नेपालप्रहरी अस्पतालमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ।प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)
विश्वराज पोखरेल नेतृत्वको छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक(आईजीपी)शैलेश थापा क्षत्रीलाई प्रतिवेदन बुझाएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले रातोपाटीलाई बताए।
छानबिनबाट प्रहरी अस्पतालमा अनियमितता नदेखिएको तर अस्पतालमा ‘को सिनियर’ भन्ने आन्तरिक झगडामात्रै देखिएको निष्कर्ष निकालिएको छ । आईजीपी क्षत्रीलाई प्रतिवेदन बुझाउँदै छानविन समितिले भविष्यमा ‘जुँगाको लडाईं’ नहुनेगरी सतर्कता अपनाउन सुझाव दिएको छ । अस्पताल प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. आशा सिंहले अनियमित तरिकाले अस्पतालमा स्वास्थ्य सामग्री खरिद गरेको उजुरी परेपछि अख्तियारले छानविनका लागि प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो । आयोगको निर्देशनपछि आईजीपी थापाले छानविन समिति गठन गरेका हुन् ।अख्तियार,गृह मन्त्रालय र आईजीपी सचिवालयमा अस्पतालका दोस्रो वरियतामा रहेका प्रहरी नायव महानिरीक्षक (डिआईजी) डा. मिनराज पाठकविरुद्ध पनि उजुरी परेको थियो । प्रहरी अस्पतालका प्रमुख डा. सिंह र डीआईजी डा. मिनराज पाठकको बीचमा सिनियर र जुनियर विवाद छ । २०७६ पुसमा डा. सिंहलाई अस्पतालको प्रमुखमा नियुक्त गरिएको थियो । आफूभन्दा जुनियरलाई अस्पताल प्रमुख बनाएकोमा पाठक असन्तुष्ट थिए ।
पाठन उनीभन्दा वरीयतामा अगाडि थिए । अहिले डा. सिंह र डा. पाठकको छुट्टाछुट्टै समूह छ ।डा. मिनराज पाठक डिएसपी भएर नेपालगञ्जमा बस्दा त्यहाँको अस्पताल कम्पाउण्डको रुख कानुन विपरित बेचेको उजुरी परेको छ । कोभिड–१९ संक्रमणको महामारीका बेला प्रहरी अस्पताल छाडेर डा. पाठक निजी अस्पतालमा काम गर्न जाने गरेका भनेर पनि उजुरी परेको छ ।
प्रहरी अस्पतालमा काम नगर्ने र महाराजगञ्जस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा काम गरेको आरोप डा. पाठकलाई लागेको छ । ड्युटी नभएको बेला ‘अनकल’मा बस्ने व्यवस्था भएको हुनाले पाठकमाथिको आरोप पनि ‘तर्क संगत’ नभएको छानविन समितिको ठहर छ ।
अनियमितता देखिएन
समितिले अस्पतालमा लेजर मेसिन लगायका स्वास्थ्य सामग्री खरिदमा अनियमितता नभएको निष्कर्ष सहितको छानविन प्रतिवेदन बुझाएको छ । ‘डा. आशाले अस्पतालमा अनियमित तरिकाले मेसिन खरिद गरेको आरोप थियो’,प्रहरी प्रवक्ता कुँवरले रातोपाटीसँग भने, ‘तर,छानविनबाट प्रक्रियागत त्रुटि नदेखिएको समितिले ठहर गरेको छ ।’पुरानो मेसिन मर्मत नगरेर कमिसनको लोभमा नयाँ किनेको आरोपबारे यसअघि नै अर्को समिति बनेको र सो समितिले प्रतिवेदन पेश नगरेको हुनाले त्यसबारे एआईजी पोखरेलेको समितिले केही बोलेको छैन ।
अस्पतालमा भएको अनियमितताबारे राष्ट्रिय सतर्कता केन्द्रले पनि छानविन गरेको थियो । गृह मन्त्रालय र अख्तियारले छानविनका लागि लेखेर पठाएपछि आईजीपी क्षेत्री दवावमा परेका थिए । छानविन समितिले भविष्यमा यस्तो गुनासो नआउने गरी सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयलाई सुझाव दिएको छ । समितिमा आईजीपीको सचिवालयमा कार्यरत डीआईजी बसन्त लामा,एसएसपी भीम ढकाल,एसएसपी पूजा सिंह र डीएसपी ज्ञानेन्द्र बस्नेत सदस्य थिए ।