• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

दुई प्रदेशमा दुई राजेन्द्र मुख्यमन्त्री बन्ने, बालुवाटारमा भयो यस्तो सहमति


प्रदेश नम्बर १ र बागमती प्रदेशमा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले मुख्यमन्त्री पाउने भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा
बसेको सत्तारुढ गठबन्धनको बैठकमा माधव नेपालको पार्टीलाई दुबै प्रदेशमा मुख्यमन्त्री दिने सहमति जुटेको हो । नेकपा एकीकृत समाजवादी पार्टीका एक नेताले दुबै प्रदेशमा आफ्नो

पार्टीले मुख्यमन्त्री पाउने गरी गठबन्धनको बैठकमा सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । दुबै प्रदेशमा हाल एमाले नेतृत्वको सरकार अल्पमतमा रहेको छ भने असोज अन्तिम साता विश्वासको मत लिने तयारी भएको छ । हाल प्रदेश १ मा भीम आचार्य र बागमतीमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार रहेको भएपनि विश्वासको मत लिँदा उनीहरुले बहुमत नपाउने निश्चित छ । यस्तो अबस्थामा बन्ने गठबन्धन सरकारमा माधव नेपाल पक्षले सुरुदेखि नै दावी प्रस्तुत गर्दै आएपनि काँग्रेसले समेत आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राख्दा कसको नेतृत्व रहने भन्नेमा अलमल रहँदै आएको थियो । तर अब गठबन्धनमा सहभागी जुटेसँगै प्रदेश १ मा समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई र बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने निश्चित भएको छ । यसअघि नै एकीकृत समाजवादी पार्टीले दुई राजेन्द्रलाई सम्बन्धित प्रदेशसभाको संसदीय दलको नेता चयन गरिसकेको छ । प्रदेशमा संसदीय दलको नेता नै मुख्यमन्त्री बन्न पाउने व्यवस्था रहिआएको छ ।

मन्त्रिमण्डलले शुक्रबार पूर्णता पाउने
मन्त्रिमण्डलले भोलि मात्रै पूर्णता पाउने भएको छ । सकेसम्म आजै मन्त्रिपरिषदलाई पूर्णता दिनेगरी तयारीमा जुटेका दलहरूको आन्तरिक तयारी नपुगेको भन्दै शुक्रबार मात्रै पूर्णता दिने गठबन्धनमा सहमति भएको हो । बिहीबार सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णायक छलफलमा मन्त्रिपरिषदलाई शुक्रबार पूर्णता दिने विषयमा सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।

‘आन्तरिक तयारी नपुगेकाले भोलि शुक्रबार मात्रै मन्त्रिपरिषदले पूर्णता पाउने भएको छ’, स्रोतले रातोपाटीलाई भन्यो, ‘सकेसम्म आजै पूर्णता दिने कुरा थियो, तर सकिएन ।’ सत्ता गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राष्ट्रिय जनमोर्चाले सरकार बाहिरै बसेर गठबन्धनलाई सघाउने बताइसकेको छ । गठबन्धनमा रहेका राजनीतिक दलहरुबीच मन्त्रालयको मोटामोटी भागबण्डा मिले पनि केही विषयमा अझै कुरा मिलाउन बाँकी रहेकाले बिहीबार गठबन्धनको निर्णायक बैठक बसेको थियो ।

बैठकमा केहीबेर बसेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टी बैठकमा सहभागी हुन निस्केका छन् । नेता नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको स्थायी कमिटी बैठक जारी छ । समाजवादीले एक राज्यमन्त्रीसहित ५ मन्त्री मात्रै पाउने गरी भागबण्डा गरिएपनि थप एक मन्त्री पाउनुपर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार