• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

बालुवाटार बैठकमा पौडेलले तीन मन्त्री मागेपछि देउवाले भने : म दिन सक्दिनँ


काठमाडौं प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बहिस्कार गरेको छ। मन्त्रीका बारेमा कुनै टुंगो
नलागी वरिष्ठ नेता पौडेल, शशांक कोइराला र प्रकाशमान सिंह बैठक बहिस्कार गरेर हिँडेका छन् । बैठकमा रामचन्द्र पौडेल समूहले तीन जना मन्त्री मागेका थिए। सभापति शेरबहादुर

देउवाले तीन मन्त्री दिन नसक्ने बताएपछि पौडेल, कोइराला र सिंह बैठकबाट हिँडेको बताइएको छ।बैठकमा रौतहट र सर्लाही बरहथवाको क्रियाशील विवादमा पौडेल र सिंहको देउवासँग चर्कोचर्की भएको थियो। यी दुवै ठाँउमा कार्यकर्ता अनसनमा छन्। विवाद सकेर अनसन टुंगो लगाएर उनीहरुलाई दशैं मान्न दिनुपर्ने पौडेल र सिंहले बताएका थिए। उनीहरुले चिसो भुँईमा बसेर बिरामी परे भन्दा देउवाले अस्पताल लैजान भनेका थिए।तर, पौडेल, सिंह र कोइरालाले तत्काल प्रतिवाद गर्दै सभापतिले कार्यकर्ता मार्ने हो कि बचाउने हो? भन्दै प्रश्न गरे। पौडेलले राजनीतिक मुद्दा अस्पताल भर्ना गरेर समाधान हुन्छ? भन्दै प्रतिवाद गरेपछि देउवाले मुख्यसचिवलाई कृष्णप्रसाद सिटौला र रमेश लेखकको समितिलाई बोलाएर भोलिसम्म टुंगो लगाउन भनेको रामचन्द्र पौडेलको सचिवालयले जनाएको छ।पौडेलको कोटामा २ जना मन्त्री मात्र परेको छ भने सिटौलाको कोटाबाट एक जना मन्त्री बन्ने भएका छन्।

माओवादीले टुंग्यायो मन्त्री र राज्यमन्त्रीको नाम

नेकपा माओवादी केन्द्रले तीन मन्त्री र एक राज्यमन्त्री टुंगो लगाएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वरजंग गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको हो ।बैठकमा मन्त्रीहरुको नाम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरेका थिए भने नारायणकाजी श्रेष्ठले समर्थन गरेका थिए ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार मन्त्रालयहरु भने टुंगो लागेको छैन । यद्यपि भूमि व्यवस्था, श्रम र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना छ । मन्त्रालय टुंगो लगाउने जिम्मा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुलाई दिइएको महराले जानकारी दिए ।माओवादी केन्द्रको भागमा ५ मन्त्री र एक राज्यमन्त्री परेको थियो । २९ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिएकै दिन जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल उर्जामन्त्री बनेकी थिइन् ।

माओवादी मन्त्रीहरुलाई चिन्नुस्
नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेल पहिलो पटक मन्त्री बन्न लागेका हुन् । माओवादीले सञ्चालन गरेको सशस्त्र विद्रोहमा १० वर्ष भूमिगत भएका पौडेल २०६८ सालमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईका प्रमुख राजनीतिक सल्लाहकार थिए । भट्टराईले माओवादी छाडेर नयाँ शक्ति बनाउँदा उनी पनि गए । तर भदौ २०७४ मा माओवादी केन्द्रमै फर्किए । २०७४ मंसिरको आम निर्वाचनमा बागलुङ २ बाट उम्मेदवार बनेका उनी वाम गठबन्धनको समर्थनमा निर्वाचित भए ।

पछिल्लो पटक गण्डकी प्रदेशमा गठबन्धन सरकार बनाउने क्रममा उनले संक्रियतापूर्वक भूमिका खेलेको नेताहरु बताउँछन् । अखिल क्रान्तिकारीबाट राजनीति शुरु गरेका पौडेलले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।माओवादीबाट मन्त्री बन्न लागेकी शशी श्रेष्ठसँग २०६४ सालमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भएर काम गरेको अनुभव छ । हाल उनी संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पनि हुन् ।२०३४ सालदेखि विद्यार्थी संगठनबाट राजनीतिक जीवन शुरु गरेकी श्रेष्ठ छोरा र छोरीलाई पैत्रिक सम्पत्तिमा समान हक स्थापनाको आन्दोलनको नेतृत्व गर्दै राजनीतिमा स्थापित भएकी थिइन् ।

माओवादीले मन्त्री बनाउन लागेका महेश्वर गहतराज पनि सशस्त्र विद्रोहबाट आएका नेता हुन् । १ फागुन २०५२ मा सशस्त्र विद्रोह थालेको दिन माओवादीले चार स्थानमा चौकी आक्रमण गरेको थियो, जसमध्ये रुकुमको राडीज्युला प्रहरी चौकीमा गरेको आक्रमणको नेतृत्व गहतराजले गरेका थिए । २०७० को संविधानसभा निर्वाचनमा बाँके १ बाट पराजित उनी २०७४ मा त्यही क्षेत्रबाट विजयी भएका थिए । सांसद भएको पहिलो पटक नै उनले मन्त्री बन्ने अवसर पाएका छन् ।

माओवादीले राज्यमन्त्री बनाउन लागेकी बोधमाया यादव शहीद रामवृक्ष यादवकी छोरी हुन् । माओवादीले सशस्त्र विद्रोहको तयारी गरिरहेका बेला रामवृक्ष यादव (मास्टर साहब) को २ भदौ २०५१ मा हत्या भएको थियो । धनुषाकी उनी पनि सांसद भएको पहिलो पटकमै राज्यमन्त्री बन्ने भएकी हुन् ।

प्रकाशित मिति : २०७८ असोज २० गते बुधवार