• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

बहालवाला प्रधानमन्त्री देउवाको परिवारका हलियाले परिचय पत्र समेत पाएनन्


सुन्दा अचम्म लाग्न सक्छ, बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारका मुक्तहलियाले परिचयपत्रसमेत पाएका छैनन्।प्रधानमन्त्री देउवाको गाउँ गन्यापधुरा गाउँ पालिका– १ तिखातर ( डुङरा ) का मुक्त हलिया भीमबहादुर सार्कीले हलिया प्रथा मुक्त भएको १३ वर्ष पुगिसक्दा पनि न त हलिया मुक्तिको परिचयपत्र पाए न त साहुबाट बस्नलाई

जमिन नै। ०५२ सालमा देउवाका काका प्रेमबहादुर देउवाको १३ वर्ष हलिया बसेका सार्कीको न त सरकारले गरेको हलिया प्रमाणीकरणमा नाम छ न त साहुको हलो जोतेर खान सक्ने अवस्था छ। पटक–पटक प्रधानमन्त्री बनेका देउवाको गृहगाउँका दुई सय २२ जना हलिया अहिले बिजोग अवस्थामा छन्। गन्यापधुरा गाउँपालिका– १ तिखातर, भेटा, मत्तकट्टे, सुणलगातका मुक्त हलिया अहिलेको नेपाल सरकारले गरेको प्रमाणीकरणमा छुटेको मुक्त हलिया समाज डडेल्धुराका अध्यक्ष भरत सार्कीले बताए। देउवाको गाउँमै हलिया छन् भन्ने कुराले आफ्नो प्रतिष्ठामा आँच आउने कारणले देउवाले मुक्त हलियाको नाम जिल्लाबाट पठाएको तथ्यांकमा प्रमाणीकरणमा छुटाएको उनको आरोप छ। डडेल्धुराका उनीसहित गन्यापधुरा गाउँपालिका– १ भेटाका ७० परिवार मुक्त हलियाको नाम जिल्ला प्रशासनबाट मन्त्रालयमा पठाएकोमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट त्यो सूची प्रमाणीकरण भएको छैन। भीमबहादुर सार्कीजस्तै भेटाका मुक्त हलिया ०६६ सालमा आएको बाढी र पहिरोमा परेका कारण १२ वर्षदेखि सामुदायिक वनको आश्रयमा बस्दै आएका छन्।

मुक्त हलियाका २६ परिवारलाई नयाँ घर हस्तान्तरण
१३औँ मुक्ति दिवसको अवसरमा मुक्त हलिया समुदायका लागि निर्माण गरिएका नयाँ घर हस्तातरण गरिएको छ। अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वरप्रसाद ओझा (विपिन) र मुक्त हलिया समाज महासंघ डडेल्धुराले संयुक्त रूपमा घर हस्तान्तरण गरेको राष्ट्रिय मुक्त हलिया समाज महासंघकी केन्द्रीय सदस्य इन्दिरा ताम्राकारले बताइन्।

अमरगढी नगरपालिका– २ जौशिनामा एक औपचारिक कार्यक्रमसहित अमरगढी नगरपालिकाले निर्माण गरेको ६ नयाँ घर, १८ मर्मत र दुईजनालाई जमिन खरिद गरी मुक्त हलियालाई हस्तातरण गरिएको उनले बताइन्।

डडेल्धुरा जिल्लामा दुई हजार पाँच सय ५१ जनामध्ये दुई हजार दुई सय ६७ जना हालसम्म पुनर्स्थापना कार्यक्रमको पाएका छन्। यस्तै, दुई सयजना पुनर्स्थापना प्याकेजबाट छुटेका छन् भने ८५ जनाले दोस्रो किस्तासमेत नपाएको अध्यक्ष सार्कीले बताए। डडेल्धुरामा झन्डै दुई हजारजना मुक्त हलियाको नाम तथ्यांकमा छुटेको उनको भनाइ छ।

प्रकाशित मिति : २०७८ भाद्र २४ गते बिहिवार