीले माओवादीबाट प्रवेश गरेका लेखराज भट्टलाई एमालेको सुदुरपश्चिम इन्चार्ज बनाएका थिए । तर, एमालेमा आएको विभाजनमा रावल ओलीतिर लागेपछि ओलीले पुनः भदौ १३ पछि रावल नै इन्चार्ज रहेको सर्कुलर जारी गरेका थिए ।

राष्ट्रियताका सवालमा खरो र तर्कपूर्ण टिप्पणी गर्ने रावल ओलीले संविधानविपरीत गरेको संसद विघटनलाई प्रतिगामी भन्दै आएका थिए । तर, पछिल्लो पटक उनै ओलीसँग जोडिन पुगेपछि विगतमा रावललाई साथ दिदै आएका सुदूरपश्चिमका नेताहरुले समेत उनको साथ छोडेका छन् । यसबारे रातोपाटीले रावलसँग सम्पर्क गर्दा अन्तिम परिणाम आएपछि मात्रै प्रतिक्रिया दिने बताए ।‘अहिले केही प्रतिक्रिया छैन, अन्तिम परिणाम आओस् अनि बोलौँला’, नेता रावलको भनाइ छ ।यता नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा हस्ताक्षर गरेकी प्रदेश सांसद दुर्गाकुमारी कामीले सुदूरपश्चिम प्रदेशका सांसदहरुले व्यक्ति नरोजेर विचार रोजेको प्रतिक्रिया दिइन् ।

उनले केपी ओलीको विचार समूह प्रतिगामी विचार समुह र माधव नेपाल नेतृत्वको समुह अग्रगमनको पक्षमा रहेकाले प्रदेशका धेरै सांसद नेकपा समाजवादीमा लागेको बताइन् ।‘राजनीतिमा व्यक्ति प्रधान हुदैन, विचार प्रधान हुन्छ । हाम्रो प्रदेशका माननीयहरु विचारको पक्षमा लाग्नुभएको छ, अग्रगमनको बिचार बोक्ने समुहमा लाग्नुभएको छ यो राम्रो संकेत हो’, प्रदेश सदस्य कामीको भनाइ छ ।

प्रकाशित मिति : २०७८ भाद्र १५ गते मङ्गलवार