• २०८१ कार्तिक १४ गते बुधवार
  • Preeti To Unicode

स्थानीय तह निर्वाचनको ४ वर्षपछि वडाध्यक्षको नतिजा उल्टियो


जनकपुरधाम । अदालतको आदेशमा चार बर्षपछि आइतबार महोत्तरीको एक वडामा भएको स्थानीय तह निर्वाचन २०७४ को मतगणनामा मतपरिणाम उल्टिएको छ ।
उच्च अदालत जनकपुरधाम र सर्वोच्च अदालतले दिएको आदेश बमोजिम महोत्तरीको मनरासिस्वा नगरपालिका–१० को पुनः मतगणना हुँदा पहिले पराजित उम्मेदवार विजयी भएका हुन् ।

यसअघि निर्वाचन आयोगले यो वडामा नेपाली कांग्रेसका उम्मेदवार अरुण चौधरी विजयी भएको घोषणा गरेको थियो । तर आइतबार भएको पुन मतगणनामा स्वतन्त्र उम्मेदवार रमेश राय विजयी भएका हुन् ।४ वर्षअघि स्थानीय तहको निर्वाचनका क्रममा दुबै उम्मेदवारले २६७ मत ल्याएको भन्दै निर्वाचन आयोगले गोला प्रथाबाट चौधरी निर्वाचित भएको घोषणा गरेको थियो ।
तर पुनः मतगणनाको माग गर्दै स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा मुद्दा दिएका थिए । उच्च अदालतले २१ असार २०७५ मा पुनः मतगणना गर्ने आदेश दिएपनि निर्वाचित भएका चौधरीले यो निर्णयविरुद्ध सर्वाेच्च अदालतमा निवेदन दिएका थिए ।

सर्वाेच्चको ६ चैत २०७७ को आदेशबाट उच्च अदालतको आदेश सदर गरेको थियो । सर्वोच्चको आदेश अनुसार पुनः गणना हुँदा पहिला भएको गणना भन्दा फरक नतिजा आएको देखिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दिवाकर भुजेलले जानकारी दिए ।

उच्च अदालतका रजिष्ट्रार र आफ्नो उपस्थितिमा भएको पुनः गणनामा नेपाली कांग्रेसका उम्मेदवार चौधरीले २ सय ६६ र पराजित भएका रायले २ सय ६८ मत पाएको देखिएको भुजेलले बताए । अब पुनः गणनाको परिणाम न्यायाधीश समक्ष पेश हुने र त्यसपछि पद परिवर्तनको आदेश त्यहींबाट आउने भुजेलले बताए ।

रायलाई निर्वाचित भएका चौधरीभन्दा बढी मत आएपछि अदालत प्राङ्णमै उनका समर्थकहरुले उनलाई माला लगाइदिएका छन् ।

प्रकाशित मिति : २०७८ कार्तिक ७ गते आइतवार