• २०८१ कार्तिक ८ गते बिहिवार
  • Preeti To Unicode

एमाले दशौं महाधिवेशन : लोगोमा हँसिया हथौडा हटाएर किन राखियो गैँडा ?


नेकपाएमालेले आगामी मंसिरमा( १०, ११ र १२) गते चितवनमा हुने दशौं राष्ट्रिय महाधिवेशनमा भिन्नै लोगो प्रयोग गर्ने भएकोछ।गत असोजमा सम्पन्न विधानमहाधिवेशन
ले सूर्यभित्र हँसिया हथौडा रहेको पार्टीको लोगो पारित गरेको थियो । तर, विधान महाधिवेशनले पारित गरेको उक्त लोगो राष्ट्रिय महाधिवेशनमा भने प्रयोग नगरी फरक लोगो प्रयोग गर्ने

भएको हो । एमाले महाधिवेशन मुल व्यवस्थापन समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गर्दा सूर्यभित्रको हँसिया हथौडा भएको लोगो नराखी अर्कै लोगो सार्वजनिक गरेको हो ।ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा आयोजित कार्यक्रममा महासचिव ईश्वर पोखरेलले सार्वजनिक गरेको राष्ट्रिय महाधिवेशनको लोगोमा दुर्लभ एकसिंगे गैँडाको मस्कटले कम्युनिस्ट पार्टीको झण्डा उठाएको छ । त्यस्तै लोगोको दायाँतर्फ सूर्य चिन्ह पनि राखिएको छ । महाधिवेशनको लोगो सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको लोगोले राजनीतिक र पर्यावरणीय सन्देश दिने बताए ।

‘विशेष प्रयोजनका लागि छुट्टै लोगो’
एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले एमालेले लोगो परिवर्तन गरेको भन्ने समाचारमा सत्यता नरहेको बताए । ‘एमाले विधान महाधिवेशनले पारित गरेको सूर्यभित्र हँसिया हथौडा रहेको लोगो नियमित कामका लागि हो । त्यो पार्टीको चुनाव चिन्ह पनि हो । तर दशौं राष्ट्रिय महाधिवेशनका लागि सार्वजनिक गरिएको लोगो विशेष प्रयोजन (दशौं राष्ट्रिय महाधिवेशन) का लागिमात्र हो’, थापाको भनाइ छ ।

सात गते मोटरसाइकल र्याली
यसैगरी नेकपा एमालेले महाधिवेशनको प्रचार प्रसार गर्न आगामी मंसिर ७ गते बृहत मोटरसाइकल र्याली गर्ने भएको छ । उक्त दिन प्राय सवै शहरमा मोटरसाइकल र्याली गरिने एमालेले जनाएको छ । त्यसक्रममा काठमाडौ पोखरा लगायतका स्थानबाट मोटरसाइकल र्याली निकालेर चितवन जानेछ । मोटरसाइकल र्‍यालीको एमाले युवा संघले नेतृत्व गर्ने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

६ हजार बढी स्वागतद्वार
एमालेले महाधिवेशन प्रयोजनका लागि देशभरका सवै राजमार्ग र सहायक राजमार्गहरुमा स्वागतद्वार बनाउने भएको छ ।‘सवै राजमार्ग र सहायक राजमार्गहरुमा स्वागतद्वार निर्माण गरिने छ । स्वागतद्वार सवै पार्टी कमिटीले बनाउनेछन् । यसरी निर्माण गरिएका स्वागतद्वार ६ हजारभन्दा बढि हुनेछन्’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेता भट्टराईले जानकारी दिए ।

आठ लाख पार्टी सदस्य
नेकपा एमालेले देशभर आठ लाख सक्रिय पार्टी सदस्य रहेको जनाएको छ । ‘हाम्रो यो महाधिवेशनमा झण्डै झण्डै आठ लाख पार्टी सदस्यहरुबाट प्रतिनिधित्व गर्ने साथीहरुले सहभागिता जनाउनुहुनेछ’, महासचिव इश्वर पोखरेलको भनाइ छ । उनले शुक्रबारसम्म आठ पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यलयमा दर्ता भएको समेत बताए । ती सदस्यमार्फत १९९९ जना महाधिवेशन प्रतिनिधि छान्नेछ । एमालेले ती महाधिवेशन प्रतिनिधि कात्तिक २७ गते शनिबार निर्वाचित गर्दैछ । एमालेले तीन किसिमबाट महाधिवेशन प्रतिनिधि छान्दैछ । पदेन, निर्वाचित र मनोनित गरी तीन प्रक्रियाबाट प्रतिनिधिहरुको छनोट गर्ने महासचिव पोखरेलले जानकारी दिए । उनले अपवादबाहेक निर्वाचित हुने सवै प्रतिनिधि कात्तिक २७ गते नै तय हुने बताए ।

प्रचारशैली परिवर्तन
एमालेले यसपटकको महाधिवेशनमा विगतमा जस्तो भित्तेलेखन र पोष्टर पम्प्लेटको प्रयोग नगर्ने भएको छ । महाधिवेशनको प्रचारका लागि एमालेले छुट्टै प्रचार समिति बनाएको छ । ‘एमाले प्रचार विभाग र जनवर्गीय संगठनका साथीहरु रहेको प्रचार समितिले बनाएको कार्ययोजना मुल व्यवस्थापन समितिले अनुमोदन गरेको छ’, प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘एमालेले यसपटकको महाधिवेशनमा विगतमा गर्दै आएका केही प्रचलनहरुलाई हटाएको छ । हामी कपडाको ब्यानर,कागजको पोस्टर राख्दैनौ र भित्ते लेखन पनि गर्दैनौ ।’

​उनले महाधिवेशनको प्रचार प्रसार सोसल मिडियाबाट गर्ने जानकारी दिए । ‘सोसल मिडिया र डिजिटल डिस्प्लेमार्फत प्रचार गर्नेछौ । त्यसको लेखाजोखा र तथ्यांक लिने काम भइरहेको छ’, भट्टराईले भने, ‘एमाले नेतृत्वको सरकारले गरेका काम र नेताहरुका योगदानको भिडियो बनाएर पनि प्रचार गर्छौँ ।

प्रकाशित मिति : २०७८ कार्तिक २६ गते शुक्रवार