• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

भिम रावल द्वारा केन्द्रीय कमिटी बैठक बहिस्कार


नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएका छन् । आइतबार विहान ११ बजेबाट सुरु भएको बैठकमा रावल अनुपस्थित भएका हुन्
। शुक्रबारदेखि सुरु भएको बैठकमा आगामी असोज १५–१७ गते हुने विधान महाधिवेशनमा पेश हुने राजनीति, सांगठनिक र विधान संशोधन प्रस्तावमाथि छलफल भएको थियो ।१० वटा

समूह बनाएर उक्त प्रतिवेदनबारे सुझाव आएको थियो । आजको बैठकमा १० वटा समूहबाट आएका सुझावमाथि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले जवाफ दिएका छन् । तर आजको बैठकमा उपाध्यक्ष रावल अनुपस्थित भएका हुन् । रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्ट जनाउँदै आएका थिए ।शुक्रबारको बैठकमा १० बुँदे कार्यान्वयनबारे प्रश्न गरेका रावललाई अध्यक्ष ओलीले केन्द्रीय कमिटीकै बीचमा स्थायी समिति बसेर त्यसबारे आवश्यक निर्णय गर्ने बताएका थिए । तर, ओलीले आइतबार केन्द्रीय कमिटी बैठक समापन गर्ने तयारी गरिरहेका बेला आइतबार विहानसम्म पनि स्थायी समिति नबोलाएपछि रावल बैठकमा अनुपस्थित भएका हुन् ।

७० वर्षे उमेर हद कायमै, उपाध्यक्ष संख्या ओलीले निर्धारण गर्ने
नेकपा एमालेमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद कायमै राखिने भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी केन्द्रीय समिति बैठकमा पेश भएका विभिन्न तीन दस्तावेजमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा नेता विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् । पौडेल विधान संशोधन कार्यदलका संयोजक हुन् ।

शनिबार समूहगत छलफल सकिएपछि आइतबार नेताहरुले तीनवटै प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् । यसक्रममा विधान संशोधन प्रस्तावमाथि छलफलका क्रममा धेरैजसो नेताहरुले केन्द्रीय पदाधिकारीहरूमा यसअघि व्यवस्था गरिएको ७० वर्षे उमेर हद हटाउनुपर्ने सुझाव दिएका थिए । तर, जवाफ दिने क्रममा उपमहासचिव समेत रहेका पौडेलले भने ‘७० वर्षे उमेर हद कायमै राखिने भएको छ’, जवाफ दिएका थिए ।

‘यसबारे विधान महाधिवेशनले निर्णय गरे बेग्लै कुरा हो तर अहिले यसलाई कायमै राखिनेछ’, पौडेलको भनाइ छ । त्यस्तै उनले केन्द्रीय उपाध्यक्षमा तीन जना रहने भन्ने प्रस्तावका बारेमा अध्यक्षले जवाफ दिने बताए । प्रस्तावित विधानमा तीनजना उपाध्यक्ष रहने व्यवस्था रहेको थियो । तर सुझावका क्रममा नेताहरुले ५ देखि सातजना उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । हाल एमालेमा ५ जना उपाध्यक्ष रहने व्यवस्था छ ।

प्रकाशित मिति : २०७८ असोज १० गते आइतवार