• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीबाट हट्ने, रक्षा प्रधानमन्त्रीले आफैँसँग राख्ने, सञ्‍चारको जिम्मा कार्कीलाई


काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले महत्व दिएर राखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेकपा एकीकृत समाजवादीको भागमा परेपछि व्यवसायी उमेश श्रेष्ठ
स्वास्थ्य राज्यमन्त्री बाट हट्ने भएका छन् । श्रेष्ठलाई देउवाले १० साउनमा स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेका थिए । राज्यमन्त्री भएको ७५ दिनमै श्रेष्ठ जिम्मेवारीबाट हट्ने भएका हुन् ।

सुरूमा चेन अस्पतालका सञ्चालक व्यापारीलाई मन्त्री बनाएको भन्दै उनको आलोचना भएको थियो । तर, पछिल्लो समय राज्यमन्त्रीका रुपमा श्रेष्ठले राम्रो काम गर्ने कोशिस गरेको चर्चा हुँदै आएको छ ।उनले राज्यमन्त्री भएपछि राज्यबाट पाउने सेवा सुविधासमेत लिएका छैनन् । मन्त्रालय भागबण्डाका क्रममा स्वास्थ्य मन्त्रालय नै एकीकृत समाजवादीको भागमा परेपछि उनी राज्यमन्त्रीबाट हट्ने लगभग निश्चित भएको हो । प्रधानमन्त्री देउवाले भने श्रेष्ठलाई नै स्वास्थ्यमन्त्रीमा निरन्तरता दिने अडान राखेका थिए ।‘स्वास्थ्य मन्त्रालय नै कांग्रेससँग रहेन । त्यसैले अब उहाँ हट्ने त पक्का हो,’ एक नेताले भने, ‘उहाँलाई अब अर्को जिम्मेवारी दिने वा हटाउने विषय त प्रधानमन्त्रीको कुरा हो ।’ ती नेताका अनुसार अरु थुप्रै केन्द्रीय सदस्यसमेत भइसकेका वरिष्ठ नेताहरुले पनि अवसर नपाएका कारण श्रेष्ठलाई राज्यमन्त्रीबाटै हटाउनुपर्ने दबाब देउवामाथि छ ।अर्का एक नेताले भने देउवाले श्रेष्ठलाई विनाविभागीय मन्त्रीको रुपमा जिम्मेवारी पाउने सम्भावना रहेको बताए । सत्ता गठबन्धन शीर्ष नेताहरुले बिहीबारको बैठकबाट मन्त्रालय बाँडफाँटको विषय टुंग्याएर शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने सहमति जुटाएका हुन् ।

रक्षा प्रधानमन्त्रीले आफैँसँग राख्ने, सञ्‍चारको जिम्मा कार्कीलाई

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले लिएकामध्ये रक्षा मन्त्रालय आफैँसँग राख्ने भएका छन् । ‘अरुभन्दा महत्वपूर्ण मन्त्रालय हो । त्यही कारण रक्षा उहाँ आफैँले राख्नुहुन्छ,’ उनीनिकट एक नेताले इकान्तिपुरसँग भने ।

त्यस्तै, ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् । उनी हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन् ।बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको हो ।

अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४-४ मन्त्रालय पाउने भएका छन् । समाजवादीले २ राज्यमन्त्री पनि पाएको छ ।

प्रकाशित मिति : २०७८ असोज २१ गते बिहिवार