बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेकी अष्टलक्ष्मी शाक्यले आफू संविधान विपरीत सत्तामा नबसेको दाबी गरेकी छन् । अल्पमतका बाबजुद सत्ता
लम्ब्याए को आरोप लागेको सन्दर्भमा उनले यस्तो प्रस्टोक्ति दिएकी हुन् ।राजीनामा घोषणा गरेर प्रदेशसभा बैठकबाट बाहिरिएकी उनले यतिन्जेल आफू संविधानतः सत्तामा रहेको र आज
राजीनामाको घोषणा गरेको बताइन् । पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘संविधानतः ३० दिनभित्र विश्वासको मतसम्बन्धी सूचना जारी गर्नुपर्ने र त्यसपछि छलफल तथा थप प्रक्रिया अघि बढ्ने हो । हामीले ३० दिनभित्रै सूचना जारी गरेर विश्वासको मतसम्बन्धी प्रक्रिया अघि बढाएका कारण संविधानअनुरुप नै सत्तामा यतिन्जेल रहेँ ।’राजीनामा घोषणा गर्नुको कारण खुलाउँदै उनले संघीयतामा सिकारुजस्तै भएकाले यस्तो बेलामा प्रदेशमा बेमेल धेरै सिर्जना गर्नु हुँदैन भन्ने लागेर बाटो खोलिदिएको बताइन् । ‘सत्ता पक्ष, प्रतिपक्ष एकापसमा मिलेर गएमात्र सुशासन, राजनीतिक स्थिरता कायम गर्न सकिन्छ,’ उनले भनिन्, ‘संस्कारयुक्त राजनीति सिकौँ र त्यस्तै व्यवहार गरौं भनेर राजीनामा दिएको हो ।’
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् ।शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न आफू मतविभाजनमा जान नचाहेको बताइन् ।‘हामी संस्कारयुक्त बनौं, द्वनन्द्व कम गरौं । प्रदेश बनाउन मिलेरै काम गरौैं’ उनले भनिन्, ‘आफ्नो पदीय दायित्व होला । तर आखिरमा प्रदेश बनाउन हामी नमिली सुखै छैन ।’ मुख्यमन्त्री शाक्यले आगामी दिनमा मिलेर अघि बढ्न अहिले राजीनामा दिने बाटो नै आफूलाई ठीक लागेको बताइन् ।
सबै पक्ष मिलेमा प्रदेशलाई नमुना बनाउन सकिने भन्दै मुख्यमन्त्री शाक्यले सत्तापक्ष र प्रतिपक्षको परम्परागत भावना त्याग्नुपर्ने बताइन् ।‘हिजाको परम्परागत सोचले हुँदैन । प्रतिपक्ष भएपछि विरोध गर्नैपर्ने, सत्तापक्षले जस्तो भए पनि पास गरेर जानुपर्ने, यो सोच त्याग्नुपर्छ । राम्रोलाई राम्रो भन्ने नराम्रोलाई आलोचना गर्ने । यो संस्कार हामीले विकास गर्न किन सक्दैनौं ?’ उनले प्रश्न गरिन् ।संस्कारयुक्त बागमती प्रदेश बनाउन आलोचना र आत्मालोचनाको बानीको विकास गर्नुपर्ने पनि शाक्यले बताइन् । शाक्य बागमती प्रदेशमा एकल बहुमतमा रहेको दलको नेताको रुपमा भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी थिइन् ।
तर उनको दल नेकपा एमाले विभाजित भई नेकपा (एकीकृत समाजवादी) बनेपछि उनले संविधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । शाक्यले विश्वासको मतसम्बन्धी प्रस्ताव असोज २४ गते प्रदेशसभा सचिवालयमा पेश गरेकी थिइन् ।त्यसपछि उक्त प्रस्तावमा कात्तिक ४ गते प्रदेशसभामा छलफल भएको थियो । त्यसपछि मतविभाजनका लागि बुधबारसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको थियो । बागमती प्रदेशसभामा १०९ सदस्यमध्ये मुख्यमन्त्री शाक्यलाई नेकपा एमालेका ४३ सांसदको समर्थन छ । नेकपा एमालेका ५६ प्रदेशसभा सदस्यमध्ये १३ जनाले नेकपा एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन् ।