• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

गठबन्धनलाई धोबीले लुगा पछारे जसरी पछार्ने ओलीको उद्घोष


काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स-साना बालबालिका पनि नेकपा एमालेको देश बनाउने अभियानबाट प्रभावित भएको दाबी गरेका छन्। चितवन
को भरतपुर महानगरको अधिवेशनलाई सम्बोधन गर्दै ओलीले भर्खरै बुझ्नथालेका बालबालिका पनि एमालेबाट प्रभावित भएको बताएका हुन्।’हाम्रो नीति प्रष्ट छ। बालबालिकाले पनि बुझ्छन्।

हाम्रा कुराहहरुलाई जेरी घुमाए जस्तो घुमाउन पर्दैन,’उनले भने।
समाजवादको व्याख्या
एमाले फुटाएर नेकपा एकीकृत समाजवादी बनेको प्रति लक्षित गर्दै उनले समाजवादको नारा एमालेले अघि सारेको नारा भएको दाबी गरे। उनले सुखी नेपाली समृद्ध नेपाल नै समाजवाद भएको दाबी गरे।’समाजवाद भनेको के हो? सजिलो छ समृद्ध नेपाल सुखी नेपाल भन्दा अरु केही होइन। यस भन्दा पर केही छन्। समृद्ध नेपालमा राम्रा मैदान, सडक हुन्छन्,’ उनले भने।ओलीले एमालेले सत्ता गठबन्धनलाई पराजित गर्ने बताए। अहिलेको परमादेशको गठबन्धन अपवित्र भएको टिप्पणी गर्दै उनले एमालेलाई देशमा परिवर्तन ल्याउनक लागि वर्चश्व चाहिएको बताए।

रामकै भर
ओलीले चितवनमा राम जन्मेको भन्दै यसअघि नै राम सीताको मन्दिर बनाउन लगाएका थिए। सोमवार उनले चितवनलाई धार्मिक जिल्लाको संज्ञा दिँदै चितवनमा आउनु आफ्नोलागि ठुलो विषय भएको बताए।आम निर्वाचनका बेलामा चितवनबाट एमालेलाई विजयी गराउनुपर्ने धारणा राखेका ओलीले त्यसका लागि चितवनमा धर्मको विषयलाई जोड दिएका हुन्।उनले भने,’हामीले यो जिल्लाको अध्ययन गर्दै जाँदा रामको जन्मभूमि रहेछ। रामको जन्मभूमि यही रहेछ। वाल्मिकीको आश्रम पनि यही रहेछ। अयोध्या पुरी पनि ठोरीमै हो। रामायण लेखिएको वाल्मिकी आश्रम यहीँ छ,’ उनले भने।

रेणु तर्फ निशाना
ओलीले आफूले गल्ती गरेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालको लागि लबिङ गरेको खुलाए। उनले कांग्रेसले प्रचण्डकी छोरी बोकेको देखेर आफूलाई अनौठो लागेको टिप्पणी गरे।भने,’कांग्रेसले छोरी बोकेको देखेर अनौठो लागेको छ। अब हामीले त्यस प्रकारका कुनै गल्ती गर्नुहुँदैन। हामी हाम्रो पार्टी मजबुत बनाउन पर्छ। यो पार्टीले मात्रै हो देश बनाउने। कांग्रेसको कहिल्य देश बनाउने नीति तपाईंले सुन्नुभएको छ?’

माधव नेपालको पार्टीको नाम कसरी एकीकृत ?
ओलीले भाषणका क्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको पार्टीलाई निशाना बनाएका थिए। उनले टुक्रिएर गएको पार्टी एकीकृत समाजवादी हुन नसक्ने बताए। दक्षिणपन्थी सँग मिलेर समाजवादी सरकार नबन्ने उनको भनाई थियो।’एउटा टुक्रिएर गएको त्यसको नाम चाहीँ एकीकृत। कम्युनिस्ट पार्टी ढाल्ने दक्षिणपन्थी सरकार बनाउने अनि समाजवाद भन्ने। उनीहरुको प्रचार सुन्नुभएको होला,’ उनले भने।अहिले पाँचदलीय गठबन्धन एमालेलाई हराउनका लागि परेको भन्दै उनले चुनावमा एमाले एक्लै लड्न तयार भएको बताए। उनले एकीकृत समाजवादीले आफू जित्नेभन्दा पनि एमलेलाई हराउनका लागि लागेको बताए।’हामी चुनावमा जित्न सक्दैनौं, एमालेलाई हराउन जन्मिएका रे। त्यस्ता मान्छेका पछाडि दुई चार जना लुरु लुरु हिँडेको होला अचम्म लाग्छ। हामी त्यस्तो पार्टी होइन। हामी हराउनक लागि हराउने होइन,’ उनले भने।

‘धोबीले लुगा पछारेझैं पछार्नुपर्छ’
ओलीले चुनावमा सत्ता गठबन्धनलाई एमालेले पछार्ने बताए। उनले अहिलेको सरकार फेर्ने बाटोमा एमाले नलागेको स्पष्ट पारे।’हामी यो सरकार फेरबदलतिर छैनौँ। चुनावबाट कहिलेसम्म भाग्लान्? स्थानीय तहको चुनाव त चैतमा घोषणा भयो। स्थानीय तहको चुनावमा यिनीहरुलाई धोबीले लुगा पछारेझै पछार्नुपर्छ,’उनले भने।भरतपुरमा एमालेमात्रै जित्ने उनको भनाइ छ। ‘भरतपुर महानगरमा जित्ने एमालेले हो अरुलाई भोट नहाले हुन्छ,’ ओलीले भने।ओलीले अहिलेको सरकार जति धेरै चल्यो त्यति नै समस्या आउने टिप्पणी गरे।

चितवन कसको ?
यसअघि मतपत्र च्यातेर रेणु दाहालले चुनाव जितेको आरोप लगाउँदै ओलीले अब एमालेले मतपत्र च्यात्न नदिने बताए।’चुनावमा मतपत्र च्यात्ने रे। बत्ति निभाएर,धाँधली गर्ने होइन,’ फेरि कसैले मतपत्र च्यात्ने सपना नदेख्न चेतावनी दिँदै ‌ओलीले भने।चितवनमा महाधिवेशन आयोजना गरेकोमा प्रचण्डलाई छटपटी भएको ओलीको भनाइ थियो। उनले चितवन आफ्नो मात्रै भएको नठान्न प्रचण्डलाई आह्वान गरे।भने,’चितवनमा महाधिवेशन गर्ने भनेका के थियौँ सेरोफेरो मेरो जस्तो गर्छन्। महाधिवेशन गरेर मात्रै चितवन कब्जा गर्ने होइन। महाधिवेश गरे पनि जित्छौँ नगरे पनि जित्छौँ,’ उनले भने।
पहिलो पोस्ट बाट।

प्रकाशित मिति : २०७८ कार्तिक १५ गते सोमवार