• २०८१ कार्तिक २९ गते बिहिवार
  • Preeti To Unicode

यसरी भएको थियो नारायणहिटीको श्रीपेच चोर्ने प्रयास


काठमाडौं रुकुम पश्चिमका एक युवकले नारायणहिटी दरबार संग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्ने असफल प्रयास गरेका छन् । नारायणहिटी दरबार
संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार शुक्रबार अवलकोनका लागि संग्रहालय पुगेका मुसिकोट नगरपालिका–११ का २५ वर्षीय खेमबहादुर घर्तीले

श्रीपेच चोर्ने असफल प्रयास गरेका थिए ।श्रीपेच रहेको सिसा फुटाउनका लागि घर्तीले उक्त कोठामा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास गरेका थिए । सोही क्रममा सुरक्षामा खटिएका सेनाले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको दाहालले बताए ।

श्रीपेच बुलेट प्रुफ सिसाभित्र छ । श्रीपेच रहेकै एकातर्फको भित्तामा सिसाको सोकेस छ । त्यो सिसाको सोकेस फुटाएर उनले खुकुरी झिकी श्रीपेच निकाल्ने प्रयास गरेको देखिन्छ’ दाहालले भने ।

उनका अनुसार सेना सुरक्षाका लागि लगातार खटिने भएकाले चोरीको जोखिम हुँदैन । ‘उनलाई श्रीपेच देखेपछि त्यो लगाएर राजा हुन मन लागेको हुनसक्छ,’ दाहालले भने, ‘उनको मानसिक अवस्था त्यति ठीक छैन कि भन्ने लागेको छ ।

टिकट काटेर संग्रहालय अवलोकनका लागि पुगेका घर्तीले सोकेस फुटाएर श्रीपेच निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए । ‘राजा बन्छु’ भन्दै घर्तीले श्रीपेच रहेको सोकेस फुटाएर निकाल्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको जानकारी आफूले पाएको एसपी सिंहको भनाइ छ । घर्तीलाई महानगरीय प्रहरी वृत्त दरबारमार्गमा राखी आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रवार