• २०८१ कार्तिक २ गते शुक्रवार
  • Preeti To Unicode

बाढी-पहिरोले ७ घर पुरिए २४ जना बेपत्ता, मौसम खराबीले बाढीमा फसेकाको उद्धार नगरी फर्कियो हेलिकप्टर


काठमाडौँ —बैतडीको सिगास गाउँपालिकास्थित ढुंगाड बस्तीभित्र सेती नदीको बाढीमा फसेका करिब ६० स्थानीयको उद्धारमा नगरी नेपाली सेनाको हेलिकप्टर फर्किएको
छ।उद्वारको लागि सुर्खेतबाट हेलिकप्टर मोसम खराबीले बस्न नसकेर फर्किएको हो।जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार ढुंगाडमा फसेकाहरूको उद्वारका

लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर आए पनि मौसम खराबीले बस्न नसकेर फर्किएको छ ।सोमबार राति १० बजेदेखि नै उद्वारको पर्खाइमा बसेका उनीहरुले जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका छन् । नदीले गाउँको जमिन कटान गरेर ढुंगाडमा एउटा टापु नै बनाएको छ । टापु जुनसुकै बेला पनि बगाउन सक्ने भन्दै स्थानीयहरु चिन्तित बनेका छन् ।
बैतडीको ढुंगाड बस्तीमा सेतीको बाढी पस्यो : करिब ६० जना उद्धारको पर्खाइमा
बैतडीको सिगास गाउँपालिका-५ को ढुंगाड बस्तीमा सेती नदीको बाढी पसेको छ । बस्तीको दायाँबायाँबाट बाढी पसेर टापु बनाएको छ ।१०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताए । उनका अनुसार राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका छन् । ६० जना जति अहिले पनि फसिरहेको उनले जानकारी दिएका छन् ।

उद्वारका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको उनले बताए । टापुमा फसेकाहरू अहिलेसम्म सुरक्षित रहेको तर खतरामा रहेका खबर पाएको उनको भनाइ छ ।सोमबार राति नै प्रहरीको टोली त्यहाँ गएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । ७/८ घण्टा बढी हिँड्नपर्ने भएकाले पुग्न ढिलो भएको बताए । अहिले स्थानीय फसेको खबर आए पनि यकिन विवरण भने नआएको उनले जानकारी दिए ।

बझाङमा बाढी-पहिरो : २४ जना बेपत्ता, ७ घर पुरिए
बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका-४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ ।

बेपत्ता हुनेमा गगने सार्कीका एकै परिवारका १८ जना र नरे पार्कीको परिवारका ६ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र हाल सम्पर्कमा आएका छन् । यतिबेला पहिरोका कारण तल्लो डिक्ला र माथिल्लो डिक्ला गाउँका स्थानीय त्रिभुवन मावि महेन्द्रधारमा अस्थायी रुपमा आश्रय लिइरहेका छन् । पूरा गाउँ पहिरोको जोखिममा परेपछि सय भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउदले बताए ।पहिरो पीडितको उद्वारमा खटिएको प्रहरी टोली डिक्ला पुगे पनि पहिरो खसिरहेका कारण उद्धार हुन नसकेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए । ‘पहिरोमा एक जनाको आधा शरीर देखिएको भन्ने खबर आएको छ । पहिरो खसिरहेकाले उद्धार काम हुन सकेको छैन,’ उनले भने ‘ बाटो अवरुद्ध भएकोले थप बल त्यता पठाउन पनि सकिएको छैन ।’

यस्तै आइतबार रातिबाट सुरु भएको अविरल वर्षाका कारण जिल्लाभर जनजीवन अस्तव्यस्त भएको छ । पहिरोले जयपृथ्वी नगरपालिका – १ पिमी गाउँमा मात्रै ६० परिवार विस्थापित भएको स्थानीयले बताएका छन् । ‘पानी पर्न रोकिएको छैन । मंगलबार राति पनि यस्तै पानी पर्‍यो भने गाउँ नै बगाउने अवस्था छ,’ स्थानीय उत्तम सिंहले भने ।यस्तै लगातारको वर्षासँगै सदरमुकाम नजिक भएर बग्ने डुङग्री खोलामा आएको बाढीले डुङग्री बजार र लेकी जोड्ने झोलुङगे पुल बगाएको छ । पुल नजिक रहेका ५ वटा पक्की घर पनि बगाएको र बजारका अरु घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ ।अविरल वर्षा र पहिरोले सुदूरपश्चिमका धेरै पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध भएको छ । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकोले उद्वारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

पहिरोले जिल्ला जोड्ने जयपृथ्वी राजमार्ग लगायत जिल्लाभित्रका सबै ग्रामीण सडकहरु अवरुद्ध भएका छन् । सोमबारदेखि नेपाल टेलिकमको संचार सेवा पूर्ण रुपमा अवरुद्ध छ भने एनसेलको सेवा आंशिक रुपमा सूचारु छ । ठाउँठाउँमा पोल ढलेका कारण जिल्लाभरको विद्युत सेवा अवरुद्ध छ । सदरमुकाम चैनपुर लगायत दर्जन बढी ठाँउको खानेपानी सेवा पनि अवरुद्ध भएको बताइएको छ ।जिल्लाभर मोबाइल सेवा पनि अवरुद्ध भएकाले कुन ठाउँमा कति क्षति भयो भन्ने यकिन विवरण नआइसकेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए । ‘टेलिफोन सम्पर्क विच्छेद छ । बाटो बिजुली बन्द भएकोले कहाँ कति क्षति भयो केही थाहा हुन सकेको छैन ।

प्रकाशित मिति : २०७८ कार्तिक २ गते मङ्गलवार